नागबहालबाट सुरु भएको बुद्धजयन्ती ७५ वर्षमा


ललितपुर।

राणाशासन विरुद्धको संघर्षपछि ललितपुरको नागबहालबाट सुरु भएको बुद्धजयन्ती मनाउने परम्परा यस वर्ष ७५ वर्ष पुग्नेछ । यस वर्ष २५७० बुद्ध जयन्ती ७५ वर्षे सार्वजनिक परम्पराको अवसरमा हीरक समारोहका रूपमा मनाउन लागिएको हो।

२००९ सालमा तारेमाम संघले ललितपुरमा आयोजना गरेको २४९६ औं बुद्धजयन्ती ललितुरमा सार्वजनिक रुपमा मनाइएको पहिलो बुद्धजयन्ती थियो।यहीमा सन्दर्भमा यस वर्षको बुद्धजयन्ती हिरण्यवर्ण महाविहार तारेमाम संघ, नागबहालले हीरक समारोहका रुपमा मनाउने निर्णय गरेको शुक्रबार आयोजित पत्रकार भेटघाटमा बताइयो। 

राणाकालमा सार्वजनिक रुपमा बुद्ध जयन्ती मनाउन प्रतिबन्ध लगाइएको थियो।२००७ सालको प्रजातन्त्र पुनःस्थापनापश्चात नेपालभाषाका पहिलो पत्रकार समेत रहेका भाषासेवी र धार्मिक व्यक्तित्व धर्मादित्य धर्माचार्य(जगतमान वैद्य) प्रा. आशाराम शाक्य, बौद्ध उपासक पूर्णबहादुर शाक्य,सुन उपासक र भिक्षु प्रज्ञारश्मिको सहयोगमा नागबहालमा पहिलो पटक बुद्धजयन्ती मनाइएको थियो।त्यसपछि दोस्रो र तेस्रो गरी २०११ सालसम्म लगातार तेस्रो पटक बुद्ध जयन्ती नागबहालमा मनाएपछि ललितपुरका विभिन्न टोल, बिहारमा बुद्ध जयन्ती मनाउने परम्परा शुरुआत भएको थियो।यसबाट बुद्धधर्मको विस्तार सम्बन्धी विभिन्न गतिविधिको ढोका पनि खुलेको थियो।यसै सन्दर्भ जोड्दै यसवर्ष विविध कार्यक्रम आयोजना गरी सप्ताह व्यापी बुद्ध जयन्ती मनाउन लागिएको समारोह समितिका महासचिव विकासरत्न धाख्वाःले पत्रकार भेटघाटमा जानकारी दिनुभयो।

महासचिव धाख्वाःका अनुसार सप्ताह व्यापी कार्यक्रम बैशाख १२ गते शनिबार सुरु हुनेछ।प्रचवन,क्यान्सर रोग शिविर, रक्तदान, बौद्ध ग्रन्थ तथा कला प्रदर्शनी, भिक्षुसंघ, अनागारिका गुरुमांहरुलाई भोजनदान,ज्ञानमाला भजन, दाफा भजन र बुद्धजयन्तीको पूर्वसन्ध्या अर्थात् बैशाख १७ गते विहीबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा बृहत बौद्ध सभा हुनेछ। बुद्धजयन्तीको दिन  विभिन्न कार्यक्रमका साथ बुद्ध मूर्ति नगरपरिक्रमा गराउने कार्यक्रम रहेको छ।

समितिले यसवर्षको बुद्धजयन्ती बृहत रुपमा मनाउन आह्वान गर्दै त्यसको प्रचारात्मक रुपमा गत वर्ष जेठ पूर्णिमादेखि प्रत्येक महिना विभिन्न धार्मिक गतिविधि गर्दै आएको थियो।त्यसक्रममा गुरु छोकीनिमा रिम्पोछेंबाट अभिषेक प्रदान, दुर्लभ कथिर चीवनरदान, महापरित्राण, प्रज्ञापारमिता ग्रन्थ महत्त्वपूर्ण कार्यहरु रहेको समितिले जनाएको छ।

कोषाध्यक्ष सुमनरत्न शाक्यका अनुसार यस कार्यको लागि ललितपुर महानगरपालिकाले १० लाख रुपैयाँ विनियोजित गरेको छ । त्यसैगरी ललितपुर महानगरपालिका– १६ ले ८ लाख विनियोजित गरेको छ । स्थानीय तहको सहयोग र मनकारीहरुको दिने सहयोगले अहिले बुद्धजयन्ती मनाउन आर्थिक चिन्ता नरहेको पनि कोषाध्यक्ष शाक्यको भनाई रहेको छ । यस अवस्थामा यसलाई अभिलेखीकरण, गतिविधिलाई अझ रचनात्मक बनाउनेतिर ध्यान जानुपर्ने पनि उहाँले जोड दिनुभयो।

बुद्ध जयन्ती मनाउन हिराकाजी शाक्यको अध्यक्षतामा ३३ सदस्यीय सल्लाहकार समिति, १९ वटा विभिन्न उपकमिटी र विभिन्न टोलका प्रतिनिधि सम्मिलित २५७० बौद्ध जयन्ती हीरक समारोह मूल समिति गठन गरिएको थियो। ‘बुद्धजयन्ती नागबहालबाट सुरु भएको भएपनि यो सबै टोलवासी , जाति र समुदायको हो । सबैको सहभागितामा बुद्धजयन्ती मनाउने छौं।’ महासचिव धाख्वाःले भन्नुभयो।