नेपालको संविधान २०७२ घोषणाको करिब एक दशक बित्नै लाग्दा नेपालका मुख्य ठूला दल र सत्ता राजनीतिमा अवाञ्छित उतारचढावहरु देशले बेहोरिरहेको छ। खास गरी ठूला राजनीतिक दलहरुमा देखिएको असन्तुष्टि र विचलनदेखि लिएर सरकारको स्थायित्वको विषय बढी नै चर्चामा आएका छन्।
कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न नसकेको, मुलुकका समस्या झन्–झन् बढ्दै गएको, जनआक्रोश र असन्तुष्टि चुलिँदै गएको, भ्रष्टाचार र अनियमितताले मुलुक आक्रान्त बनिरहेको, राजनीतिक नेतृत्व र जनप्रतिनिधिप्रति जनआक्रोश बढिरहेको घटनाक्रमले देशको राजनीतिले सफलताको बाटो समात्न नसकेको जनगुनासो सर्वत्र सुनिन थालेको छ। संविधानको सफल कार्यान्वयन गर्दै संघीयतालाई थप मजबुत बनाई मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकतामा नै मुलुक रुमल्लिरहेको छ।
संसद् विघटन गरेर पतनको बाटो रोजेको आलोचना खेपिरहेका केपी शर्मा ओली २०७८ फागुन २३ को सर्वोच्चको फैसालाबाट एकाएक उदयमान राजनेताको रुपमा प्रकट हुँदा खास गरी उनका आलोचकहरु भने आश्चर्यमा परेका छन् । धेरै पुराना कम्युनिस्ट नेता एवं ओलीसँग धेरै नजिकबाट संगत गरेकाहरुको टिप्पणीबाट पनि ओलीलाई एउटा जबरजस्त नेताको रुपमा उभ्याइदिएको छ । मजधारमा पुगेका ओलीलाई फेरि एकपटक नेपाली राजनीतिको प्रमुख स्ट्राइकर, मुद्दा बोकेको र मुद्दा दिन सक्ने नेताका रुपमा चिनाइदिएको छ । आलोचना सहन नसक्ने, विधि र पद्धतिलाई चुनौती दिने स्वेच्छाचारी लहडीका रुपमा चित्रण गरिने गरिन्छ । उनकै समकक्षीहरुका टिप्पणीले नेपालमा ओली जत्तिको अड्डी कस्ने वाक चार्तुयता भएको र बाहिर ठट्टा गर्ने अनि भित्रभित्रै गम्भीर योजना बनाउने रणनीतिक एवं चतुर राजनीतिक खेलाडीका रुपमा अरु छैनन्। तर सबैलाई ओलीको बोली र व्यवहार मन परे पनि वा नपरे पनि समयको क्रमसँगै ओलीमा यी व्यवहार र विशेषता पुष्टि भएका छन्।
नेपाली कांग्रेस र नेकपा एमाले गत असार १७ गते मध्यरातमा सातबुँदे सम्झौता गर्दै सरकारको नेतृत्वमा छ। राजनीतिक अस्थिरता, बढ्दो भ्रष्टाचार र अनियमितताको जिम्मेवारी यी दुई दलले लिनुपर्छ । किनभने लामो समय सरकारको नेतृत्वमा रहने यिनै दुई ठूला दलले विधि, पद्धति र संस्कारको बीजारोपण गर्नुपर्ने हो मुलुकमा । त्यसो नभएर अहिले यिनै दुई ठूला दलप्रति जनआक्रोश केन्द्रित छ । सत्तास्वार्थमा मात्रै लिप्त रहेको र भ्रष्टाचार एवं अनियमितताका काण्डमा दुई ठूला दलका नेता धेरै मुछिएका घटनाले ठूला दलबाटै लोकतन्त्र र विधिको शासनमाथि प्रहार हुन थालेको आम बुझाइ छ । अहिले मुलुकको ४५ औं प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थायित्वको ललिपप देखाएर सत्ता साझेदारीमा होमिएका कांग्रेस–एमाले प्रभावकारी काम गर्न नसकेकोमा आलोचित छन् । खास गरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति पार्टीभित्र र सरकारभित्रै पनि तीव्र आलोचना हुन थालेको छ। सरकारलाई करिब दुई तिहाइ जनमत प्राप्त छ तर अध्यादेशबाट शासन सञ्चालन गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण छ।
