स्याङ्जाको कफी अन्तरिक्ष पुगेर फर्कियो

1.22k
Shares

स्याङ्जा।

कफी र सुन्तला उत्पादनमा जिल्लाकै अगुवा स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीका बोधराज अर्यालले उत्पादन गरेको कफीको बीउ अन्तरिक्ष पु¥याएर फर्काइएको छ । अरविका जातको कफीको बीउ जापान हुँदै अन्तरिक्षमा पु¥याएर करिब एक वर्षपछि पुनः जिल्ला फर्काइएको हो । कृषक अर्यालको ‘फाम्र्स प्यासन’ ब्रान्डको अरविका कफीको बीउ नेपालमै पहिलो पटक अन्तरिक्ष पु¥याएर फर्काइएको बताइएको छ । अर्यालले २०८२ वैशाखमा जापान पठाएको कफीको बीउ साउनमा जापनिज बैज्ञानिकको सहयोगमा अन्तरिक्षमा पुगेको थियो । अन्तरिक्षमा पुगेको करिब आठ महिनापछि गत चैत १५ गते नेपाल फर्किएको बताइएको छ ।

जापानबाट हाइड्रोजन बेलुनमार्फत पठाइएको कफीको बीउ करिब २७ किलोमिटर उचाइसम्म पुगेको र त्यहाँ करिब तीन घण्टा रहेपछि पुनः पृथ्वीमा फर्किएको कृषक अर्यालका छोरा उबित अर्यालले जानकारी दिनुभयो । नेपालको झण्डासहित कफीको बीउ अन्तरिक्ष पुगेर फर्किएको उहाँले बताउनुभयो । अन्तरिक्षबाट फर्किएको बीउ अर्यालले प्राप्त गरेपछि वैशाखको पहिलो हप्ता करेन्डाँडास्थित नर्सरीमा रोपिएको छ । जापानको ताकुशिमा विश्वविद्यालयले अनुसन्धानका लागि उक्त कफीको बीउ अन्तरिक्षमा पठाएको हो । अन्तरिक्षमा माइनस २८.१ डिग्री सेल्सियस तापक्रमसम्म पुगेको उक्त बीउ पृथ्वीमा फर्किएपछि रोप्दा कस्तो परिवर्तन आउँछ भन्ने अध्ययनका लागि प्रयोग गरिएको कृषक बोधराज अर्यालले बताउनुभयो ।

रातो चेरी, पार्चमेन्ट र ग्रीन बिन गरी तीन प्रकारका २० ग्राम कफी बीउ अन्तरिक्ष पठाइएको थियो । पार्चमेन्ट कफीको बीउ अहिले नर्सरीमा उमार्न राखिएको छ भने रातो चेरी र ग्रीन बिनलाई प्रदर्शनीका रुपमा राखिने अर्यालले जानकारी दिनुभयो । अन्तरिक्षको न्यून गुरुत्वाकर्षण र फरक वातावरणका कारण बीउको संरचना, विकास प्रक्रिया तथा उत्पादन क्षमतामा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ । अन्तरिक्षबाट फिर्ता ल्याएको बीउ पृथ्वीमा रोप्दा बोटको वृद्धि, स्वाद र उत्पादनमा के–कस्तो फरक पर्छ भन्ने अनुसन्धानको मुख्य उद्देश्य रहेको अर्यालले बताउनुभयो ।

जापानिज वैज्ञानिकहरुको सहयोगमा बीउ अन्तरिक्षमा पठाएको जनाउँदै कृषक अर्यालले फिर्ता आएको बीउमा आउने परिवर्तन र फलको गुणस्तरका बारेमा जापनिजले नै अनुसन्धान गरिरहेको जनाउनुभयो । अन्तरिक्षबाट फर्किएको बीउ नर्सरीमा रोपिएको र करिब ६० दिनभित्र उम्रने अपेक्षा गरिएको छ । उम्रिएका बिरुवालाई छुट्टै बगैंचामा रोप्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । कृषक अर्यालले वार्षिक करिब एक टन कफी जापान निर्यात गर्दै आउनुभएको छ । आफ्नै बगैंचाको उत्पादन र स्थानीयस्तरमा उत्पादित कफी खरिद गरी विगत १०–१२ वर्षदेखि जापानमा कफी निर्यात गर्दै आएको उहाँले बताउनुभयो । जापान निर्यात हुँदै आएको जिल्लाको कफी पछिल्लो समय यूरोपमा समेत निर्यात हुँदै आएको छ ।