टी.बी स्मृति यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता: विपिन चम्किँदा रौनकको कीर्तिमान


सुर्खेत ।

 सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति प्रथम १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो दिन नेपाली क्रिकेटको इतिहासमा गर्विलो कीर्तिमान बनेको छ ।

लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले गण्डकी प्रदेशविरुद्धको खेलमा १ सय १७ बलको सामना गर्दै १६ चौका र १६ छक्काका साथ घरेलु क्रिकेट इतिहासकै सर्वाधिक २ सय १७ बनाउँदै कीर्तिमान कायम गरेका हुन् । 

वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जीत दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसंग मिलेर २ सय ४४ रनको बलियो साझेदारी पूरा गरे ।

गण्डकीले श्रीवास्तवको दोहोरो शतकको मद्दतमा लुम्बिनीको पारी ४५ ओभर ४ बलमा अलआउट हुनुअघि ४ सय ४ रनको कठिन लक्ष्य खडा गर्न सफल भयो ।

शैलेश काप्mलेको बलमा समिर न्यौपानेबाट क्याच आउट हुनुअघिसम्म रौनकले १ सय ८५ को स्ट्राईक रेटमा आक्रामक ब्याटिंग गर्दै प्रतियोगिताकै रौनक बढाए्।

लुम्बिनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७-१७ रनको थप्दा ४७ रन बोनस स्वरुप प्राप्त भयो ।

गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले एक–एक विकेट लिए ।

४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट हुन पुग्यो ।

गण्डकीका अनिष राउतले नटआउट २२, प्रतीक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किदा अरुले कसैलेपनि दोहोरो अंक कटाउन सकेनन् ।

लुम्विनीका शुभम् खनलले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए ।

 विपिनको धारिलो स्पिन

उता, कालु∙चोक मैदानमा भएको अर्को खेलमा घरेलु टोलीका कप्तान विपिनप्रसाद शर्माले आप्mनो धारिलो स्पिनलाई निरन्तरता दिंदा पाहुना टोली सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै प्रतियोगिता तालिकामा २ अंक चढाउन सफल भएका छन् ।

पहिलो खेलमाझैं  निकै अनुशासित र किफायति बलिंग गरेका कप्तान विपिनले ४ ओभर बलिङ  गर्दा २ ओभर मेडन राख्दै २ रन खर्चिएर ५ विकेट लिन सफल भए । 

१० औं ओभरमा बलिङ  गर्न आएका उनले १ रन मात्रै खर्चिए । १२औं ओभरमा १ रन दिएर १ विकेट लिएका उनले १४औं ओभरमा मेडनसहित १ विकेट लिए भने १६औं ओभरमा मेडनसहित ३ विकेट लिए।

विपिनको जिम्मेवारीपूर्ण बलिङ कै कारण ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट हुन पुग्यो । जसमा विजय बोहराको ३ तथा नवीन न्यौपानेकोे २ विकेट महत्वपूर्ण रह्यो।

सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

यस्तै अविरल बिकले ९, आहन थलालले ५ र हिमाल दुयालले २ तथा सचिन भट्टले १ रन बनाए । सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो । 

५६ रनको झिनो लक्ष्य लिएर जवाफी व्याटिङ थालेको कर्णालीले १८ ओभर ३ बलमा आप्mना ५ विकेट सुरक्ष्ँित राख्दै प्रतियोगिताको पहिलो जीतसहित अंक तालिकामा खाता खोल्न सफल भयो ।

कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाए भने नमनसिंह थापा र भूपेन्द्रजंग शाहीले नटआउट समान ९ रन बनाए । नवीन न्यौपानेले ७ रन बनाउँदा ओपनर कौस्तुभ खड्काले ४ रन बनाए भने कैलाश खड्का र रोशन शाहीले समान १ रन बनाए । 

लगातार दुई हार खेपेको सुदूरपश्चिम भने अंकविहीन छ । यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग ७ विकेटले पराजित भएको थियो ।

दोश्रो दिनको खेल सकिंदासम्म एक एक खेल खेलेर समान दुई दुई अंक जोडेकामध्ये कोशी पहिलो र मधेश दोश्रो स्थानमा रहँदा दोश्रो खेलबाट खाता खोलेको कर्णाली तेश्रो क्रममा रहेको छ ।

प्रतियोगिता अन्तर्गत भोलि २१ गते हुने खेलमा कोशी र लुम्बिनी भीड्दा बाग्मति र कर्णालीले प्रतिष्पर्धा गर्नेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) आयोजनामा ३१ गतेसम्म चल्ने प्रतियोगितामा ७ वटै प्रदेशका टोली सहभागी छन् ।