कपिलवस्तुमा स्कार्पियो–ट्रक ठोक्किँदा दुईको मृत्यु, तीन घाइते


काठमाडौं ।

कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्। हुलाकी सडक खण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिप्ररहवामा गएराति दुर्घटना भएको हो।

बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको भारतीय नम्बरको स्कार्पियो अनियन्त्रित भई साइडमा रोकिएको ट्रकमा ठोक्किँदा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा तीनजना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।