शिशुवा–खुदीखोला सडक उद्घाटन

846
Shares

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० शिशुवादेखि सिसाघाटसम्मको सडक खण्डअन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्मित उक्त सडकको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा नगर प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि प्राथमिकतामा रहेको बताउनुभयो । ‘हामी आइसकेपछि नेपालमा जति पनि विकास साझेदारहरू छन्, ती सबै पोखरामा आएका छन्’, नगर प्रमुख आचार्यले भन्नुभयो, ‘यो साना दुःखले भएको चिज होइन, आज गएर ल हामीलाई यो गर्दिनुस् न भनेर भोलिपल्ट भएको पनि होइन ।’ पोखरामा हाल ३३ अर्ब बढीका परियोजनाहरू सञ्चालन रहेको उहाँले बताउनुभयो । शिशुवाचोकदेखि खुदीखोलासम्मको सडक निर्माण सम्पन्न गरेको विश्व बैंककै सहयोगमा उक्त सडकको दोस्रो चरणसमेत निर्माण कार्य अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

तालचोक–वेगनास सडक निर्माणमा भइरहेको ढिलाइप्रति उहाँले गहिरो चिन्ता व्यक्त गर्नुभयो । आयोजना सञ्चालनका क्रममा देखा परेका विभिन्न बाधा तथा अवरोधलगायतका कारण निर्माण कार्य विलम्ब भइरहेको उहाँले बताउनुभयो । उक्त सडक निर्माणका लागि अन्तिमपटक म्याद थपिएकाले सो अवधिभित्र काम सम्पन्न गर्ने गरी समन्वय, सहयोग र सकारात्मक खबरदारी गरिदिन उहाँले आग्रहसमेत गर्नुभयो ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखरा महानगरपालिकाको दिगो विकास निर्माणतर्फको यात्रा सराहनीय रहेको बताउनुभयो । पोखरा महानगरपालिकाको छिमेकी पालिका भएको नाताले रुपा गाउँपालिका दिगो विकासका अभियानहरूमा हातेमालो गर्न तयार रहेको उहाँले बताउनुभयो । ऐतिहासिक मार्गका रूपमा स्थापित शिशुवा सिसाघाटअन्तर्गत शिशुवादेखि खुदीखोलासम्मको सडक नमुना सडकका रूपमा निर्माण भएको उहाँको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्यालले पोखरा महानगरपालिका नागरिकहरूको अपेक्षाअनुसार सेवामा पहुँचका पूर्वाधारहरू निर्माणमा प्रतिबद्ध रहेको बताउनुभयो । लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरीले सकारात्मक सोचको विकासमा जोड दिनुभयो ।

पोखरा महानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक नरेन थापाले महानगरपालिका समग्र महानगरको समानुपातिक र समावेशी विकासका सिद्धान्तहरूको आधारमा अगाडि बढेको बताउनुभयो । पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विकास अभियानमा साथ दिने सबै नागरिक तथा सरोकारवालाहरूलाई धन्यवाद दिनुभयो । लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले सडक निर्माणले त्यस क्षेत्रका उपभोक्ताहरूलाई निकै सहज हुने बताउनुभयो ।

आयोजनाका फोकल पर्सन इ. नवीन गौतमका अनुसार शिशुवादेखि खुदीखोला पुलसम्मको करिब ४.१४ किलोमिटर सडक निर्माण भएको हो । विश्व बैंकको ३४ करोड ११ लाख २० हजार २ सय ९५ रुपियाँ आर्थिक सहयोगमा सडक निर्माण भएको हो । सडक नालीसहित १५ मिटर डबल लेन, ७ मिटर सपोट बाटो, १.५ मिटर साइकल ट्रयाक र २.५ मिटर फुट ट्रयाक रहेको छ ।