१२ समितिका सभापतिले लिए शपथ


काठमाडौँ।

प्रतिनिधिसभाका दश विषयगत समिति र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।

शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठाकुर, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी तथा विभिन्न राजनीतिक दलका संसदीय दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नवनिर्वाचित सभापतिहरूमा अर्थ समितिमा डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का रहेका छन्।

त्यस्तै महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन निर्वाचित भएका छन्।

संयुक्त समितिहरू अन्तर्गत संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा गणेश कार्की निर्वाचित भएका छन्।

शिक्षा समिति र निर्देशक सिद्धान्त सम्बन्धी समितिमा दुई–दुई जनाको उम्मेदवारी परेपछि ध्वनि मतका आधारमा निर्णय गरिएको जनाइएको छ। ती बैठकहरूको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यले गरेका थिए।

निर्वाचित १२ सभापतिमध्ये ११ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहेका छन् भने सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का चयन भएका छन्।

शपथपछि नवनिर्वाचित सभापतिहरूले आ–आफ्ना समितिको कार्यालयमा पदभार समेत सम्हालेका छन्।