बुटवल।
लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा विहिवार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्य ले अधुरा आयोजना सम्पन्न गर्नु दोस्रो प्राथमिकता रहने र त्यसपछि मात्रै नयाँ आयोजना समावेश गरिने बताउनुभएको हो।
उहाँले प्रदेशको वास्तविक आर्थिक अवस्थाभन्दा एक रुपैयाँ पनि बढी बजेट नबनाउने प्रतिबद्धता दोहो¥याउँदै यथार्थपरक बजेट निर्माणमा जोड दिनुभयो । हाल करिब ६ अर्ब हाराहारीमा रहेको राजश्वलाई आगामी आर्थिक वर्षमा साढे ६ अर्बसम्म पु¥याउने प्रक्षेपण गरिएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री आचार्यले विगतका कमजोरीबाट शिक्षा लिएर सुधार गर्दै अघि बढ्ने उल्लेख गर्दै बजेट आवश्यकता र औचित्यका आधारमा निर्माण गरिने बताउनुभयो । जिल्ला समन्वय समितिलाई अनुगमनसँग जोड्न ऐन संशोधन गरिएको र स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई समेत अनुगमनमा सहभागी गराउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशले विगतको तुलनामा राजश्व संकलनमा सुधार गर्दै गएको उल्लेख गर्दै उहाँले बागमती प्रदेशपछि राजश्व संकलनमा लुम्बिनी अग्रस्थानमा रहेको बताउनुभयो । कार्यक्रम आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।











प्रतिक्रिया