एसियन कपमा ४६ वर्षपछि बंगलादेश छनोट


काठमाडौं।

दक्षिण एसियाली टोलीबाट बंगलादेशले अस्टे«लियामा हुने एएफसी महिला एसियन कपको २१ औं संस्करणमा स्थान सुरक्षित गरिसकेको छ । छनोटअन्तर्गत समूह सी मा रहेको लगातार दोस्रो जिन हासिल गरेर बंगलादेश अर्को वर्षमा हुने एसियन कपको लागि छनोट भएको हो । बंगलादेशले पहिलो खेलमा बहराइनलाई ७–० र दोस्रो खेलमा म्यानमारलाई २–१ ले हराएको हो ।

अन्तिम खेलमा नतिजा आफ्नो पक्षमा नआएपनि बंगलादेशले ‘हेड टु हेड’मा बाँकी तीन टोलीलाई पछाडि पार्ने समीकरण बनेकोले नै छनोट हुने तय छ । बंगलादेशले समूहको अन्तिम खेलमा शनिबार तुर्कमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । दुई खेल सकिँदा तुर्कमिनिस्तान र बहराइनको समान एक अंक छ भने म्यानमारले तीन अंक जोडेको छ ।

बंगलादेशी फुटबलले ४६ वर्षको लामो प्रतीक्षापछि एएफसीको मुख्य प्रतियोगिता खेल्न लागेछ । सन् १९८० मा बंगलादेश पुरुष राष्ट्रिय टोलीले एसियन कप खेलेको थियो ।

नेपालको भाग्य शनिबार तय हुने

दक्षिण एसियाकै अर्को टोली नेपाल पनि पहिलो पटक एसियन कपमा खेल्न एक जित टाढा रहेको छ । नेपाली महिला राष्ट्रिय टोली समूह एफ अन्तर्गत दुई खेलमा सानदार जित निकालेर ऐतिहासिक क्षणको पर्खाईमा रहेको छ ।

नेपालले पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले हराएको थियो । अन्तिम खेल शनिबार आयोजक टोली उज्बेकिस्तानसँग जितेमा नेपालले फुटबलमा ऐतिहासिक सफलता प्राप्त गर्नेछ ।

तर, यस समूहमा उज्बेकिस्तानले पनि दुई खेलमा शानदार जित हासिल गरिसकेको छ । उज्बेकिस्तानले श्रीलंकालाई १०–० र लाओसलाई ७–० ले हराएको थियो । यही प्रदर्शनले गर्दा नेपालको लागि उज्बेक टोली बाधक बन्न सक्ने संभावना पनि छ ।

यदि, बराबरी भएमा फेयर प्लेको आधार लिनेछ यदि, त्यो पनि बराबरी भएमा खेल पेनाल्टी शूटआउटमा जाने बताइएको छ । यसै समूहमा दक्षिण एसियाको एक टोली श्रीलंका पनि रहेको छ । जसले दुई खेलमै १८ गोल बेहोरेर प्रतियोगिताबाट बाहिरिसकेको छ ।

भारतको सामना थाइल्यान्डसँग

दक्षिण एसियाली टोली भारत समूह बी मा थाइल्यान्डसँग बराबरीमा रहेको छ । दुबै टोलीले ३–३ खेल खेल्दा समान ९ अंक र समान गोलभिन्नता (२२) रहेको छ । यी दुई टोलीबीच शनिबार नै खेल हुनेछ । यस खेलमा जुन टोली जित्छ त्यही टोली एसियन कपको लागि छनोट हुनेछ ।

पाकिस्तानको संभावना भने छैन

दक्षिण एसियाकै एक टोली पाकिस्तान समूह डी मा रहेको छ । समूहमा दुई खेल खेलेको पाकिस्तानको ३ अंक रहेको छ । चाइनिज ताइपेइसँग ८–० ले हारेको पाक टोलीले अन्तिम खेलमा किर्गिस्तानलाई ठूलो अन्तरले हराउनु पर्ने हुन्छ ।

अर्को खेलमा चाइनिज ताइपेइ इन्डोनेसियासँग ठूलो अन्तरले हार्नु पर्ने हुन्छ । तर, यो समीकरण असहज देखिएको हुँदा पाकिस्तानको एसियन कप खेल्ने लक्ष्य पुरा नहुने संभावना बढी रहेको छ ।