वडा सदस्यलाई जातीय छुवाछुत मुद्दामा १८ महिना कैद १ लाख क्षतिपूर्तिको फैसला

0
Shares

धादिङ ।

नीलकण्ठ नगरपालिका– १० का वडा सदस्य हीमबहादुर पाठकलाई जातीय छुवाछुत गरेको कसुरमा १८ महिना कैद र एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन जिल्ला अदालतले फैसला गरेको छ ।

कुलोपानीको निहुँमा खेतमा पानी लगाउँदा विवाद भएपछि सोही स्थानका ३६ वर्षीय रामबहादुर विसुन्केलाई जातीय आधारमा विभेदपूर्ण शब्द प्रयोग गर्दै ०८२ असार १९ गते धम्की समेत दिएको भन्दै जिल्ला प्रहरी कार्यालय धादिङमा पीडित बिसुन्खेले भदौ १ गते उजुरी दिनुभएको थियो ।

जिल्ला अदालतमा भदौ १९ गते दर्ता भएको भेदभाव तथा जातीय छुवाछुत मुद्दामा आरोपित आरोपित वडा सदस्यलाई भदौ २० गते जिल्ला अदालतले १ लाख धरौटीमा रिहा गरेको थियो ।

जिल्ला न्यायाधीश मनकुमारी जिएम वि.क.को आदेशले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजायाँ) ऐन २०६८ दफा ३ र ४ अनुसार “जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्न नहुने” कानुनी प्रावधान बमोजिम कसुरदार पाठकले कसुर गरेको ठहर गर्दै एक वर्ष कैद र १० हजार जरिवाना गर्ने फैसला गर्नुभएको छ । साथै वडा सदस्य सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले थप ६ महिना कैद र थप ५ हजार जरिवाना गर्दै  गरी १८ महिना कैद फैसला गरिएको छ । कसुरदारबाट १ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन समेत फैसलामा उल्लेख गरिएको जिल्ला अदालतका श्रेस्तेदार राजेन्द्र लुइँटेलले बताउनुभयो ।