पुस्तक चर्चा : वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीको आत्मकथा

35.44k
Shares

वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीकृत ‘अन्तर्य’ पुस्तकमा लेखक ताप्लेजुङको सुदूर ग्रामीण क्षेत्रमा जन्मिएको र त्यहाँका बालसखाहरूसँग शैशवकाल बिताएको क्षण अनि बालसुलभ मनोविज्ञानको सूक्ष्म विश्लेषण पाइन्छ। लेखक आठ वर्षको छँदा झापाको सुरुङ्गामा बसाइँ सराइको क्रममा आफूले देखे–भोगेका, अनुभूत गरेका भौगोलिक एवं प्राकृतिक विविधतालाई बडो कौतुहलता र उत्सुकताका साथ उल्लेख गनहुन्छ । सुरुङ्गा बजारवरपरका खोलानाला, वनजंगल, बाटोघाटो, बस्ती, बजार, तराई, चुरे, पहाड आदि विविध रोमाञ्चकारी दृश्यावलीको सविस्तार वर्णनले पाठकलाई आनन्दित र रोमाञ्चित गराउँछ।

लेखकको शिक्षाप्रतिको प्रेम पनि उत्तिकै टड्कारोरूपमा झल्किन्छ । आफ्नो जन्मथलो ताप्लेजुङको मैवा खोला, फट्याङ्ग्रे भन्ने ठाउँको श्री पाटी आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिका लागि आफ्ना बुबा प्रतिमान उप्रेती र आमा गंगादेवी उप्रेतीको नाउँमा ‘प्रतिमान–गंगादेवी उप्रेती छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नुभएको पुस्तकमा उल्लेख छ। साथै श्री जनता मा.वि., शरणामति, झापाका विद्यार्थीलाई छात्रवृत्तिका निमित्त हजुरबुबा पद्मलाल उप्रेती र हजुरआमा रमादेवी उप्रेतीका नाउँमा ‘रमा–पद्म स्मृति छात्रवृत्ति’ प्रदान गर्नको लागि सुरुङ्गाको भवगती सहकारी संस्थामा मुद्दति खाता खोलेर शिक्षाप्रतिको प्रेम र पितृभक्तिको कर्मभाव दर्शाउनुभएको छ।

यसरी समाजमा शिक्षाको ज्योति बाल्नका निम्ति उप्रेती पुर्खारूपी दियोमा छात्रवृत्तिरूपी दीपशिखा र सत्कर्मरूपी तेलको उपयोगले दिव्य दीप प्रज्ज्वलित गर्ने हरिप्रसाद उप्रेती (मौदगल्य)ज्यू उप्रेती वंशबन्धुका प्रेरणादयी व्यक्तिको रूपमा देखिनुभएको छ। लेखकको जीवनमा भैपरी आएका केही अविस्मरणीय क्षणहरू पनि छन्।

कानुन मन्त्रालयमा काम गर्दा पर्वतारोहण दलको सम्पर्क अधिकृत भएर अमेरिकी धवलागिरि एक्सपिडिसन टिम लिई जाँदाको क्षण अविस्मरणीय छ । त्यहाँ हाई अल्टिच्युड लागेर टाउको दुखेको, तलतिर कम उचाइको आधार शिविरतिर पुग्ने क्रममा बाटो बिराएर हराएको, हिउँको कठ्याङ्ग्रिदो ठण्डीमा एक्लै भौँतारिँदै गर्दा कसैले आफ्नो आवाज सुनेर उद्धार गर्छ कि भनी कराएर लर्खराउँदै हिँड्दा टर्चलाइटको ब्याट्री पनि डाउन भएकोले भयावह अवस्था सिर्जना भएको वर्णनले पाठकको हृदय चसक्क चस्किन्छ।

