तातोपानी पर्यटन : नयाँ मोडेलमा किन नजाने ?

658
Shares

सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, जुम्ला हुँदै गोरखासम्म फैलिएका तातोपानी कुण्डहरू नेपालका अमूल्य प्राकृतिक सम्पदामध्ये पर्दछन् । यी तातोपानीहरू केवल स्नान वा मनोरञ्जनका लागि मात्र होइनन्, धार्मिक आस्था, स्वास्थ्य लाभ र पर्यटन विकासका दृष्टिले समेत अत्यन्त महत्वपूर्ण छन् । प्राकृतिक रूपमा निस्कने तातोपानीमा स्नान गर्दा छाला तथा स्नायुसम्बन्धी विभिन्न समस्यामा राहत मिल्ने विश्वास गरिन्छ, जसले यसलाई ‘प्राकृतिक उपचार केन्द्र’ को रूपमा समेत चिनाएको छ ।

नेपालमा रहेका यस्ता तातोपानीका स्रोतहरूको सही व्यवस्थापन र प्रवद्र्धन गर्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो टेबा पुग्न सक्छ । अहिले पनि धेरै ठाउँमा स्थानीयस्तरमा सामान्य संरचना बनाएर प्रयोग भइरहेका छन्, तर समग्ररूपमा हेर्दा अझै व्यवस्थित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउन सकिएको छैन ।

चीनको अनुभव ः
शैक्षिक एवं व्यावसायिक भ्रमणका क्रममा चीनका विभिन्न स्थानमा रहेका प्राकृतिक तातोपानी कुण्डका आसपास बनेका आधुनिक रिसोर्टहरू अवलोकन गर्ने अवसर मिलेको अनुभव निकै प्रेरणादायी छ । ती तातोपानीका स्रोतलाई खुला कुण्डका रूपमा मात्र नराखी सदुपयोग गरिएको छ
। स्थानीय सरकार र निजी पर्यटन व्यवसायीहरूको सहकार्यमा त्यहाँ आकर्षक रिसोर्टहरू निर्माण गरिएका छन् ।

ती रिसोर्टहरूमा तातोपानीका पोखरीहरू, विभिन्न तापक्रमका स्नान क्षेत्र, मनोरञ्जनका लागि वाटर किंगडमजस्ता संरचनाहरू विकास गरिएका हुन्छन् । पर्यटकहरूले एकै स्थानमा स्वास्थ्य लाभ, विश्राम र मनोरञ्जनको अनुभव लिन सक्छन् । यसबाट स्वदेशी तथा विदेशी पर्यटकबाट राम्रो आम्दानी हुने गरेको छ । साथै, स्थानीय बासिन्दाहरूका लागि रोजगारी सिर्जना हुनुका साथै स्थानीय सरकारलाई समेत राजस्व प्राप्त हुने गरेको छ ।

सम्भावित विकास मोडेल ः
नेपालमा पनि चीनको जस्तै मोडेल अपनाउन सकियो भने तातोपानी पर्यटनलाई नयाँ उचाइमा पु¥याउन सकिन्छ । यसका लागि निम्न पक्षहरूमा ध्यान दिन आवश्यक देखिन्छ ।

१. पूर्वाधार विकास ः सुरक्षित स्नानकुण्ड, रिसोर्ट, होटल, चेन्जिङ रुम, स्वास्थ्य केन्द्र आदि निर्माण ।
२. सरसफाइ र व्यवस्थापन ः पानीको गुणस्तर जाँच, सफा वातावरण, फोहोर व्यवस्थापन, सहज पहुँच, सडक, यातायात र संकेत प्रणाली सुधार ।
३. सार्वजनिक–निजी साझेदारी ः स्थानीय सरकार र निजी क्षेत्रको संयुक्त लगानी ।
४. प्रचारप्रसार ः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ र मार्केटिङ ।

नेपालका तातोपानी कुण्डहरू प्राकृतिक रूपमा अत्यन्त धनी भए पनि तिनको व्यावसायिक र पर्यटन उपयोग अझै सीमित छ । चीनजस्तो देशबाट सिकेर यदि हामीले योजनाबद्धरूपमा तातोपानी स्रोतहरूको विकास गर्न सक्यौं भने यसले स्वास्थ्य पर्यटन, धार्मिक पर्यटन र मनोरञ्जन पर्यटन सबैलाई सँगै अघि बढाउन सकिन्छ । यसबाट एकातिर स्थानीय स्तरमा रोजगारी सिर्जना हुनेछ भने अर्कोतर्फ देशको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्नेछ । अब आवश्यकता छ– दृष्टिकोण परिवर्तन, योजना निर्माण र प्रभावकारी कार्यान्वयनको ।

(लेखक ई. दुवाल चीनको उहान युनिभर्सिटीबाट विद्यावारिधि गर्दै हुनुहुन्छ ।)