काठमाडौं ।
बूढानिलकण्ठ फाइट नाइटको मुख्य स्पर्धामा नेपालका मिलन तामाङ विजयी भएका छन् । बूढानिलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा भएको पुरुष ६० केजीको प्रतिस्पर्धामा मिलनले थाइल्यान्डका असादा रक्मितलाई दोश्रो राउन्डमा नकआउट गरेका थिए । मिलनले १ लाख नेपाली रुपैयाँ र असादाले ९ सय अमेरिकी डलर नगद पुरस्कार हात पारे ।
गोल्फुटारमा भएको प्रतियोगिताको पुरुष ५२ केजीमा नेपालका योमन मोक्तानले नेपालकै कुञ्जन घिमिरेलाई हराए । ५४ केजीमा नेपालका पुरनजित राईले भारतका स्खेम्बोर्लाङ मार्वेनलाई पाखा लगाए । ७० केजीमा नेपालका महेन्द्र गजमेरले नेपालकै रोनिश सुब्बालाई पन्छाए ।
नेपाल राष्ट्रिय मुवाँथाईं संघको प्राविधिक सहयोग तथा गलाक लाइफ स्टायलको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५७ केजीमा नेपालका गुमन घर्ती मगरले जित हात पारे । उनले भारतका बरेम्रोन डेनियलमाथि जित हासिल गरे । बूढानिलकण्ठ नगरपालिकाको सहयोगमा भएको प्रतियोगिताको महिला ६० केजीमा नेपालकी सारिका धमला तथा ५१ केजीमा नेपालकै सुस्मिता थापा विजयी भए । सारिकाले भारतकी जेनिस्ता निन्गोम्बम तथा सुस्मिताले भारतकै गीता नर्जिनारी विरुद्ध जित निकाले ।
प्रतिक्रिया