काठमाडौँ
आईसीआरए नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेडको वित्तीय अवस्था सुधारिएको भन्दै कम्पनीको क्रेडिट रेटिङ उकासेको छ ।
कम्पनीको दीर्घकालीन कर्जा रेटिङ एलबीबीप्लसबाट एलबीबीबी माइनसमा तथा अल्पकालीन रेटिङ एफोर प्लसबाट एथ्रीमा सुधार गरिएको हो ।
मोबाइल फोन फाइनान्सिङ क्षेत्रमा प्रभावकारी रिकभरी संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणालीका कारण कम्पनीको सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार आएको जनाइएको छ । नेट इन्ट्रेस्ट मार्जिन स्थिर राख्दै सञ्चालन खर्च नियन्त्रणमा राखेकाले कम्पनीले निरन्तर नाफा कायम राखेको छ भने करिब ९६ प्रतिशतको बलियो प्रावधान कभरेजले वित्तीय स्थायित्वलाई थप मजबुत बनाएको छ ।
पाँच दशकभन्दा लामो अनुभव भएको एमएडब्लू समूहको हिस्सा हुनु, अटोमोबाइल क्षेत्रमा बलियो उपस्थिति र अग्रणी ब्रान्डसँगको सहकार्यले कम्पनीको वित्तीय पहुँच र व्यवसाय विस्तारमा टेवा पुगेको बताइएको छ ।
सन् २०११ मा स्थापना भएको एमएडब्लू हायर पर्चेज प्रालि नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा सञ्चालित हुँदै आएको छ । विराटनगरमा केन्द्रीय कार्यालय र काठमाडौंको त्रिपुरेश्वरमा शाखा कार्यालय रहेको कम्पनीले ग्राहकलाई सहज हायर पर्चेज सेवा प्रदान गर्दै आएको जनाएको छ ।











प्रतिक्रिया