संविधानलाई जोखिमतर्फ धकेल्ने प्रयास नगर्न पूर्वराजालाई नागरिक अगुवाको चेतावनी


काठमाडौँ।
नागरिकअगुवाहरुले संविधानलाई जोखिमतर्फ धकेल्ने प्रयास नगर्न पूर्वराजालाई चेतावनी दिएका छन्।

सोमबार मोहना अन्सारी, राजन कुइँकेल, कनकमणि दीक्षित, दिनेश त्रिपाठी, रिता परियार, सुशील प्याकुरेल, चरण प्रसाईं, हिरा विश्वकर्माले संयुक्त विज्ञप्ति जारी गरी
शाहको राजनीतिक सक्रियताले नेपाललाई संसारसामु कमजोर पार्ने खतरा रहेको जनाएका छन्। 

“आफ्नै पूर्वजले मुलुकप्रति गरेको योगदान समेत लत्याउनेगरी, छिमेक र संसारसामु नेपाललाई कमजोर पार्ने खतरा सहित ज्ञानेन्द्र शाह राजनीतिक मैदानमा उत्रिएका छन्। छिमेक सम्बन्ध तथा बृहत् अन्तर्राष्ट्रिय मामिला पेचिलो बन्दै गएको यस बखत ज्ञानेन्द्रको गतिविधिले नेपालको भूराजनीति थप कमजोर बनाउने अभीष्ट बोकेको छ,” उनीहरूले भनेका छन्।

व्यक्तिगत स्वार्थका लागि शाहले विदेशी पुरातनपन्थीको शरण र आडमा नेपालको संविधानलाई लत्याउन खोजेको उनीहरूको आरोप छ। उनी कसैगरी त्यो ठाउँमा पुगेमा नेपाललाई बन्द समाजमा पुर्‍याउने नागरिक अगुवाको ठहर छ। 

उनीहरूले भनेका छन्, “अधिनायकवादी सोच बोकेका उनी (ज्ञानेन्द्र) सिंहासनमा पुनःस्थापन हुन खोज्दै छन् र उनी त्यो ठाउँमा पुगेमा उही अहंकारी र निरंकुश शैली अपनाउनेछन् भन्नेमा कुनै शंका छैन। दक्षिणएशियाकै ‘खुला समाज’ का रूपमा रहेको नेपाललाई ३० वर्षे पञ्चायतकाल या एक वर्षको ‘असोजतन्त्र’ को बन्द समाजमा पुर्‍याउनेछन्।”

यसअघि असफल प्रत्यक्ष शासन गरिसकेका शाहले अहिले फेरि लोकतान्त्रिक व्यवस्थाले दिएको स्वतन्त्रताको दुरुपयोग गरिरहेको नागरिक अगुवाको ठम्याइ छ। 

“एक दशकयता नेपाल संघीय, गणतान्त्रिक, धर्मनिरपेक्ष राज्यमा परिणत भइसक्यो र एक मात्र चुनौती यही संविधान अन्तर्गत जनतालाई सुशासन र समृद्धि दिलाउने हो,” उनीहरूले भनेका छन्, “यसअघि पनि संसदीय व्यवस्थामाथि दोष थुपार्दै ज्ञानेन्द्रले पूर्णतः असफल प्रत्यक्ष शासन गरेका हुन्। आज फेरि लोकतान्त्रिक व्यवस्थाले दिएको स्वतन्त्रताको दुरुपयोग गर्दै जनताको असन्तुष्टिको आडमा समाजमा द्वन्द्व र अराजकताको सिर्जना गर्न उद्यत ज्ञानेन्द्र शाह र समर्थकको अभियान सबैले बुझ्न जरूरी छ।”