सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर जात्रालाई दिए निरन्तरता

564
Shares

भक्तपुर ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिको बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाइएको छ । विश्व प्रसिद्ध बिस्केट जात्रा (बिस्काः) अन्तर्गत ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष २९ वर्षीय सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेड्नुभएको छ ।

कर्मी नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेश मन्दिरको दक्षिण फर्केको पाटीमा नाईके प्रधानले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ । 

कर्मीनाईकेले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झँदै धूप बत्ती बालेपछि तेलमा डुबाइराखेको फलामको सुइरोले हजारौँ मानिसहरूकै अगाडि सुजनको जिब्रो छेडिदिनु भयो । 

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बस्नु पर्दछ ।

जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको पाटीमा ठोकेपछि यो जात्रा सम्पन्न हुने गर्दछ ।

महालक्ष्मी मन्दिरमा  परिक्रमा समापन गरेपछि  जिब्रो छेडिएको सुइरो झिकिन्छ । सुइरो झिकेपछि घाउ भएको जिब्रोमा महालक्ष्मी मन्दिरभित्रबाट झिकिएको माटो राख्ने परम्परा रहेको छ । उक्त माटो राखेपछि जिब्रो छेड्दा लागेको घाउ ३ , ४ दिनमै निको हुने जनविश्वास रहँदै आएको छ । जसअनुसार उक्त प्रचलनले अहिलेसम्म निरन्तरता पाउँदै आएको हो

सवारी चालक सुजन यस अघि आठौं पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुनुहुन्छ । सुजनले परम्परा र संस्कृतिलाई निरन्तरता दिन र बुबा बुद्धकृष्णबाट प्रेरणा लिएर  जिब्रो छेडेको बताउनुभयो ।

बिस्काः जात्राको अवसरमा मध्यपुर थिमिको बोडेमा मौलिक शैलीको जिब्रो छेड्ने जात्रा सञ्चालन हुँदैं आइरहेको छ । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा रहेको छ ।

जात्राका कर्मी नायोसमेत रहनु भएका कृष्णचन्द्र बाग श्रेष्ठले ४०० वर्ष अगाडिदेखि यो जात्रा चल्दै आएको र अहिलेसम्म कुनै पनि परिस्थितिमा यो जात्रा नरोकिएको बताउनुभयो ।

मध्यपुर थिमि नगरपालिका ८ बोडेस्थित पाँचो गणेश मन्दिर परिसरमा प्रत्येक वर्ष वैशाख २ गते हजारौं भक्तजनको सामुन्ने जिब्रो छेडिँदै आएको छ ।