नेपाली राजनीतिमा र सत्ता राजनीतिमा प्रभाव जमाउँदै आएका केपी शर्मा ओली क्रमशः कमजोर हुँदै पार्टीभित्रै पनि आलोचित बन्न थाल्नु उनको राजनीतिक पतन शुरु भएको रुपमा बुझ्न सकिन्छ। खास गरी २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् पार्टीभित्र उनी शक्तिशाली मानिन्थे । २०४९ सालदेखि २०७१ सालसम्म नेकपा एमालेको स्थायी कमिटी सदस्य मात्रै रहे पनि पार्टीभित्र राम्रै प्रभाव थियो र शक्तिशाली मानिन्थे । त्यसपछि २०७० सालमा झलनाथ खनाललाई हराएर संसदीय दलको नेतामा निर्वाचित भएका थिए भने २०७१ असारमा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचिन भएपछि राष्ट्रिय राजनीतिमा केपी शर्मा ओलीको जबरजस्त उदय भएको थियो। २०७२ साल असोज २४ मा प्रधानमन्त्रीमा निर्वाचित भएपछि सत्ता राजनीतिको मियोका रुपमा ओलीलाई बुझ्न थालिएको हो । प्रधानमन्त्रीका रुपमा पहिलो कार्यकाल भने अविष्मरणीय थियो।
नेपालको संविधान जारी हुन नदिन भारतले खुलेआम हस्तक्षेप गर्न खोजेको थियो तर त्यो सम्भव नभएपछि अघोषित नाकाबन्दीलाई ओलीले डटेर सामना गरेका थिए । त्यस बखत उनको छवि राष्ट्रवादी प्रखर नेताका रुपमा कहलिएको थियो। त्यसपछिका प्रधानमन्त्रीको रुपमा उनको कार्यकाल सदैव विवादित र आलोचित बन्दै आएको छ । दुईपटक संसद् विघटनको सिफारिस उनको राजनीतिक जीवनकै सर्वाधिक आलोचित र विवादास्पद कार्यका रुपमा आमजनताले आलोचना गर्नुपर्यो। पार्टीभित्र उत्पन्न असन्तुष्टि र विवादलाई समाधान गर्न नसक्दा सिंगो एमाले टुक्रिएर कमजोर बन्नुपर्यो। यो अर्को असफलता थियो।
करिब एक दशकको राजनीतिक उदय र सफलताको दाबी गरिरहेका केपी शर्मा ओलीको तेस्रो सत्तारोहण पनि प्रभावकारी र खासै सफल भएको देखिँदैन। तत्कालीन नेकपा एमाले र माओवादी एकीकरण भई नेकपा बनेपछि आफूलाई जेट विमानको पाइलटको संज्ञा दिएका दुई नेता ओली र प्रचण्डबीचको राजनीतिक सहयात्रा लामो समयसम्म टिक्न नसक्नुको पछाडि पनि ओलीकै बेइमानी भएको बुझाइ छ । दक्षिण एसियाकै एउटा उदयमान कम्युनिस्ट शक्तिको रुपमा दुई नेताले आफूलाई स्थापित गराउन प्रयास गरे तापनि अन्ततः त्यो एकता लामो समयसम्म टिक्न सकेन। त्यहीँबाट ओली क्रमशः आलोचित बन्दै आउन थालेका हुन् र उनको राजनीतिक अवशान पनि त्यहीँबाट शुरु हुन थालेको हो।
माधवकुमार नेपालहरु एमालेबाट निस्किएपछि पार्टी करिब–करिब एकलौटी चलाउँदै आएका ओली गत मङ्सिर ३० मा पार्टी कार्यालय च्यासलबाट ‘एमालेभित्र विष्णु पौडेलको पनि गुट छैन र शंकर पोख्रेलको पनि गुट छैन’ भन्नुपर्ने अवस्थामा आइपुग्नुले अब पार्टीभित्र केही न केही गडबडीको संकेत गरेको छ। भ्रातृ संगठनदेखि लिएर गत आमनिर्वाचनयता एमाले निरन्तर संगठन विस्तार र पार्टी कार्यकर्ता परिचालनमा लागिरहेको छ। मिसन ग्रासरुटदेखि मध्यपहाडी संकल्प यात्रा हुँदै मिसन ८४ जस्ता महत्वाकांक्षी जनपरिचालनका कार्यमा सरिक हुँदै आएको एमालेमा पछिल्लो समय विकसित भएका आन्तरिक घटनाक्रमले एमालेमा के पाकिरहेको छ भनेर अनुमान लगाउन सकिन्छ।
संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थायित्वको ललिपप देखाएर सत्ता साझेदारीमा होमिएका कांग्रेस–एमाले प्रभावकारी काम गर्न नसकेकोमा आलोचित छन्। खास गरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति पार्टीभित्र र सरकारभित्रै पनि तीव्र आलोचना हुन थालेको छ। सरकारलाई करिब दुई तिहाइ जनमत प्राप्त छ तर अध्यादेशबाट शासन सञ्चालन गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण छ।
