बेपत्ता आशिष कण्डेल १० दिनपछि मृत अवस्थामा भेटिए

एउटै परिवारमा भएको तीन खाले घटनाको पीडाले आफन्त र गाउँ नै शोकमा

99.36k
Shares

चितवन । 

अष्ट्रेलियावाट मास्टर्स गरेर केही दिन अगाडि मात्र नेपाल आएका बुटवल मिलनचोक स्थायी घर भएका ३० बर्षीय आशिष कण्डेल नुहाउने क्रममा देवघाट गंगा नदिको भुंवरीमा परि बेपत्ता भएको १० दिनका दिन मृत अबस्थामा भेटिएका छन् । 

केही बर्ष अघि अध्ययनका लागि बिदेश गएका र मास्टर्स गरेसंगै जागीर शुरु गरेका आशिष आमा सीता अर्याल कण्डेल एक्लै जस्तो हुनुभयो भनी नेपालमै काम गर्ने गरी डेढ महिना अघि मात्र नेपाल फर्किएका थिए । आफनो धर्म , संस्कृति र संस्कारमा निकै संवेदनशील भएर विश्वास गर्ने र सोही अनुसार कर्म पनि गर्ने गरेका आशिष चैत्र ४ गते चितवन पुगी ५ गते बिहान पवित्र धार्मिक स्थल देवघाट नुहाउन गएका थिए । 

केही बर्ष यता देखि काठमाडौ कलंकीमा स्थायी रुपमा बसोवास ब्यबस्था गर्नुभएकी आमा सीता अर्याल कण्डेलसंग चैत्र ५ गते बिहान नुहाएर बुटवल गै तीन दिन पछि फर्किने गरी मोवाइलमा कुरा गरेका आशिष देवघाट नदिमा नुहाउने क्रममा डुवुल्कीमारेसंगै भुंवरीले बेपत्ता बनाएको थियो । 

नुहाएर फर्किनेवेला फोन आउला भन्ने आशामा रहेकी आमाले पटक पटक आफैले फोन गर्दा नलागेको तर  एकै चोटी ५ गते दिउँसो प्रहरीले फोन उठाएर दुर्घटनामा परेको खबर सुनाएपछि आमा सीता कण्डेलको हालत अकल्पनीय हुने नै भयो  । नुहाउन जादा नदीको किनारमा खोलेर राखेका कपडा मोवाइल प्रहरीले लिएको थियो । शरीर तत्कालै भेटिएर एउटा प्रक्रियामा जानु र नभेटिनुमा थप पिडादायी हुदोरहेछ । पीडै पीडाकावीच सात दिन देखि कुशको शब बनाएर देवघाटमै दाहसंस्कार गरेर काज क्रिया प्रारंभ गरिएको थियो तर काजक्रियाकै क्रममा ढिकुरो नफुल्टाल्दै १० दिनका दिन नुहाएको स्थान भन्दा तीन किलोमिटर तल दियालो बंगाला दरवार अगाडि बगरमा मृत शरीर भेटियो ।

 हिन्दु धर्म संस्कृति परंपरा अनुसार ढिकुरो नफुल्टादै शरीर भेटिएको कारण क्रियाकर्ममा कुनै परिवर्तन गर्नुपरेन । तर मृत शरीरलाई  परिवारजनसहित देवघाटमै  दाहसंस्कार गरिएको थियो ।

नदीको किनारमा एक घण्टा ध्यान बसेर नदिमा पसेका आशिष भुंवरीमा पर्नासाथ हात माथि उठाएर गुहार त  मागेका थिए तर नुहाउन पुगेका अन्य भक्तजन मात्र होइन बोटेहरु पनि भुवरी परेको ठाउंमा  जान सक्ने अबस्था भएन । हेर्दा हेर्दै आशिष डुवेको देख्नेहरुले तत्काल प्रहरीलाई खवर गरे । प्रहरी तत्कालै उपस्थित भै उद्धार र खोजीमा लागेको थियो तर उद्धार संभव भएन ।  

पहिलो दिन देखि सात दिन  सम्म उद्धार खोज कार्यमा दख्खल राख्ने सशस्त्र प्रहरीको टोली र आफन्तहरु खोजी कार्यमा निरन्तर लागेपनि आशिषको शरीर भेटिएको थिएन । तालीम प्राप्त सशस्त्र प्रहरीले उद्धारमा कुनै कमी हुन दिएको थिएन  । तर सात दिन सम्म पनि आशिषको शरीर नभेटिएपछि असैह्य पिडा र तनावकावीच परिवारले  काजक्रिया प्रारंभ गरेका थिए । काजक्रिया प्रारंभ गरेपनि  आशिषका मामाद्धय  कृष्ण अर्याल र नारायण अर्याल सहित आफन्त र दाजुभाइ शुभेच्छुकहरु निरन्तर खोजी कार्यसँगै कहिले कहाँ भेटिन्छ भनी ज्योतिष विद्याको सहयोग लिने कार्यमा  व्यस्त नै  थिए । 

