नेपाललाई बीच एसियन गेम्समा कांस्य पदक


काठमाडौं ।

चीनको सान्यामा जारी छैटौं बीच एसियन गेम्स २०२६ अन्तर्गत महिला बीच कबड्डीमा नेपालले कास्य पदक जितेको छ । नेपाल सेमिफाइनलमा श्रीलंकासँग ४६–२३ अंकले पराजित भएपछि कास्य पदकमा सीमित भएको थियो ।

सेमिफाइनलमा पराजित दुबै टोलीलाई कांस्य पदक प्रदान गर्ने प्रावधानअनुसार अर्को कांस्य बंगलादेशले जितेको थियो । बंगलादेश सेमिफाइनलमा भारतसँग हारेको थियो ।

नेपाल समूह ‘बी’ को विजेताका रुपमा अन्तिम चारमा पुगेको थियो । समूह चरणमा नेपालले सबै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा चाइनिज ताइपेइलाई ४८–३२ ले हराएको नेपालले दोस्रो खेलमा थाइल्यान्डलाई ४९–३३ ले हराएको थियो । नेपालले तेस्रो तथा समूहमा आफ्नो अन्तिम खेलमा बंगलादेशलाई ३८–३६ ले पन्छाएको थियो ।

यस प्रतियोगिताको उपाधि भने भारतले जितेको छ । भारतले सोमबार भएको फाइनल खेलमा श्रीलंकालाई ४७–३१ ले पराजित गरेको थियो । योसँगैं भारतले स्वर्ण र श्रीलंकाले रजत पदक हासिल गरेका थिए ।