गत मंसिरमा सम्पन्न भएका उपनिर्वाचनमा देखिएको कमजोर प्रदर्शनले पार्र्टीपंक्तिमा, जनपरिचालनमा कमजोरी रहेको देखिन्छ । एमाले नेतृत्वले जनतासँग गरेका बाचा र प्रतिज्ञा भुलेर खाली सत्ता राजनीतिमा मात्र केन्द्रित रहेकाले जनताबाट टाढिँदै गएको बुझाइ छ । झन्डै दुई तिहाइ जनमतको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुरुपमा कार्य गर्न नसक्नुका पछाडि केपी शर्मा ओलीको असफलतासँग जोड्न थालिएको छ। विकास र समृद्धिको भूलभुलैयामा जनतालाई झुक्याइरहेको आरोपको सामना ओलीले गर्नुपरेको छ। पार्टीभित्रको आन्तरिक समीक्षाबेगरको देखावटी अभियान र जनपरिचालनले मात्र पार्टी सुदृढीकरण हुन नसक्ने देखिन्छ।
२०७४ सालमा सम्पन्न भएका तीनै तहको निर्वाचनमा एमाले राष्ट्रिय शक्तिको रुपमा उदाएको थियो । तत्कालीन नेकपा हुँदाको बखत सत्ता राजनीतिका प्रमुख राजकीय पदहरुमा नेकपाकै वर्चश्व थियो तर नेकपा विघटनपश्चात् क्रमशः कमजोर बन्दै गएको एमाले अहिले आएर ओलीकै विकल्पमा आवाज उठ्न थाल्नुले राजनीतिबाट केपी शर्मा ओलीले अब विश्राम लिएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने दबाब सिर्जना भएको छ।
यसको ज्वलन्त उदाहरणका रुपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहनाले प्रस्ट पार्छ । केपी शर्मा ओलीलाई नै धेरै समय साथ दिएका नेताहरु, अवसर र पहुँचबाट वञ्चित अनि हेपिएका र पेलिएका नेताहरुको एउटा समूहले विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन गरिरहेको प्रयासले ओलीको विकल्पका रुपमा भण्डारीलाई अघि सारिएको बुझ्न सकिन्छ । कतिपयको बुझाइमा विद्यादेवी भण्डारी एमालेको नेतृत्वमा आए प्रचण्ड, माधव नेपाललगायत अन्य साना वामपन्थी दलहरुसमेत एक हुन सहज हुने बुझाइ रहेको छ । जुन सम्भावना ओली नेतृत्वमा रहुन्जेल असम्भव छ । खास गरी सरकार बनाउने र गिराउने खेलमा देशी–विदेशी शक्तिहरुको अस्वाभाविक चलखेलले सधैँभरि अस्थिरताको बीजारोपण मात्र गरिरहेर नेपाली राजनीतिका दिनहरु कहिल्यै सुखद रहन सकेनन्। यस्ता कुटिल चालहरु आगामी दिनहरुमा पनि नआउलान् भन्न सकिन्न । यसतर्फ वर्तमान सरकार बेलैमा सचेत हुनुपर्दछ।
संविधान संशोधन, राजनीतिक स्थायित्व, विकास र आर्थिक समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनको लक्ष्यका साथ गठन भएको सरकारले पनि जनअपेक्षाका काम गर्न सकिरहेको छैन । केपी शर्मा ओली आफ्ना सार्वजनिक कार्यक्रम र भाषणमा सरकारको आयु र दिन मात्रै गन्ती गरेर बिताइरहेका छन्। संविधान संशोधन, अर्थतन्त्र मजबुत हुने, युवा पलायन रोकिने र जनआक्रोश मत्थरसम्म हुने लक्षण देखिँदैन। गठबन्धन दलभित्रै पनि ओलीको असफलताको चर्चा शुरु भइसकेको छ।
सामाजिक सञ्जाल, सार्वजनिक स्थल, आमसञ्चारका माध्यम र सामान्य नागरिकसमेत ओलीको कार्यशैलीप्रति कडा आलोचक बन्नुले उनको राजनीतिक पतनका रुपमा बुझ्न सकिन्छ । पार्टी नेतृत्वले गरेका जस्तासुकै निर्णय र कामलाई पनि तल्ला कमिटी र नेताहरुले प्रश्न उठाउनै नपाउने निषेधात्मक सोचले गर्दा ओलीको आलोचना बढेको हो । हुन सक्छ, विद्यादेवी भण्डारीले भित्रभित्रै एमाले नेतृत्वमा पुग्नका लागि गोटी चालेको हुनुपर्छ । राष्ट्रपति हँुदा पनि अप्रत्यक्षरुपमा नेकपा विभाजन रोक्नलाई खेलेको भूमिकाले भविष्यमा सक्रिय राजनीतिमा आउन सक्ने बाटोको रुपमा धेरैले बुझेका छन् ।
(लेखक निरौला शिक्षण पेसामा आबद्ध हुनुहुन्छ ।)
प्रतिक्रिया