एउटा मुद्दाको सन्दर्भमा लेखक उल्लेख गर्नुभएको कुरा मन नै छुने छ । कुनै बेला मुद्दाका पक्षसँग वकिललाई दिने फिससम्म पनि नभएर हरेकपटकको पेसी पर्दा ‘मसँग अहिले पैसा भएन, यही खाएर भए पनि मुद्दा लडिदिनुप¥यो है वकिल साहेब’ भनेर क्लाइन्टले दिएको एकमुठी हर्बल क्यान्डी चकलेटले मुख गुलियो पारी मुद्दा लडेर सो मुद्दा जितेको प्रसंग पठनीय छ । त्यसै गरी एकजना पक्षले मुद्दा धाउँदा–धाउँदा आजित भई मुद्दा फैसला हुने बेलामा मुद्दै छोड्ने मनस्थितिमा पुग्दा ‘मुद्दा जितिन्छ, छोड्नुहुँदैन, लड्नुपर्छ’ भन्दा पनि मुद्दा छाडेर हिँडेको थियो । सो मुद्दाको पक्षलाई थाहै नदिई न्याय दिलाउन आफैँ लागिपरेर मुद्दा जिताएको र सोको जानकारी गराउँदा खुशी भई कृतज्ञतापूर्ण भावमा दिएको धन्यवादले लेखक आफ्नो सत्कर्मले प्राप्त परिणामप्रति गौरवान्वित हुनुभएको छ। समाजमा उहाँजस्ता दया, करुणा आदि मानवीय गुणयुक्त सज्जनहरूको औधी खाँचो छ।

लेखकको पारिवारिक पृष्ठभूमि राजनीतिक विचार र संस्कारले अभिप्रेरित देखिन्छ । उहाँको घरमा आर.के. मैनाली र के.पी. ओलीको पहिल्यैदेखिको आवतजावत हुँदै आएको रहेछ। आर.के. मैनालीले उहाँकी आमालाई दिदी भन्ने गरेको र के.पी. ओली जेठो दाइको सहपाठी भएको कुरा पुस्तकमा उल्लेख छ। त्यसैले होला, लेखकमा पनि राजनीतितर्फ जिज्ञासा र अभिरुचि बढेको देखिन्छ।

लेखक उप्रेतीले नेपाल ल क्याम्पस पढ्दाका विद्यार्थी युनियनका सभापति बलराम समालको चोटिलो र घतलाग्दो भाषणकलाको खुलेर तारिफ गर्नुभएको छ । यसरी विद्यार्थी नेताहरूबाट प्रभावित भई लेखक विद्यार्थी नेता हुँदै पार्टी राजनीतिमा सक्रिय हुन पुग्नुभएको देखिन्छ । फलस्वरूप मदन–आश्रित स्मृति प्रतिष्ठानको संस्थापक सचिवसमेत रहेर काम गरेको अनि विधान मस्यौदासमेत उहाँ आफैँले गर्नुभएको रहेछ । पार्टीका विभिन्न विभागीय पहिलो सदस्य भई भूमिका निर्वाह गरेको र बङ्गलादेशमा निर्वाचन पर्यवेक्षकसमेत भई काम गरेको अनुभव लेखकमा रहेछ।

यो पुस्तक लेखकको आफ्नै संघर्षशील जीवनकथा भएकोले व्यक्तिगत कथावस्तुमा आधारित छ र परिवारबारे धेरै कुरा लेखिएका छन् । पुस्तकमा लेखकले आफ्ना कमजोरीहरूको पनि उल्लेख गर्नुभएको छ । लेखक वा सर्जकहरूबाट उहाँले झैं आफ्ना कमजोरीहरू उजागर गर्ने हिम्मतको अपेक्षा अरु स्रष्टाहरूबाट शायदै गर्न सकिन्छ ।

