मुगुका स्थानीय तहमा विद्यार्थी भर्ना अभियान

0
Shares

मुगु ।

जिल्लाका चारवटै स्थानीय तहहरूमा विद्यार्थी भर्ना अभियान प्रभावकारीरूपमा सञ्चालन गरिएको छ । नयाँ शैक्षिक सत्र २०८३ लाई लक्षित गर्दै शुरु गरिएको अभियानमा स्थानीय तहका साथै विद्यालयहरू पनि उत्तिकै सक्रिय देखिएका छन् । शिक्षक, विद्यार्थी तथा अभिभावकहरू उत्साहका साथ सहभागी हुँदै विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना गराउने अभियान गाउँ–गाउँसम्म विस्तार गरिएको छ ।

अभियानका क्रममा विद्यालयहरूले घरदैलो कार्यक्रम, सचेतनामूलक ¥याली तथा अभिभावक भेलाजस्ता गतिविधिहरू सञ्चालन गरेका छन् । यसले विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउन महत्वपूर्ण सहयोग पुगेको सरोकारवालाहरूले बताएका छन् ।

श्री महाकाली नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्गबहादुर रोकायाले विद्यार्थी भर्ना अभियानले शिक्षाप्रति अभिभावक र समुदायको चासो बढाएको बताए । ‘हामीले घरदैलो अभियान सञ्चालन गरेर विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना गराउने प्रयास गरिरहेका छौँ’, उनले भने, ‘यसले विद्यालयमा विद्यार्थी संख्या वृद्धि मात्र होइन, गुणस्तरीय शिक्षामा समेत टेवा पुग्ने विश्वास लिएका छौँ ।’

त्यस्तै, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक जंगबहादुर शाहीले अभियानले सबै पक्षलाई जिम्मेवार बनाएको उल्लेख गरे । ‘शिक्षक, अभिभावक, विद्यालय र स्थानीय तहबीचको सहकार्यले भर्ना अभियान सफल बन्दै गएको छ’, उनले भने, ‘अब हाम्रो ध्यान भर्ना भएका विद्यार्थीलाई नियमित रूपमा विद्यालयमा टिकाइराख्नेतर्फ पनि केन्द्रित हुनुपर्छ ।’

यसै बीच, शिक्षा विकास तथा समन्वय इकाइ मुगुको तथ्यांकअनुसार जिल्लामा हाल १६७ वटा सामुदायिक, ५ वटा निजी र १ वटा धार्मिक गरी जम्मा १७३ वटा विद्यालय सञ्चालनमा रहेका छन् । यस्तै, शैक्षिक सत्र २०८२ को तथ्यांकअनुसार जिल्लामा ९ हजार ५०३ छात्रा र ९ हजार २२४ छात्र गरी कुल १८ हजार ७२७ जना विद्यार्थी अध्ययनरत छन् ।

स्थानीय तहहरूले पनि अभियानलाई प्राथमिकतामा राख्दै विभिन्न सहयोगात्मक कार्यक्रमहरू अघि बढाएका छन् । दुर्गम भेगका बालबालिकालाई विद्यालयसम्म पहुँच पु¥याउन विशेष पहल गरिएको छ ।