रेसुङ्गा विमानस्थलमा सातामा चार उडान, भाडादर वृद्धि


काठमाडौ ।

गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएको छ। नेपाल वायुसेवा निगमले आइतबार, मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ–रेसुङ्गा उडान गर्ने तालिका सार्वजनिक गरेको हो।

ट्विनअटर जहाजको मर्मतपछि उडान थप गरिएको हो। साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण भाडादर पनि बढाइएको छ। नयाँ दर अनुसार काठमाडौँ–रेसुङ्गा रु १०,९०२ र रेसुङ्गा–काठमाडौँ रु १०,७०२ कायम गरिएको छ।

नियमित उडानसँगै यात्रु र पर्यटकको संख्या बढ्दै गएको छ भने अब ४५–५० मिनेटमै गुल्मी–काठमाडौँ यात्रा सम्भव भएको छ।