राजनीतिमा हुने दूषित चलखेलले कसरी एक होनहार प्रतिभाशाली व्यक्तिको व्यक्तित्व र उसको करियरमा धक्का पुग्दो रहेछ अनि एउटै राजनीतिक उद्देश्य, विचार र सिद्धान्त बोकेका व्यक्तिहरूबीचको वैमनस्यताले कसरी मर्माहत पार्दो रहेछ भन्नेतर्फको अभिव्यक्ति पुस्तकमा समटिएको छ। लेखक निष्ठा र आस्थाको राजनीति गरिनुपर्छ, अवसरको हैन भन्ने जिकिर गर्नुहुन्छ । राष्ट्रपतिहरूसँगको सन्दर्भमा लेखकले पहिलो राष्ट्रपति डा. रामवरण यादव र पहिलो महिला राष्ट्रपति विद्या भण्डारीसँगका सम्बन्धका बारेमा रोचक ढंगले खुलस्तरूपमा प्रस्तुत गर्दै उहाँहरूका व्यवहारहरू परस्पर विरोधाभासपूर्ण रहेको उल्लेख गर्नुहुन्छ। लेखकले यस पुस्तकमा जनता शब्दको अर्थ र प्रयोगका बीचमा रहेको भिन्नताको बारेमा यथार्थपरक र रोचक विश्लेषण प्रस्तुत गर्नुभएको छ । यसबाट लेखकमा गहिरो राजनीतिक सुझबुझ रहेको पाइन्छ ।

कानुन मन्त्रालयको शाखा अधिकृतको जागिर निलम्बनमा परेपछि आफूसँगै निलम्बनमा परेका साथीहरूसँग मिलेर वि.सं. २०४८ मा ल फर्म खोलेको कुराले साहसिलो देखाउँछ । जागिर निलम्बनमा मात्र परी जागिर मौजुदा रहेकाले औपचारिकरूपमा मुद्दा लेख्न नमिल्ने भई भूमिप्रसाद खरेल वकिल साहेबको फर्मका वकिललाई सही गर्न लगाएर मुद्दा दर्ता गर्न पठाउने गरेको शुरूवाती दिनका असजिला भोगाइहरू त्यत्तिकै पठनीय छन्। जागिर निलम्बनमा परेपछि कर्म र भाग्यले अर्कै मोड लिएकोले फरक लक्ष्य र गन्तव्यतर्फ पाइला चाल्नुपरेको सविस्तार वर्णन पुस्तकमा छ । पार्टीप्रति कृतसंकल्पित भई दिलोज्यान दिएर काम गरेको र योग्यता–क्षमता हँदाहुँदै पनि नेताको रोजाइमा नपरेको जस्ता घटना–परिघटनाको सामना गर्नुपरे पनि लेखक त्यसबाट विचलित नभई अगाडि बढेको र यसमै सन्तुष्ट रहेको देखिन्छ।

‘अन्तर्य’ पढिसकेपछि पाठकहरूलाई यस्तो लाग्छ कि राज्य वा दल वा पार्टीले नचिनेको वा चिनेर पनि नजरअन्दाज गरिएका लेखकप्रति हरेक पाठकले आउँदा दिनमा उहाँका सत्कर्महरुको आदर गर्नेछन् । वकालत र न्यायपालिका भन्ने अध्यायमा लेखकले वकालतको शुरुवातका अवस्था, कानुन क्षेत्रको लामो भोगाइमा सँगालेका र भइपरि आएका अप्ठ्यारा, भिन्नाभिन्नै विचार र स्वभावका वकिलहरूका बीच वैचारिक मतभेदको फलस्वरूप उत्पन्न हुने व्यावहारिक एवं सैद्धान्तिक कठिनाइ आदिका बारेमा सविस्तार वर्णन गर्नुभएको छ ।

त्यसरी नै न्याय सम्पादनमा वकिलहरूको योगदान, वकिल र न्यायपालिकाबीचको सम्बन्ध, वकिलहरूको वकालत कर्मप्रतिको लगन, मेहनत, खोज, अनुसन्धान, बहस पैरवी र समर्पण, क्लाइन्ट (मुद्दामा आफूसँग कानुनी सेवा लिने पक्ष) हरूप्रतिको वकिलहरूको जिम्मेवारी, दायित्व र कर्तव्यका धेरै कुराको वर्णन गर्नुभएको छ ।

