काठमाडौं ।
नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुनः तीव्र रूपमा फैलिँदै गएको छ । सरकारी निकायका अनुसार हालसम्म देशका ६ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ भने जोखिम क्षेत्रहरूमा उच्च सतर्कता अपनाइएको छ । संक्रमण फैलिन थालेसँगै कृषि अर्थतन्त्र र जनस्वास्थ्य दुवै क्षेत्रमा चिन्ता बढेको छ ।
पशु सेवा विभागका सूचना अधिकारी डा. इन्दिरा शर्माका अनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा बर्डफ्लु संक्रमण देखिएको छ । साथै काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मरेको अवस्थामा भेटिएका कागमा गरिएको परीक्षणमा पनि एच फाइभ एन वान प्रकारको बर्डफ्लु भाइरस पुष्टि भएको छ । सूचना अधिकारी डा. शर्माले त्यस्तै चितवन, नवलपरासी र बारा जिल्लामा पनि बर्डफ्लु संक्रमण देखिएपछि विभागले तत्काल ‘¥यापिड रेस्पोन्स टिम’ खटाएर नियन्त्रणको प्रयास तीव्र बनाएका जानकारी दिनुभयो ।
राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीका अनुसार आर्थिक वर्ष २०८२÷८३ को पहिलो संक्रमण चैत ४ गते मोरङ जिल्लाको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ मा २९ वटा फर्ममा देखिएको थियो । त्यसपछि संक्रमण क्रमशः फैलिँदै अन्य जिल्लामा समेत पुष्टि भएको छ ।
हाल झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी, बारा र काठमाडौं जिल्ला उच्च जोखिममा रहेका क्षेत्रका रूपमा चिनिएका छन् । विशेषगरी अझै झापा र चितवनजस्ता ठूला कुखुरा उत्पादन केन्द्रहरूमा संक्रमण फैलिने सम्भावना उच्च रहेको अधिकारीहरू बताउँछन् ।
संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कुखुरा नष्ट गर्ने कार्य तीव्र रूपमा भइरहेको छ । बर्डफ्लु पुष्टि भएका फार्महरूमा १ लाख ३० हजारभन्दा बढी कुखुरा मारिएको छ भने २ लाख ३७ हजारभन्दा बढी अण्डा नष्ट गरिएको विभागको रिपोर्टमा उल्लेख गरिएको छ । यतिबेला ‘रिङ कन्टेनमेन्ट’ रणनीति अपनाउँदै संक्रमित क्षेत्र वरपरका कुखुरा पनि नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । यसबापत प्रभावित किसानलाई क्षतिपूर्ति दिने प्रक्रियासमेत अघि बढाइएको छ ।
डा. शर्माका अनुसार किसानहरूले पनि सरकारको अभियानमा सहयोग गरेका छन् । विगतमा क्षतिपूर्ति ढिलाइ हुँदा किसानहरूले संक्रमण लुकाउने प्रवृत्ति देखिएको भन्दै यसपटक समयमै राहत उपलब्ध गराउनेतर्फ सरकार सचेत रहेको उल्लेख गदै उहाँले भन्नुभयो– ‘कुखुरा नष्ट गर्दा क्षतिपूर्ति पाइने भएकाले व्यवसायीहरूबाट सकारात्मक सहयोग प्राप्त भएको छ ।’
यता, भक्तपुरको ठिमी क्षेत्रमा ठूलो संख्यामा कागहरू मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । सडक किनारा, खेतबारी र घर आँगनमा कागहरू मरेको देखिएको भए पनि यसबारे पशु सेवा विभागमा औपचारिक जानकारी भने नआएको डा. शर्माले स्पष्ट बताउनुभयो ।
मानव स्वास्थ्यतर्फ समेत जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । संक्रमित कुखुरा वा चरासँग सम्पर्कमा आएका व्यक्तिहरूमा ज्वरो, खोकी वा सास फेर्न गाह्रो हुने लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान सुझाव दिइएको छ ।
यसअघि नेपालमा एकजना मानिसमा बर्डफ्लु संक्रमण पुष्टि भएको घटना पनि रहेको छ, जसले मानवमा संक्रमण सर्ने सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिने टिप्पणी गर्दै शर्माले भन्नुभयो–‘त्यसैले कुखुरा फार्ममा काम गर्ने मजदुर तथा हेरालुहरूलाई विशेष सावधानी अपनाउन निर्देशन दिइएको छ । फार्ममा प्रवेश गर्दा सुरक्षात्मक पोशाक प्रयोग गर्न, नियमित सरसफाइ गर्न र बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्न भनिएको छ ।’
विज्ञहरूका अनुसार राम्ररी पकाइएको कुखुराको मासु र अण्डा सेवन गर्न सुरक्षित हुन्छ । तर, काँचो वा अर्ध पाकेको मासु सेवन नगर्न र मासु तयारी गर्दा सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको उनीहरूको सुझाव छ ।
संक्रमण नियन्त्रणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रभावित क्षेत्रमा कुखुरा ओसारपसारमा प्रतिबन्ध लगाएको छ । प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा सुरक्षा निकायहरूको समेत सहयोग लिँदै निगरानी थप कडा बनाइएको छ ।
पोल्ट्री क्षेत्रमा कमजोर जैविक सुरक्षा, खुला बजार प्रणाली तथा अवैध आयातका कारण संक्रमण नियन्त्रणमा चुनौती देखिएको विज्ञहरूको भनाइ छ । उनीहरूले जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू नभएसम्म संक्रमण नियन्त्रण गर्न गाह्रो हुने बताए ।
बर्डफ्लु संक्रमण फैलिँदै जाँदा नेपालको कृषि अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने देखिएको छ । पोल्ट्री व्यवसायमा निर्भर हजारौँ किसान प्रभावित हुने सम्भावना रहेको छ भने आपूर्ति प्रणालीमा समेत अवरोध आउनसक्ने चिन्ता व्यक्त गरिएको छ ।
सरकारले उच्च सतर्कता अपनाउँदै समन्वयात्मक प्रयासलाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको छ ।
सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य र जनचेतना अभिवृद्धि गर्न सके मात्र संक्रमण नियन्त्रण सम्भव हुने विज्ञहरूको निष्कर्ष छ । पशु, पक्षीको स्वास्थ्य समस्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानव स्वास्थ्यसँग जोडिएको विषय हो । एक दशकअघि पनि नेपालमा बर्डफ्लुका कारण कुखुरा व्यवसाय नै धराशयी भएको थियो । विस्तारै पुनः फस्टाएको कुखुरा व्यवसाय नेपालमा कुखुराको मासुमा आत्मनिर्भर भएको अवस्थामा पुनः समस्या देखिएको छ । सरकारले विगतलाई नियालेर छिटोभन्दा छिटो रोग पहिचान र सुधारको बाटो अपनाउन विज्ञहरूको सुझाव छ ।
५











प्रतिक्रिया