भक्तपुर ।
मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले काठमाडौं महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको जानकारी दिनुभयो ।
आज बिहानैदेखि बस्तीमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि आज बिहान ९ बजेसम्मको समय दिइएको थियो ।
त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो ।
प्रहरी उपरीक्षक खड्काले यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको बताउनुभयो ।

यस बस्तीमा बस्तीमा सात सय ७७ घरटहरा छन् । हिजो साँझ ती मध्य सात वटा ठूला पक्की घर भत्काइएका थिए ।
त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो ।
अबरोधका क्रममा ढुंगामुढा हुँदा एक दर्जन प्रहरी घाइते भएका थिए भने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
आज भने यहाँ बसोबास गर्दै आएका केहीले सामान सारेको त्यसमा प्रहरीले सहयोग गरेको र बिना अवरोध अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया