प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल मिलेर बनेको वर्तमान सरकार लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय व्यवस्थाका हिसाबले अस्वाभाविक गठबन्धन हो । गठबन्धन बन्ने र भत्किने क्रम एकपछि अर्को गरी हुन थाले पनि राजनीतिक स्थिरता, संविधान संशोधन गर्ने कुरो उठाएर यो सरकार बनेको हो।
यो सरकारले आफ्नो औचित्य सिद्ध गर्न उठाएको विषय विकास, समृद्धिसँगै राजनीतिक स्थिरता र संविधान संशोधनको विषय हो । सरकार पूर्णरुपमा असफल भइसकेको विषयमा तर्क–विर्तक गर्न सकिए पनि सरकार गठन भएको आठ महिना बितिसक्दासमेत यसले आफूले भनेअनुसार सफलता हासिल गर्न नसकेको पक्कै हो । संसद्मा अंकगणितको हिसाबले बन्न सक्ने सबैभन्दा बलियो सरकारले आफूले भनेअनुरुप अघि बढ्न नसक्नु भनेको देश र जनताको लागि पक्कै हितकर विषय होइन । त्यसभन्दा पनि सुशासन, सार्वजनिक सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, जनताको दैनिक जीविका सम्बोधनको सवालमा सरकारको काम–कारबाही मूल्यांकन गर्ने हो भने निराशाप्रायः रहेको छ । आखिर दुई तिहाइ बलियो सरकारलाई काम गर्न कसले रोकेको छ त ? सरकारले किन काम गर्न सकेन ? सरकारले काम गर्न नसकेको हो वा गर्न खोजे पनि गर्न नदिइएको हो ? यसबारे उचित मूल्यांकन हुनुपर्ने देखिन्छ ।
वर्तमान सत्ता गठबन्धनसँग दुई तिहाइको बहुमत छ । यति हुँदा पनि पटक–पटक प्रधानमन्त्री ओली यो सरकार पूरै अवधि टिक्छ भन्ने अभिव्यक्ति दिइरहनुभएको छ । यस्तो अभिव्यक्ति दिइरहनुपर्ने बाध्यता प्रधानमन्त्रीलाई किन परिरहन्छ ? स्वाभाविकरुपमा लोकतान्त्रिक प्रणालीमा सबैसँग छलफल गरेर, सबै मिलेर शासन चलाउनु उपयुक्त मानिन्छ । यहाँ सत्ताको नेतृत्व गर्ने दलमा सरकारको विषयमा कुनै प्रश्न, नकारात्मकता, संशय गर्न अपराध मानिएको छ भने सत्तासाझेदार दल नेपाली कांग्रेसभित्र बेलाबखत टीकाटिप्पणी भइरहेको सुनिन्छ। यति कारणले सरकार ढल्छ भन्ने कुरा अतिशक्तियोपूर्ण रहेको छ।
सरकार ढल्ने र बन्ने भन्दा पनि जुनसुकै सरकार आए पनि जनताको हितका सवालमा किन काम गर्न सक्दैन ? सरकारले आफ्नो काम–कारबाहीबाट जनतालाई आशावादी बनाउन सकेको छैन । सरकार सफलताको लय समात्न सकिरहेको छैन । सरकारले सेवा प्रवाह चुस्त र दुरुस्त बनाउन नसक्नुमा कर्मचारी संयन्त्रको कारणले मात्र हो त ? यस्ता कैयौँ प्रश्नहरु छन्, जसको उत्तर फेला पार्न सकिएको छैन । यसले गर्दा गठबन्धनको भविष्यमाथि अनेक प्रश्न उठिरहेको छ। जनता विकल्प नभएझैँ गरी टुलुटुलु हेर्न बाध्य छन् । सूक्ष्म हिसाबले हेर्ने हो भने, पछिल्लो समयका नेपालका नेताहरूमा भिजनको अभाव छ। राणाकालदेखि अहिलेसम्मका सानातिना उपलब्धिलाई समेटेर त्यसैलाई नयाँ नेपाल भिजन भन्ने हो भने कुरा अर्कै हो।
यस हिसाबले हेर्दा सरकारको अहिले मन्तव्य एकातिर तर गन्तव्य अर्कोतिर रहेको छ । दुई तिहाइको सरकार पनि असफल हुने हो भने अरु सरकारबाट धेरै अपेक्षा गर्नु युक्तिसंगत हुँदैन। यस विषयमा प्रधानमन्त्रीले जनताको विश्वास जोगाइरहन भरमग्दुर प्रयत्न गर्नुपर्ने खाँचो छ। वस्तुतः आज हामीलाई स्थिरभन्दा पनि प्रभावकारी र उदार सरकार चाहिएको छ । स्थिर सरकार त हिजो राणा र शाहहरूले चलाएकै थिए । किनभने लोकतन्त्रमा स्थिर र बलियो सरकारभन्दा पनि गतिशील, न्यायपूर्ण र उदार सरकार चाहिन्छ । त्यसैले सरकारले सफलताको लय समात्न नागरिकमा आशा जगाउनु अपरिहार्य छ।
प्रतिक्रिया