डोल्पामा भारी हिमपात, ६ भारतीय पर्यटक सम्पर्कविहीन


काठमाडौँ ।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्।

शनिबार उक्त क्षेत्रमा घुम्न पुगेका ६ जना भारतीय पर्यटक भारी हिमपातका कारण फसेको जानकारी जिल्ला प्रशासन कार्यालय, दुनैमा राति ९ बजे प्राप्त भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फसेका पर्यटकमध्ये प्याली कोल्ली, ममता हल्दार र जजला त्रिवेदी कुमारलगायत रहेका छन्। यद्यपि, सञ्चार सम्पर्कमा समस्या भएका कारण सबै पर्यटकको पूर्ण विवरण प्राप्त हुन सकेको छैन।

घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर हेलिकप्टरमार्फत उद्धारका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

फसेका पर्यटकको उद्धार तथा थप विवरण संकलनका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको प्रहरीले जनाएको छ।