रास्वपाले स्थानीय तह निर्वाचनका उम्मेदवारका लागि आवेदन खुलायो


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ।

उम्मेदवार छनोटसम्बन्धी रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि गठित समितिको बैठकले आवेदन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। उम्मेदवार छनोटलाई व्यवस्थित र प्रभावकारी बनाउन बैठकले विभिन्न उपसमितिसमेत गठन गरेको छ।

पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको अध्यक्षतामा काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रियासँग सम्बन्धित विभिन्न जिम्मेवारी बाँडफाँट गरेको छ।

बैठकले क्यान्डिडेट क्लबको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएको छ। त्यसैगरी, प्रविधितर्फ सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोसिमा कार्की र क्षमता विकास समन्वयमा टासी ल्हाजोमलाई जिम्मेवारी तोकेको छ।

यसैगरी, व्यवस्थापनको जिम्मेवारी रहबर अन्सारी र प्रचारप्रसारको जिम्मेवारी मिलन लिम्बूलाई दिइएको छ।

रास्वपाले विभिन्न जिम्मेवारी बाँडफाँट गर्दै उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउने तयारी गरेको छ।