‘प्रेस स्वतन्त्रता र लोकतन्त्र जोगाउन सरकारले विज्ञापन नीतिका विषयमा गरेको निर्णय सच्याउनुपर्छ’

देशभरबाट महासंघले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो,  केन्द्र सरकारको निर्णयप्रति प्रदेश सरकारसमेत असहमत 


काठमाडौं। 

तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयविरुद्ध देशव्यापी विरोध चर्किँदै गएको छ । नेपाल पत्रकार महासंघले उक्त निर्णयलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संवैधानिक व्यवस्था, खुला अर्थनीति र संघीयताको मर्मविपरीत ठहर गर्दै चरणबद्ध दबाबमूलक आन्दोलन सुरु गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको परिपत्रमार्फत संघ, प्रदेश र स्थानीय तहका निकायलाई सरकारी सूचना तथा विज्ञापन केवल सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन गर्न निर्देशन दिइएको थियो । यस निर्णयलाई महासंघले “प्रेस नियन्त्रणको प्रयास” भन्दै कडा आपत्ति जनाएको छ । यसैक्रममा महासंघ कर्णाली प्रदेश समितिले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलसँग छलफल गर्दै आफ्नो धारणा प्रस्तुत गरेको छ । छलफलका क्रममा विज्ञापनमा नियमन आवश्यक भए पनि पूर्ण निषेध गलत कदम भएको निष्कर्ष निकालिएको छ । “हामी पारदर्शी, व्यवस्थित र समानुपातिक विज्ञापन प्रणालीको पक्षमा छौँ,” महासंघले स्पष्ट पारेको छ ।

महासंघले देशभर आन्दोलनलाई तीव्र बनाउँदै वैशाख ९ देखि १५ गतेसम्म विभिन्न कार्यक्रम घोषणा गरेको छ । प्रदेशस्तरमा मुख्यमन्त्रीसँग छलफल, प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र, केन्द्रीय पत्रकार सम्मेलन, सम्पादकीय ऐक्यबद्धता र सामाजिक सञ्जाल अभियान लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

यसैबीच बिहीबार महासंघले देशका ७७ वटै जिल्ला शाखामार्फत प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमार्फत महासंघले सरकारलाई तत्काल निर्णय फिर्ता लिन माग गर्दै अन्यथा आन्दोलन अझ सशक्त बनाइने चेतावनी दिएको छ । सरकारको निर्णयप्रति केवल सञ्चार क्षेत्र मात्र होइन, राजनीतिक र प्रादेशिक तहबाट पनि असहमति देखिन थालेको छ । बागमती र कर्णाली प्रदेशले केन्द्र सरकारको निर्देशन पालना नगर्ने संकेत दिएका छन्, जसले संघीय संरचनामाथि हस्तक्षेप भएको बहसलाई थप बल दिएको छ ।

सञ्चार क्षेत्रका सरोकारवालाहरूका अनुसार सरकारी विज्ञापन निजी मिडियाको मुख्य आयस्रोत हो । यस्तो अवस्थामा विज्ञापन बन्द गर्दा साना तथा मध्यम सञ्चारमाध्यम बन्द हुने, हजारौं पत्रकार बेरोजगार हुने र सूचना प्रवाहमा असन्तुलन आउने खतरा रहेको उनीहरूको भनाइ छ । नेपालमा निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमहरूले लोकतन्त्र स्थापना, सुदृढीकरण र जनचेतना विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् । जनताको आवाज बोल्ने, सरकारलाई जवाफदेही बनाउने र समाजका विकृति उजागर गर्ने काममा मिडियाले ऐतिहासिक योगदान दिएको छ ।

विशेषज्ञहरूका अनुसार सरकारी मिडिया मात्र पर्याप्त नहुने स्पष्ट छ । देशभरका दुर्गम क्षेत्रसम्म सूचना प्रवाह गर्न निजी सञ्चारमाध्यम अपरिहार्य छन् । यदि निजी मिडियालाई कमजोर पारियो भने नागरिकको सूचनाको हक नै प्रभावित हुने खतरा रहन्छ । संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको अधिकार यस्तो निर्णयबाट कमजोर हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

महासंघले सरकारलाई स्पष्ट सन्देश दिएको छ—निजी मिडियाको घाटी निमोठ्ने निर्णय लोकतन्त्रको भावना विपरीत छ र यसलाई तत्काल सच्याउनुपर्छ ।

अहिलेको बहस केवल विज्ञापन वितरणको विषय मात्र होइन,

प्रेस स्वतन्त्रताको भविष्य

सूचनाको पहुँच

लोकतन्त्रको आधार

यी सबैसँग जोडिएको विषय बनेको छ । यस अवस्थामा सरकारसँग अपेक्षा गरिएको छ—नियमन आवश्यक भए पनि निषेध होइन, सन्तुलन, पारदर्शिता र समान अवसरको नीति अपनाउनुपर्छ । अन्यथा,यो निर्णय लोकतन्त्रको अभ्यासमा गम्भीर प्रश्न बन्ने निश्चित छ ।