नेपालले हङकङलाई गोल गर्न दिएन


काठमाडौं। 

नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । बिहीबार हङकङको राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । खेलमा पाहुना टोली नेपाल दबाबमा खेलिएको थियो । 

हङकङको लगातार आक्रमणलाई नेपालका कप्तान गोलकीपर किरण चेम्जोङले विफल तुल्याएका थिए । नेपाली टोलीबाट एक पनि गतिलो आक्रमण हुन सकेन । 

नेपाल दोस्रो हाफको इन्ज्युरी समयमा भने १० खेलाडीमा सिमित भएको थियो । मणि लामा दोस्रो पहेंलो कार्ड पाएपछि मैदानबाट बाहिर जानु परेको थियो । यस खेलमार्फत् सिर्जन राज गौतमले अन्तर्राष्ट्रिय खेलमा डेब्यु पनि गरे । 

नेपालले अब एसियन कप छनोटको समूह चरणको खेलमा जुन १० मा लाओसको सामना गर्दैछ । नेपाल पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको थियो । यस समूहमा अर्को एक टोली भियतनाम रहेको छ । यसै छनोटमा हङकङले सोही दिन भारतसँग खेल्नेछ ।