सशस्त्र प्रहरीको १३औं आईजीपीमा पौडेल

१८ वैशाखदेखि कार्यभार


काठमाडौं ।

सरकारले सशस्त्र प्रहरी बल, नेपालको प्रमुख (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १३औं आईजीपीको जिम्मेवारी दिने निर्णय गरेको हो । उहाँले १८ वैशाखदेखि औपचारिक रूपमा आईजीपी पदको कमान्ड सम्हाल्नु हुनेछ । हालका आईजीपी राजु अर्यालको चारवर्षे कार्यकाल पूरा भई १८ वैशाखमा अवकाशमा जाँदै हुनुहुन्छ ।

आईजीपीमा अर्याल नियुक्त भएपछि एआईजीको रिक्त पदमा पौडेललाई २०७९ जेठ ६ मा बढुवा गरिएको थियो । सोही दिनदेखि उहाँ एआईजी तहमा रहेर काम गरिरहनुभएको छ ।

आईजीपी बढुवाका लागि पौडेलसँगै सीमा सुरक्षा विभागका एआईजी वंशी दाहाल र कार्य विभागका एआईजी गणेश ठाडा मगरसमेत प्रतिस्पर्धामा हुनुहुन्थ्यो । तर, वरिष्ठता र अनुभवको आधारमा पौडेललाई पहिलो दाबेदार मानिँदै आएको थियो ।
वि.सं. २०५४ चैत १८ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) का रूपमा सेवा प्रवेश गर्नुभएका पौडेल सशस्त्र प्रहरी बल गठन भएपछि सशस्त्र प्रहरीमा स्थानान्तरण हुनुभएको थियो ।

वि.सं. २०५८ असार १८ मा उहाँलाई सशस्त्र प्रहरीको कार्यवाहक डीएसपी बनाइएको थियो भने २०५८ चैत १८ मा स्थायी रूपमा डीएसपीमा बढुवा हुनुभएको थियो । उहाँ वि.सं. २०६३ चैत २९ मा एसपी, २०७० जेठ २ मा एसएसपी, २०७५ कात्तिक १३ मा डीआईजी र २०७९ जेठ ६ मा एआईजीमा बढुवा हुनुभएको थियो ।

आईजीपीका अर्का प्रतिस्पर्धी एआईजी दाहाल भने पौडेलभन्दा करिब पाँच महिनापछि मात्र एआईजी बनेका थिए । सरकारले वि.सं. २०७९ असोज २८ मा दाहाललाई एआईजीमा बढुवा गरेको थियो । त्यस क्रममा दाहाललाई एआईजी बनाउन सरकारले सीमा सुरक्षा विभागमा एक एआईजीको दरबन्दीसमेत सिर्जना गरेको थियो । यसले पौडेलको वरिष्ठतालाई थप स्पष्ट बनाएको थियो । त्यस्तै, अर्का प्रतिस्पर्धी एआईजी ठाडा मगर पौडेलभन्दा करिब दुई वर्ष कनिष्ठ हुनुहुन्छ । उहाँ २०८२ असार २ मा मात्र एआईजीमा बढुवा हुनुभएको थियो ।

नवनियुक्त आईजीपी पौडेलले विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार करिब दुई वर्ष संगठनको नेतृत्व गर्नु हुनेछ । ३० वर्षे सेवा हदका कारण उहाँ २०८४ चैत १८ मा अवकाशमा जानुहुनेछ ।