वि.सं. २०६२ चैतमा नेपाल बार एसोसिएसनको स्वर्ण महोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिकामा लेखक उप्रेतीको एउटा लेख छापिन्छ । त्यो लेखदेखि ज्यादै प्रभावित भएर वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले उक्त लेखका लेखक बारको भवनमा साथीहरूसँग गफगाफ गरेर बसिरहेको ठाउँमा सरासर आएर मुसुमुसु हाँस्दै बाहिरबाट टिपेर ल्याएको गुलाफको फूल लेखकलाई दिनुहुन्छ । लेखक अलमलमा परी फूल दिनुको अर्थ प्रस्ट्याउन अनुरोध गर्दा भण्डारीज्यू भन्नुहुन्छ, ‘हाम्रो मानहानि हुने गरी सत्य कुरा लेखेबापत । त्यो स्मारिकामा तपाईंको जति राम्रो लेख मैले अरु पाइन । असाध्यै मन छुने लेख लेख्नुभएको रहेछ ।’ यसरी उहाँले प्रशंसाको उपहार दिनुभएकोमा लेखक उप्रेतीले प्रसन्नता व्यक्त गर्नुभएको छ।

लेखकले कक्षा १ देखि कक्षा ८ सम्मका केही साथीहरू, कक्षा ९ र कक्षा १० सम्मका बेग्लाबेग्लै स्कुल पढ्दाका साथीहरू र विभिन्न कलेज पढ्दाका साथीहरूको नामावली आफ्नो लेखमा सिल्सिलेवाररूपमा प्रस्तुत गरेर साथीहरूप्रति अपनत्व प्रस्तुत गर्नुभएको छ । लेखक हरिप्रसाद उप्रेजीज्यूसँग विभिन्न संघ–संस्थाहरूमा रहरे सेवा गरेको अनुभव पनि छ। पछिल्लो समयमा उहाँ नेपाली वाङ्मयको एक उदयीमान सर्जक र स्रष्टाको रूपमा पनि आफूलाई उभ्याउन सफल हुनुभएको छ।

‘अन्तर्य’ नामक यो पुस्तक लेखकको आफ्नै संघर्षशील जीवनकथा भएकोले व्यक्तिगत कथावस्तुमा आधारित छ र परिवारबारे धेरै कुरा लेखिएका छन् । पुस्तकमा लेखकले आफ्ना कमजोरीहरूको पनि उल्लेख गर्नुभएको छ। लेखक वा सर्जकहरूबाट उहाँले झैं आफ्ना कमजोरीहरू उजागर गर्ने हिम्मतको अपेक्षा अरु स्रष्टाहरूबाट शायदै गर्न सकिन्छ।

लेखकको यो आत्मकथा लेखनमा प्रकृति चित्रण शिल्पी सशक्त छ। कल्पनाशीलता, वाक्य गठन, शब्द छनौट र कहीँ–कहीँ प्रयुक्त झर्रा नेपाली शब्द समायोजनले पुस्तक सुरुचिपूर्ण छ। लेखक अनेकन बाधा, अड्चन र चुनौतीहरूलाई पार गर्दै चर्चित व्यक्तित्वको रूपमा सफलताको शिखरमा पुग्नुभएको छ।

समग्रमा हरिप्रसाद उप्रेतीज्यूको ‘अन्तर्य (२०७८)’ चाख लाग्दो, ज्ञानवद्र्धक र पठनीय छ। आगामी दिनमा पनि यस्ता सिर्जनाहरु आइरहुन्। उहाँलाई पुस्तक लेखन कर्ममा जाँगर चलिरहोस्। नेपाली वाङ्मयको सम्भार र निर्माण क्षेत्रमा इँटा थपेर योगदान पुर्‍याउने स्रष्टाहरूको पंक्तिमा उहाँको नाम सुरक्षित हुनेछ। उहाँलाई सत्कर्मप्रति अटल आस्था र विश्वास जागिरहोस् र माता सरस्वतीले प्रेरणा दिइरहुन् । मेरो हार्दिक शुभकामना !