काठमाडौं ।
नेपालमा बर्डफ्लु संक्रमण तीव्र रूपमा फैलिएको छ । नेपाल सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीद्वारा सार्वजनिक पछिल्लो प्रतिवेदन अनुसार २०८३ वैशाख १ गतेसम्म देशका विभिन्न ६ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । आर्थिक वर्ष २०८२÷८३ को पहिलो संक्रमण २०८२ चैत ४ गते कोशी प्रदेशको मोरङ जिल्लाको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट सुरु भएको थियो । त्यसपछि संक्रमण क्रमशः अन्य प्रमुख पोल्ट्री उत्पादन क्षेत्रहरूमा फैलिएको प्रतिवेदनमा उल्लेख छ ।
हालसम्म देशभरका ३३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भइसकेको छ । संक्रमण नियन्त्रण तथा थप फैलावट रोक्न सरकारले ठूलो मात्रामा पंक्षी, अण्डा र दाना नष्ट गरेको छ । सरकारी तथ्यांकअनुसार हालसम्म १ लाख ३० हजार ९१२ वटा पंक्षी नष्ट गरिएको छ । साथै २ लाख ३७ हजार ५६२ वटा अण्डा र ३३ हजार ४४५ किलो दाना सुरक्षित रूपमा खाल्डोमा पुरेर नष्ट गरिएको छ ।
जिल्लागत विवरण अनुसार सुनसरी सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ । जहाँ १७ वटा फार्ममा संक्रमण पुष्टि भएको छ । मोरङमा १० वटा फार्म प्रभावित भएका छन् र यहाँ ५३ हजार ७२१ पंक्षी नष्ट गरिएको छ । जुन जिल्लागत रूपमा सबैभन्दा बढी क्षति हो ।
चितवन, झापा, बारा र नवलपरासी (पश्चिम) पनि संक्रमण प्रभावित जिल्लामा परेका छन् । चितवनको एउटै फार्ममा मात्र १८ हजार ८६३ पंक्षी नष्ट गरिएको छ । झापामा ३ वटा फार्ममा १५ हजार ३९० पंक्षी नष्ट गरिएको छ । त्यसैगरी बारामा २ हजार ८६५ र नवलपरासी (पश्चिम) मा २०८ पंक्षी नष्ट गरिएको तथ्यांक छ ।
सरकारले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ । संक्रमित क्षेत्रहरूलाई सिल गरिएको छ भने रोगको स्रोतमै नियन्त्रण गर्ने रणनीति अनुसार सुरक्षाकर्मी, स्थानीय तह र प्राविधिक टोली परिचालन गरिएको छ ।
पशु सेवा विभागका अनुसार बर्डफ्लु नियन्त्रणका लागि प्रभावित क्षेत्रमा नियमित अनुगमन, नमुना परीक्षण, क्वारेन्टिन कडाइ र जैविक सुरक्षा मापदण्ड लागू गरिएको छ । साथै, पोल्ट्री व्यवसायीलाई फार्ममा प्रवेश नियन्त्रण, सरसफाइ र उपकरण निर्जीविकरणमा विशेष ध्यान दिन आग्रह गरिएको छ । स्वास्थ्य तथा पशु विज्ञहरूका अनुसार बर्डफ्लु मुख्यतः संक्रमित चराको सम्पर्क, अण्डा तथा फोहोर व्यवस्थापनमा लापरबाहीका कारण फैलिने गर्छ । यद्यपि समयमै नियन्त्रण नभए यसले ठूलो आर्थिक क्षति पु¥याउने जोखिम रहने उनीहरूको चेतावनी छ । नेपालमा पोल्ट्री क्षेत्रलाई कृषिआधारित अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिन्छ । देशभर करिब ६ हजारभन्दा बढी व्यावसायिक पोल्ट्री फार्म सञ्चालनमा रहेको अनुमान छ । जसले हजारौंलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिँदै आएको छ ।
सरकारले आगामी दिनमा संक्रमण थप फैलिन नदिन स्थानीय तह, निजी क्षेत्र र सरोकारवाला निकायसँग समन्वय अझ मजबुत बनाउने जनाएको छ । साथै, प्रभावित किसानलाई क्षतिपूर्ति र राहतका विषयमा समेत छलफल भइरहेको सम्बन्धित निकायले जनाएको छ ।











प्रतिक्रिया