काठमाडौं।
प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले सामाजिक क्षेत्रमा सक्रिय लायन्स क्लबले गरेका कामहरू सञ्चार माध्यमले पर्याप्त प्राथमिकता नदिएको गुनासो गरेका छन्।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जी को वार्षिक अधिवेशन (एनुअल डिस्ट्रिक्ट कन्भेन्सन) लाई ललितपुरको यला दरबारमा सम्बोधन गर्दै उनले मिडियाको भूमिकामाथि प्रश्न उठाएका हुन्।
सभामुख अर्यालले लायन्स क्लबले देशभर सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको भए पनि ती गतिविधिहरू समाचारमा नआएकोप्रति असन्तुष्टि जनाए। “यति धेरै काम भइरहेका छन्, तर मिडियाले किन देख्दैन? के उनीहरूलाई पैसा नपुगेर हो?” उनले प्रश्न गरे । उनले मिडियाले प्रायः राजनीतिक नेताहरूका गतिविधिमा मात्र ध्यान केन्द्रित गर्ने गरेको आरोप लगाउँदै सामाजिक क्षेत्रमा भइरहेका कामप्रति ध्यान नदिएको टिप्पणी गरे ।

“मिडिया नेताको पछाडि लाग्छ, सामाजिक कार्यक्रमको पछाडि किन लाग्दैन?” उनले भने। सभामुख अर्यालले लायन्स क्लबका सदस्यहरूले आफ्नै स्रोतबाट सामाजिक सेवा गर्दै आएको उल्लेख गर्दै यस्ता गतिविधि प्रचार–प्रसारमा नआउनु दुःखद भएको बताए। उनले व्यंग्यात्मक शैलीमा मिडियाले समाचार प्राथमिकता दिन पैसा वा मनोरञ्जन आवश्यक पर्ने हो कि भन्ने प्रश्न समेत उठाए। “मिडियालाई पैसा नदिएर समाचार नआएको हो कि? भ्युज बढाउन मनोरञ्जन चाहिने हो भने अब कार्यक्रमलाई त्यही अनुसार बनाउनु पर्ने हो?” उनले भने। उनको भनाइले कार्यक्रममा उपस्थित सहभागीबीच मिश्रित प्रतिक्रिया देखिएको थियो।
सभामुख अर्यालले आफू अहिले देशको जिम्मेवार पदमा रहेकाले कुनै पनि क्षेत्रमा कानुनी अड्चन भए सुधारका लागि प्रस्ताव ल्याउन आह्वान समेत गरे। “देशका जुनसुकै क्षेत्रमा कानुनी समस्या छन् भने संशोधनका प्रस्ताव ल्याउनुस्, म सहयोग गर्न तयार छु,” उनले भने। उनले लायन्स क्लबलाई सामाजिक सेवा मात्र नभई विभिन्न क्षेत्रका व्यक्तिहरूबीच सहकार्य गर्ने मञ्चका रूपमा चित्रण गरे।
कार्यक्रममा यस वर्ष लायन्ससँग आवद्ध भई प्रतिनिधिसभा निर्वाचनमा सहभागी भई विजयी भएका ६ जना व्यक्तिलाई सम्मान गरिएको थियो। सभामुख अर्यालेले देशमा अझै पनि स्वास्थ्य सेवा, प्रशासन र सेवा प्रवाहमा पहुँचको समस्या रहेको उल्लेख गर्दै नागरिकले सेवा लिन नेताको सिफारिस खोज्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए। “अस्पताल जाँदा सांसद वा नेता खोज्नुपर्ने अवस्था छ। अब नियमले काम हुने प्रणाली बनाउनु पर्छ,” उनले भने। उनले आगामी दुई वर्षभित्र प्रणाली सुधार गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे।“धेरै भाषण होइन, काम गर्न दिनुस्। देश बनाउनै पर्ने छ,” उनले जोड दिए।

उनले देश विकासका लागि सबै नागरिकले आफ्नो जिम्मेवारी महसुस गर्नुपर्ने आवश्यकता औंल्याउँदै श्रमिकदेखि चिकित्सकसम्म सबैले “मेरो देश” भन्ने भावना विकास गर्नुपर्ने बताए। सभामुख अर्यालको भनाइले सामाजिक संस्था, मिडिया र राज्यबीचको सम्बन्धबारे नयाँ बहस सुरु गराएको छ। कार्यक्रममा सहभागीहरूले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा गर्दै आएका गतिविधि प्रभावकारी भए पनि तिनको प्रचार–प्रसार कमजोर रहेको स्वीकार गरेका थिए।
कार्यक्रममा लायन्सका लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जी का डिष्ट्रिक्ट गर्भनर विधान जोशी लगायत लायन्सका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले लायन्सको महत्व, योगदानका बारेमा चर्चा गर्नुका साथै योगदानको कदर गर्दै दर्जन बढीलाई सम्मान समेत गरिएको थियो ।











प्रतिक्रिया