काठमाडौं।
रोजगारीको खोजीमा रहेका युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङ स्थायी घर भई हाल काठमाडौं कामपा ७ बसोबास गर्दै आएका १९ वर्षीय दर्शन खड्का र गोरखा स्थायी घर भई काठमाडौं तारकेश्वर नगरपालिका-३ मा बसोबास गर्दै आएका ३७ वर्षीय सरेश गुरुङ रहेका छन्।
पक्राउ मध्ये दर्शन खड्काले इटली पठाइदिने भन्दै तीन जना व्यक्तिबाट छ लाख रुपैयाँ लिएको र सरेश गुरुङले अजरबैजान लैजाने भन्दै दुई जना पीडितबाट चार लाख रुपैयाँ लिएर लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन बनेपछि पीडितहरूले प्रहरी समक्ष उजुरी दिएका थिए।
उक्त उजुरीका आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाईएको प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।
प्रतिक्रिया