आशिषको दिदी   आरती धेरै जसो प्रशिद्ध धार्मिक अनुष्ठान क्षेत्र इण्डियामा बस्ने गरेकी थिइन् भने  बुवा  रामकृष्ण कण्डेलको २९ बर्ष अगाडि नै बुटवल खानेपानी अफिसवाट ६ दिने ट्रेडिङका लागि काठमाडौ जाने क्रममा नौविसे नजिक बस दुर्घटनामा परी दुखद निधन भएको थियो । छोराछोरी सानै छंदा श्रीमान गुमाएकी आमा सीताका  लागि छोरा आशिषको यो घटनाले असैहय मात्र होइन पटक पटक बेहोस हुने , खाना खानै नसक्ने र आखाले हेर्नै नसक्ने खालको पीडा बल्झिदो छ ।  

दिदी पनि प्रायः बाहिर, आफू पनि बाहिर हुदा आमाले एक्लो महशुष गर्नुभयो भन्ने आफैलाई लागेर आशिष नेपालमै काम गर्ने , आमासंगै बस्ने योजनाका साथ नेपाल फर्किएका थिए । यो दुखद अकल्पनीय घटनाले  कण्डेल परिवार र आफन्तजनको आशुले सिंगो  घरनै भिजे जस्तो भएको छ । अब परिवार पनि जोडने , आमाको काखमा बसेर नेपालमै काम गर्ने गरी नेपाल आएको छोरालाई  गुमाउनुपर्दाको पीडाले ती आमालाई त भन्नै नसक्ने खालको बज्रपात गराएको छ भने आफन्तजन , सिंगो कण्डेल परिवारलाई दैबले पनि  त्यस्तो लक्का जवान युवालाई बिना कारण  कसरी परिवारवाट छुटायो भन्ने  प्रश्न दैनिक जसो रसाइरहेका आखावाट उब्जिरहेको छ ।

 त्यति मात्र कहाँ हो र आशिषका हजुर वुवा समाजसेवीका रुपमा परिचित कुलानन्द कण्डेल  बुटवल घरवाट हिड्नुभएको ३५  बर्ष भैसकेको छ तर उहां अहिले सम्म जीवित हुनुहुन्छ वा हुनुहुन्न कुनै जानकारी छैन ।उहां अहिले सम्म बेपत्ता नै हुनुहुन्छ ।  स्थायी घर गुल्मी विरवास बाख्रेवाट बुटवल ओर्लिएपछिको केही बर्षमै  घरको मूली ब्याक्ति हराउनु, त्यसको  दुइतीन वर्षमा  खानेपानीमा ओभरसियरपदमा  कार्यरत  रामकृष्ण कण्डेलको दुर्घटनावाट मृत्यु र अहिले आशिषको गंगा नदिमा डुवेर  भएको मृत्युले सिंगो परिवारलाई नै  अधुरो  बनाएको छ ।  

नदिको किनारमा एक घण्टा मेडिटेशन गरेर नुहाउन पसेका आशिष पहिलो चरणमा नुहाएर गंगा नदिवाट बाहिर आएका थिए अनि पुनः मेडिटेशन गरेर नुहाउन नदिमा प्रवेश गरेका थिए । दोस्रो पटक डुवुल्की मारेर नुहाएपछि पनि उनलाई  अझै चित्त बुझेन अनि उनी नदिको अझै पल्तिर सम्म  पुगेर डुवुल्की मार्दा भुँवरीमा परेको प्रत्यक्षदर्शीले बताएको भनी प्रहरीले जानकारी गराएको थियो । उद्धार संवन्धी तालीम सशस्त्र प्रहरी र आफन्तजनले आशिषको शरीर खोज्न गरेको मेहनत र  कण्डेल परिवारमा परेको बज्रपातका समयमा शान्त्वना दिन  घरमा पुगेका सबै आफन्तजन, शुभेच्छुकलाई शोकमा डुवेको परिवारले बिशेष  धन्यवाद दिएको छ । अति नै असैहय पीडामा रहेकी काठमाडौ त्रिपुरेश्वर खानेपानी कार्यालयमा कार्यरत आशिषकी आमा सीता अर्याल कण्डेल र  आशिषकी दिदी आरती सहित सिंगो कण्डेल परिवार र  आफन्तजनमा शोकलाई शक्तिमा बदल्ने  शक्ति मिलोस् भन्दै आशिष बाबु प्रति श्रद्धासुमन । 

Skip This