पोखरा । पोखरामा पहिलोपटक विश्व आरोग्य दिवस (वेलनेस) मनाइएको छ । राउन्ड फेवा, भ्यु फेवा पदमार्गअन्तर्गत पोखरा–१७, ड्यामसाइडबाट शुरु गरी पोखरा–२२ म्युखोलासम्मको पदमार्ग सरसफाइसँगै पदयात्रा र योग गरी पहिलोपटक विश्व आरोग्य दिवस मनाइएको हो ।
अहिलेको जनजीवन निकै अशान्त भएकाले यसलाई शान्त पार्नका लागि प्रकृतिसँग नजिक हुन आरोग्य दिवस मनाउन शुरु गरिएको हो । यसलाई पर्यटनसँग जोड्न आवश्यक रहेको देखिन्छ । पर्यटनसँग जोड्नकै लागि पोखराको फेवातालपारि हाइकिङसँगै योग गरेर आरोग्य दिवस मनाइएको हो ।
टान छोटो दूरीका पदमार्गहरुको प्रवद्र्धनमा लागिरहेको र आरोग्य दिवसको अवसरमा राउन्ड फेवा, भ्यु फेवा भन्दै नयाँ पदमार्ग प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गरेको ट्रेकिङ एजेन्सी नेपाल गण्डकीका अध्यक्ष कृष्ण आचार्यले बताउनुभयो । कार्यक्रम आयोजनाले आगामी दिनमा छोटो दूरीको पदयात्राका लागि फेवापारिको रानीवनलाई पर्यटकले मन पराउने टानको विश्वास रहेको सचिव गोपालकृष्ण संग्रौलाले बताउनुभयो ।
पर्यटन व्यवसायी महिला संघ (टेवान) की अध्यक्ष शोभा पाण्डेले यस्ता कार्यक्रमले पोखराको लेन्थ अफ स्टेमा थप टेवा पुग्ने बताउनुभयो । राउन्ड फेवा भ्यु फेवा छोटो दूरीको पदमार्ग हो, जहाँबाट हिमाल, तालमा हिमालको छाया र बजारलाई एकसाथ अवलोकन गर्न सकिन्छ भने सूर्योदयको मनोरम दृश्यसमेत हेर्न सकिन्छ ।
गण्डकी प्रदेश सरकार तथा पर्यटन मन्त्रालयको आयोजना, टान गण्डकीको सहआयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको हो । नागरिकमा बढ्दो निराशा अन्त्य गर्न र राष्ट्रिय गौरव जोगाउन वेलनेस आवश्यक छ, वेलनेस पर्यटन अरूलाई बेच्नुअघि आफ्नै मूल्य चिन्दै आधारभूत संरचना, मौलिकता र पहिचान जोगाउँदै अघि बढ्न सके वेलनेस नेपालको समृद्धिको नयाँ आधार बन्ने देखिन्छ ।
नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघ महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा घोषणा गरेको थियो । जुन नेपालका लागि एक महत्वपूर्ण कूटनीतिक उपलब्धि मानिएको छ । यो निर्णयले स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा वातावरणीय सन्तुलनका रूपमा परिभाषित गर्दै ‘समग्र आरोग्य’ अवधारणालाई विश्वस्तरमा सुदृढ बनाउन टेवा पु¥याउनेछ ।











प्रतिक्रिया