काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कार्यपालिकाको बैठकको निर्णयविपरीत आफूखुसी विषयगत समितिका ४ जना संयोजकलाई हटाएपछि महानगरमा वडाअध्यक्ष र मेयर बीचको द्वन्द्व उत्कर्षमा पुगेको छ ।
त्यसको असर शुक्रवार नियुक्त गरिएका संयोजकहरूमा परेको छ । नवनियुक्त ४ संयोजकहरूमध्ये नेपाली कांग्रेसका २ जनाले समितिमा नबस्ने निर्णय गरेका छन् भने एमालेका एक जना संयोजकमाथि पनि संयोजकको जिम्मेवारी नलिन दबाब परेको छ । काठमाडौं महानगरपालिकको २०७९ असार १० गते बसेको चौथो कार्यपालिकाको बैठकले १२ विषयगत समिति बनाउने निर्णय गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडलको सिफारिसपछि समिति गठन भएको थियो ।
मेयर साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गराउन सहयोग गरेको र आफूविरुद्ध टीकाटिप्पणी गरेको लगायतका विषयमा असन्तुष्टि पोख्दै कामपाका प्रवक्ता एवं सूचना प्रविधिका संयोजक नविन मानन्धरसहित ४ जनालाई हटाएको हो ।
मेयर साहले काठमाडौं महानगरपालिका नगर कार्यपालिका कार्य सम्पादन नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम १ बमोजिम नयाँ संयोजक तोक्नुभएको हो । स्रोतका अनुसार समितिमा मनोनयन गरेका ४ मध्ये ३ जनाले नियमअनुसार जिम्मेवारी नदिएको कारण समितिमा नबस्ने अडान लिएका छन् ।
पार्टी नेतृत्वले समेत मेयर साहको मनपरी नियुक्तिमा नबस्न निर्देशन दिएको छ । मेयर साहले शुक्रवार सूचना प्रविधि, सुशासन, सम्पदा तथा पर्यटन र विधायन समितिमा क्रमशः वडानम्बर १७ का अध्यक्ष नविन मानन्धर, वडा नं – २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नं -८ का अध्यक्ष आशामान संगत र वडा नं – २३ का अध्यक्ष मचाराजा महर्जनलाई हटाएर नयाँ संयोजक तोक्नुभएको थियो ।
सूचना समितिमा वडा नं ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, सुशासन समितिमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा वडानम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र विधायन समितिमा वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् । संयोजकमध्ये २ नेपाली कांग्रेस, १ एमाले र एक जना रास्वपाका हुन् । उपचुनावबाट निर्वाचित भएकी श्रेष्ठले विधायन समितिका संयोजक लिने वा नलिने भन्ने विषयमा निर्णय भएको छैन ।
स्रोतका अनुसार मेयर बालेनले आफ्नो आलोचना गर्ने वडाध्यक्षहरूलाई अघोषित रूपमा कारबाहीस्वरूप संयोजकबाट हटाउनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत प्रकरणमा आफूविरुद्ध खुलेर उत्रिएकाहरूलाई उहाँले निशाना बनाउनुभएको हो । मेयर साहले समितिमा संयोजक नियुक्ति गरेपछि तीनजना तत्काल जिम्मेवारी नलिने भएका छन् । वडा नं १७ का वडा अध्यक्ष नविन मानन्धरले आफ्ना दुई साथीहरू मेयर साहले बनाएको समितिमा नबस्ने जानकारी गराएको जिकिर गर्दै भन्नुभयो–‘शुरूमा नियुुक्ति गर्दा कार्यपालिका बैठकबाट भएको थियो ।
अब हटाउन र राख्न कार्यपालिकाले निर्णय गर्नुपर्छ । मेयरको एकलौटी निर्णयले हुँदैन । मेयर साहले गरेको निर्णय स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत पर्दैन ।’ उहाँले यस विषयमा पार्टीसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो । शुक्रवार बसेको नेपाली कांग्रेसनिकट वडाअध्यक्षको बैठकले तत्काल समितिमा नजाने अनौपचारिक निर्णय गरेको थियो । वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले पार्टी महासचिव गगन थापा, जिल्ला सभापति सबुज बानियाँ र महानगर कमिटिका अध्यक्ष निलकाजी शाक्यले मेयर साहले गरेको गलत निर्णयको विरोधमा अघि बढ्न सुझाव दिएको बताउनुभयो ।
कामपामा नेपाली कांग्रेसको १८, एमाले १२, नेकपा एस १ र रास्वपाको १ जना वडा अध्यक्ष छन् । हालै सूचना प्रविधि समितिमा नियुक्ति हुनुभएका वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले कानुन अनुसारमात्र संयोजकको जिम्मा लिने बताउनुभयो । तर, उहाँले आफू बस्ने वा नबस्ने भन्ने विषयमा कुनै निर्णय गर्नसक्नुभएन । भन्नुभयो–हेरांै के हुन्छ । एक दुई दिनमा निर्णृय गर्नेछांै । स्रोतका अनुसार एमालेका नेताले कानुनविपरीत गरेको निर्णयमा सहभागी नहुन वडा अध्यक्ष प्रजापतिलाई निर्देशन दिएका छन् । कामपाका पूर्वमेयर विद्यासुन्दर शाक्यले नियमविपरीत नियुक्ति गरिएका संयोजक प्रजापति तत्काल समितिमा नबस्ने निर्णय भएको जानकारी दिनुभयो ।
उपमेयर डंगोलको भूमिका देखिएन
काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलको भूमिका प्रायः शून्य छ । मेयर बालेन्द्र साहले विषयत समितिका संयोजक परिवर्तन गर्दा उपमेयर डंगोलसँग कुनै सल्लाह लिएको पाइएन । कामपा स्रोतका अनुसार केही दिनयता मेयर साह र उपमेयर डंगोलबीच बोलचाल बन्द जस्तै छ ।
केही दिनअघि सीपमेला तयारी बैठकमा मेयर साहले उपमेयर डंगोललाई बोलाउनुभएन । उच्चस्रोतका अनुसार बैठकमा नबोलाएपछि आक्रोशित उपमेयर डंगोलले मेयरका स्वकीय सचिव भुपदेव साहसँग सोधीखोजी गर्नुभएको थियो ।
मेयर साहले ४ जना संयोजक परिवर्तन गरेको विषयमा एमालेको नेतृत्व गरिरहनुभएकी उपमेयर डंगोलले कुनै चासो देखाउनुभएको छैन ।
शिक्षा र स्वास्थ्य समितिका संयोजक एवं कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले एमाले र नेपाली कांग्रेसका वडा अध्यक्षमाथि भएको ज्यादतीको विरुद्धमा निर्णय भइनसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मेयर साहले कानुनविपरीत गरेका सबै निर्णयको विरुद्धमा मिलेर जानुको विकल्प छैन ।
तर, उपमेयर डंगोलले अब के गर्ने ? भन्ने विषयमा कुनै निर्णय लिन सक्नुभएको छैन ।’ प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गराउन महत्वपूर्ण भूमिका खेल्दा वाहवाही कमाउनुभएकी उपमेयर डंगोलको भूमिका फेरि शून्य प्रायः भएको छ ।
मेयर साहले पछिल्लो समय गरेको गतिविधिका विरुद्धमा उपमेयरको प्रतिक्रिया लिन खोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन । स्रोतका अनुसार उहाँले प्रायः फोन उठाउनु हुन्न । यसअघि पनि नेपाल समाचारपत्रले मोबाइलमा गर्दा उहाँले उठाउनुभएको थिएन ।
प्रतिक्रिया