अमेरिका–इरान शान्ति वार्ता पाकिस्तानमा, तनाव कम गर्ने प्रयास


काठमाडौं ।

अमेरिका र इरानका उच्चस्तरीय प्रतिनिधिहरू शनिबार बिहान पाकिस्तानको राजधानी इस्लामावादमा शान्ति वार्ताका लागि पुगेका छन्। लामो समयदेखि जारी तनाव र सैन्य मुठभेडबीच दुई देशबीच कूटनीतिक समाधान खोज्ने प्रयास भइरहेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र ज्वाइँ जारेड कुश्नर इरानी पक्षसँग वार्ताका लागि सहभागी भएका छन् भने इरानका विदेश मन्त्री अब्बास अराघची पनि इस्लामावाद पुगेका छन्। यद्यपि इरानले सिधा भेटघाटको सट्टा पाकिस्तानमार्फत आफ्ना धारणा राख्ने बताएको छ।

वार्ताको उद्देश्य तनाव घटाउने, आणविक कार्यक्रमबारे सहमति खोज्ने र होर्मुज जलडमरू क्षेत्रको स्थिति स्थिर बनाउने रहेको बताइएको छ। पछिल्ला द्वन्द्व र प्रतिबन्धका कारण विश्व बजारमा तेलको मूल्य बढेको र आर्थिक असर देखिएको छ।

दुवै पक्षले सार्वजनिक रूपमा कठोर अडान कायम राखे पनि भित्री रूपमा कूटनीतिक समाधानको प्रयास जारी रहेको बताइएको छ। विश्व समुदायले यस वार्तालाई सम्भावित युद्ध अन्त्य र आर्थिक स्थिरताको महत्वपूर्ण अवसरका रूपमा हेरिरहेको छ।