आर्थिक अभावमा लोपोन्मुख सुरेल भाषाको पढाई बन्द

2.07k
Shares

दोलखा ।

लोपोन्मुख सुरेल जातिको भाषा संरक्षणको लागि स्थानीय विद्यालयमा सुरेल भाषाको पाठ्यक्रम समावेश गरी पढाउन सुरु गरिएको भएपनि आर्थिक अभावको कारण अहिले त्यो कार्यक्रम बन्द भएको सुरेल जाति उत्थान समाजले जनाएको छ ।

२०७९ असारबाट दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ सुरीमा रहेको बिष्णुस्वरी प्राथामिक विद्यालय (प्रावि) मा सुरेल भाषाको स्थानिय पाठ्यक्रम सुर्च लो (सुरेल भाषाका कुरा) को पढाई हुदै आएको थियो । सुर्च लो भाषा आयोगले परिक्षणको रुपमा २०७८ सालमा तयार गरिदिएको पाठ्यक्रम हो ।

सुरेल बालबालिकाहरु अध्यन गरिरहेको विद्यालयको कक्षा १ देखि ५ सम्म सुरेल भाषाको सुर्च लो पाठ्यक्रम समावेस गरी पढाई भै रहेकोमा अहिले शिक्षकलाई दिने पैसाको अभावका कारण त्यो कार्यक्रम बन्द भएको सुरेल भाषाका शिक्षक घनश्याम सुरेलले बताउनु भयो । दुई बर्षसम्म प्रत्येक कक्षामा एउटा कक्षा सुर्च लो पाठ्यक्रम समावेश गरी पढाईएको भएपनि अहिले बन्द गर्नु परेको सुरेल भाषाका शिक्षक घनश्याम सुरेलको भनाई छ ।

विद्यालयमा सुरल भाषाको पाठ्यक्रम समावेश गरी पढाउन गौरीशङ्कर गाँउपालिकाले तीन लाख रुपैया उपलब्ध गराएकोमा उक्त रकमबाट मासिक १५ हजार तलब दिने गरी एक जना शिक्षक राखेर दुई बर्षसम्म पढाईएको सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेलले बताउनु भयो । पालिकाले थप सहयोग नगरेको र अन्य कतैबाट पनि स्रोत सुनिश्चित गर्न नसकिएका कारण दुई बर्षपछि पढाई बन्द गर्नु परेको समाजका अध्यक्ष प्रल्हाद सुरेलले बताउनु भयो ।

गौरीशङ्कर गाँउपालिकाका अध्यक्ष विश्वास कार्की भने पालिकाले सहयोग रोकेको नभै सुरेल भाषाको नयाँ पाठ्यक्रम पनि नभएको र विद्यार्थी पनि नयाँ नथपिएकोले हाललाई सहयोग बन्द गरिएको बताउनु हुन्छ । पाठ्यक्रम एउटामात्र भएकोले त्यो सबै विद्यार्थीले पढिसकेका छन् अध्यक्ष कार्कीले भन्नु भयो– पढिसकेको कुरालाई पुनः दोहोराउनु उपयुक्त नहुने र नयाँ विद्यार्थी समेत नभएकोले हाललाई सहयोग बन्द गरिएको हो ।

नयाँ पाठ्यक्रम बनेर आयो भने वा नयाँ विद्यार्थी थपिए भने पालिकाले सहयोगलाई निरन्तरता दिने पालिका प्रमुख कार्कीको भनाई छ । विशेषगरी अन्तरजातिय विवाहका कारण भाषा लोप हुदै गएको अवस्थामा विद्यालयमा सुरेल भाषाको पाठ्यक्रमनै राखेर पढाउदा भाषा संरक्षणमा निक्कै सहयोग पुगेकोले यसलाई निरन्तरता दिन सकिए राम्रो हुने अध्यक्ष प्रल्हाद सुरेलको भनाई छ ।

सुरी थातथलो रहेको सुरेलहरुको झण्डै १५ जना चेली अन्य जातीसंग विवाह गरेर गएको र सुरेल युवाले झण्डै २० जना अन्य जातीको महिलालाई विवाह गरेर ल्याएको सुरेल अगुवा हर्क बहादुर सुरेलले बताउनु भयो । सुरी मुख्य थलो भएको सुरेलहरुको जनसंख्या जम्मा दुई सय ३१ रहेको छ । अहिले बाल कक्षा देखि १० कक्षासम्म १५ जना सुरेल विद्यार्थी रहेको सुरेल जाति उत्थान समाजले जनाएको छ ।

Skip This