काठमाडौं ।
साल २०८२ नेपाली पुरुष क्रिकेटले आईसीसी टी २० विश्वकप खेलेको स्मरणीय वर्ष हो । । भारत र श्रीलंकाद्वारा संयुक्त आयोजना गरेको टी २० विश्वकपमा नेपालको प्रदर्शनमा विश्वको ध्यान खिँचिएको थियो । विशेषगरी इंग्ल्यान्डविरुद्धको पहिलो खेलमा नेपालले सानदार ब्याटिङ गरेको थियो ।
समूह ‘सी’ मा रहेको नेपालले इङ्ल्यान्डसँग मात्र ४ रनले हार्नु परेको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ७ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । जवाफमा नेपालले १ सय ८० रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाउँदा कप्तान रोहित पौडेल र लोकेश बमले समान ३९ रनको योगदान दिएका थिए ।
तर, यसपछिका खेलमा भने नेपालले इंग्ल्यान्डविरुद्ध देखाएको प्रदर्शनलाई निरन्तरता दिन सकेन । नेपालले नयाँ टोली इटालीसँग १० विकेटले हार बेहोर्दा वेस्ट इन्डिजसँग ९ विकेटको पराजय भोगेको थियो ।
नेपालले आफ्नो समूहको चौथो खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो । यो नेपाली टोलीको १२ वर्षपछि विश्वकपमा पहिलो जित थियो । टी २० विश्वकप २०१४ मा नेपालले अफगानिस्तानलाई हराए यताको जित थियो ।
अन्य क्रिकेट प्रतियोगितामा भने नेपालको प्रदर्शन खासै राम्रो भएन । यस्तै, वर्षकै सुरुमा नेपालमै आयोजना भएको यु–१९ विश्वकपको एसिया छनोटमा पनि कमजोर प्रदर्शन गरेर नेपालले विश्वकप छानिने अवसर गुमाउनुपरेको थियो ।

महिला टोली विश्वकपमा पुग्न विफल
नेपाली महिला क्रिकेट टोलीले आफ्नै मैदानमा भएको टी २० विश्वकपको ग्लोबल छनोटमा राम्रो प्रदर्शन गर्न सकेन । समूहमा नेपालले जिम्बावेविरुद्ध मात्र जित हासिल गर्न सक्यो ।
नेपालले अन्य खेलमा नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्डसँग पराजय बेहोरेर विश्वकपमा छनोट हुन विफल भएको थियो । महिला टी २० विश्वकप आगामी १२ जुनदेखि ५ जुलाईसम्म इंग्ल्यान्ड र वेल्समा आयोजना हुँदैंछ ।
नेपाली टोलीले थाइल्यान्डमा भएको महिला एसिया कप राइजिङ स्टारमा सहभागिता जनाएको थियो । प्रतियोगितामा खेलेका तीनै खेलमा नेपाली टोलीले हार बेहोरेको थियो ।
यसैगरी महिला राष्ट्रिय क्रिकेट टोलीका लागि अर्को प्रतियोगिता पनि खास रहेन । युगान्डामा भएको चारदेशीय टी २० आई सिरिजमा नेपालले घरेलु टोली र हङकङलाई हराए पनि चौथो स्थानमा रहेको थियो ।











प्रतिक्रिया