रैथाने बीउ जोगाउन डटे डोटीका किसान

940
Shares

डोटी ।

डोटीमा लोप हुन थालेका स्थानीय बालीनाली तथा तरकारीका बीउ संरक्षणमा जोरायल गाउँपालिका–२, घण्टेश्वरका किसानहरु सामूहिक रुपमा समेत लागिपरेका छन् । किसानहरुले अहिले धान, मकै, सिमी, चोतो, मुला, कोदो, फापर, धनियाँ, लसुनजस्ता विभिन्न स्थानीय बालीनालीको बीउ संरक्षणमा जोड दिँदै आएका छन् । स्थानीय ७३ प्रजातिका लोपोन्मुख बीउहरु संरक्षण गरिराखेको घण्टेश्वरका किसानहरुले दाबी गरेका छन् ।

यसै सिलसिलामा २०७८ सालयताबाट जोरायल गाउँपालिका वडा नं. २, घण्टेश्वरीकी इन्द्रा ओली दाब्दी नामको गहुँ जोगाउन खटिँदै आउनुभएको छ । ओसिलो क्षेत्रमा पनि फल्ने तथा पीठो नरम हुने विशेषता रहेको दाब्दी गहुँ घण्टेश्वर क्षेत्रमा मात्र पाइन्छ ।
गहुँको महत्वबारे गाउँका बूढापाकाबाट थाहा पाएपछि उहाँ केही समययताबाट संरक्षणमा जुट्नुभएको हो । ‘गतवर्ष असिना–पानीले सबैको गहुँ नष्ट ग¥यो तर दाब्दी गहुँमा केही भएन’, गहुँको अर्को महत्वबारे जानकारी दिँदै उहाँले भन्नुभयो, ‘यसको विशेषता असिना–पानी र कीरा–फट्यांग्राबाट सहजै जोगाउन सकिन्छ ।’

यस्तै घण्टेश्वरको चपरताली बस्तीका नौ जनजाति परिवारले पाखो जमिनमा स्थानीय भोटे सिमी र प्याजको संरक्षण गरिरहेका छन् । ‘जिजुबाजेको पालादेखि लगाउँदै आएको प्याज र सिमी आजभोलि सबै ठाउँ पाउन सकिन्न’, जोरायल गाउँपालिका–२ चपरतोलीका पदमबहादुर थापाले भन्नुभयो, ‘हामीले त्यसको संरक्षण किन नगर्ने भनेर बस्तीका नौ परिवार अहिले लागिपरेका छौँ ।’ किरमिरे, लाहुरे नामका चौमासमा लटरम्म फल्ने रातो रंगको सिमी पनि स्थानीयले संरक्षण गर्न थालेका छन् ।

स्थानीय प्याजको नाम भने किसानलाई थाहा छैन । ठूलो दाना लाग्ने, सलादका रुपमा खान उपयुक्त हुने विशेषता रहेको स्थानीय प्याजको उत्पादन राम्रो हुने गरेको किसानहरु बताउँछन् । एउटै प्याजको दाना ८ सय ५० ग्रामसम्मको फलाएको उनीहरुले जानकारी दिए ।

अहिले घण्टेश्वरमा अरु किसान पनि स्थानीय बीउ संरक्षण अभियानमा जुटेका छन् । २०७० सालबाट जैविक विविधता संरक्षण कृषि सहकारी संस्था बीउ बैंकका रुपमा समेत स्थापना गरेका छन् । सो सहकारीमा ३ सय ६० किसान आबद्ध छन् ।

जैविक, पर्यावरण संरक्षणमा त्यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको ली वर्ड नामक संस्थाले स्थानीय बीउ संरक्षणका लागि जागरणमूलक कार्यक्रमहरु किसानमाझ ल्याएपछि स्थानीयवासी हौसिएका हुन् । ‘बाहिरबाट आयात हुने बीउ, तरकारी बालीले स्थानीय प्रजातिहरु हराउन लागेको अनुभूति नै थिएन’, सहकारीका अध्यक्ष कविराम डाँगीले भन्नुभयो, ‘स्थानीय बीउको महत्वबारे ली वर्डले सम्झाउन–बुझाउन लागेपछि हामी संरक्षणमा सामुहिक रुपमा जुट्यौँ ।’
सहकारीमार्फत घण्टेश्वरका किसानहरुले नेपाल सरकारले काठमाडाँै खुमलटारमा स्थापना गरेको राष्ट्रिय जीन बैंकमा जिल्लाका ५८ स्थानीय बालीनालीका प्रजातिहरु संरक्षणका लागि पठाइसकेको सहकारीका प्रबन्धक गणेश विष्टले जानकारी दिनुभयो ।

लोपोन्मुख स्थानीय मार्से, सेउडो नामक धान पनि संरक्षण गरिरहेका छन् । किसानले संरक्षणका लागि स्थानीयले लगाउँदै आएका उत्पादनहरु भने जैविक विविधता संरक्षण कृषि सहकारीले खरिद गरिदिँदै आएको छ । संकलन भएका उत्पादनहरुबाट मूल बीउ बनाएर सहकारीले अन्यत्र पनि लगाउन प्रोत्साहन गरिरहेको अध्यक्ष डाँगीले बताउनुभयो । सहकारीले अन्य संघसंस्थाहरुको सहयोगमा किसानलाई प्रोत्साहन गरिरहेको छ ।

पछिल्लो समय विभिन्न संघसंस्था र कार्यालयले बढी उत्पादनको प्रलोभन देखाएर जथाभावी किसानलाई विकासे बीउबीजनहरु बाँडिदिएकाले स्थानीय प्रजातिका बालीनाली संकटमा पर्दै गएको जिल्ला कृषि विकास अधिकृत गंगादत्त अवस्थीको बुझाइ छ । उहाँले घण्टेश्वरमा किसानले थालेको अभियान सकरात्मक रहेको बताउनुभयो । ‘पहिले–पहिले स्थानीय प्रजातिहरुलाई हेप्ने प्रवृत्ति थियो’, अवस्थीले भन्नुभयो, ‘अहिले स्थानीय प्रजातिका तरकारी, फलफूलले राम्रो मुल्य पाइरहेका छन्, घण्टेश्वरका किसानहरुले सफलता पनि पाउँदै गएका छन् । किसानले बीउ संरक्षणसँगै उत्पादनसमेत बढाउँदै लगेका छन् ।’