काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै क्यानडा, मेक्सिको र चीनबाट अमेरिका भित्रिने सामानहरूमा कर लगाउने घोषणा गरेसँगै विश्व अर्थतन्त्रमा तरङ्ग ल्याएको छ।
अमेरिकाका निकटतम व्यापारिक साझेदारहरूसँग व्यापार युद्धको खतरा बढाएको विश्लेषण गर्न थालिएको छ। यसबाट सवारी साधनदेखि लिएर फलफूलसम्म सबै चिजको मूल्य वृद्धि गर्न सक्ने सम्भावना रहेको छ।
करबाट मुक्त रहेका एकमात्र क्यानाडाका ऊर्जा उत्पादनहरू हुन्, जसमा १० प्रतिशतको कम ट्यारिफ दर तोकिएको छ। अधिकारीहरूका अनुसार यस कदमले तेलको मूल्यमा पर्ने अवरोध कम गर्न मद्दत गर्नेछ।
अमेरिकाले मंगलबारदेखि क्यानाडाका सामानहरूमा कर संकलन गर्नेछ, तर मेक्सिको र चीनमाथि कहिले लागू गरिने भन्ने स्पष्ट छैन। ह्वाइट हाउसले दिएको विज्ञप्तिमा भनिएको छ– ‘यी कर तीन देशहरूलाई फेन्टानिल तथा अवैध आप्रवासनको प्रवाह रोक्न दबाब दिनका लागि लागू गरिएका हुन् र संकट समाधान नभएसम्म यथावत् रहनेछन्।’
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्– ‘हामीले अमेरिकालाई सुरक्षित राख्नुपर्छ र राष्ट्रपतिको रूपमा मेरो कर्तव्य सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नु हो । मैले मेरो चुनावी अभियानमा गैरकानुनी आप्रवासीहरू र लागुपदार्थहरू हाम्रो सीमाबाट प्रवेश गर्न रोक्ने वाचा गरेको थिएँ र अमेरिकी जनताले यसलाई व्यापक रूपमा समर्थन गरे ।’
सन् २०२३ मा १ लाख ७ हजारभन्दा बढी व्यक्तिको लागुपदार्थ ओभरडोजका कारण मृत्यु भएको थियो, जसमा लगभग ७० प्रतिशत मृत्यु फेन्टानिलसहितका ओपियोइड्सका कारण भएको थियो । २०२४ मा कब्जा गरिएका २१ हजार ९ सय पाउन्ड फेन्टानिलमध्ये करिब सबै दक्षिणी सीमामा भेटिएको थियो, जबकि उत्तरी सीमामा केवल ४३ पाउन्डमात्र जफत गरिएको थियो। तर, यी कर हटाउन अमेरिका तीन देशहरूबाट के–कस्ता कदमहरूको अपेक्षा राख्छ भन्ने स्पष्ट थिएन ।
‘डोनाल्ड ट्रम्पको स्वर्ण युगमा, केवल कानुनी आप्रवासन हुनेछ र अमेरिकीहरू चिनियाँ, मेक्सिकन वा क्यानाडेली फेन्टानिलको कारण मर्ने छैनन्’ –ट्रम्पका अधिकारीले बताएका छन्। ट्रम्पले लिएको नयाँ आर्थिक नीति, जसमा संरक्षणवाद प्रमुख छ। सो नीतिअन्तर्गत घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने, व्यापार घाटा घटाउने र विदेशी प्रतिस्पर्धाबाट अमेरिकी व्यवसायलाई जोगाउने प्रयास भनिएको छ । उनले मुख्य रूपमा चीन, मेक्सिको, क्यानाडा र युरोपियन संघजस्ता साझेदारहरूसँगको व्यापार नीति परिवर्तन गरेका छन् ।
ट्रम्पको आर्थिक नीतिको प्रमुख पक्षहरू
ट्रेड वार (व्यापार युद्ध) को सुरुवात : ट्रम्प प्रशासनले चीनविरुद्ध ठूलो कर लगायो, जसको जवाफमा चीनले पनि अमेरिकी सामानमा उच्च कर लगायो। अमेरिका–चीन व्यापार युद्धले विश्वव्यापी आपूर्ति शृंखलामा असर गर्यो, जसले उत्पादन लागत बढायो र मूल्य वृद्धिलाई तीव्र बनायो। लगानीकर्ताहरूमा द्विविधा उत्पन्न भयो, जसले विश्वव्यापी आर्थिक वृद्धिलाई प्रभावित गर्यो।
नाफ्टाको पुनः संरचना : ट्रम्पले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) लाई पुनः परिमार्जन गरे। यसले मेक्सिको र क्यानाडाका उद्योगहरूमा असर पार्यो, विशेष गरी अटोमोबाइल तथा कृषि क्षेत्रमा प्रभावित छ। अमेरिकामा उत्पादन बढाउने उद्देश्य भए पनि उपभोक्ताका लागि सामानको मूल्य बढ्न गयो ।
चीनमाथि आर्थिक दबाब : चीनलाई कमजोर बनाउन ट्रम्प प्रशासनले २५० अर्ब डलर बराबरका चिनियाँ सामानहरूमा २५ प्रतिशतसम्मको कर लगायो । यसले चीनको अर्थतन्त्रमा दबाब सिर्जना गर्यो । तर, अमेरिकी उपभोक्तालाई महँगीको मार परेको छ । व्यापार युद्धकै कारण अमेरिका र चीन दुवै देशको विकास दर घट्यो ।
युरोप र अन्य देशहरूसँग व्यापार तनाव
ट्रम्पले युरोपेली स्टिल र एल्युमिनियम उद्योगमा ट्यारिफ लगाए, जसको असर जर्मनी, फ्रान्स र अन्य देशहरूमा पर्यो। विश्वव्यापी व्यापार संरचना कमजोर भयो, जसले अन्तर्राष्ट्रिय व्यापार संगठन (डब्लूटीओ) को भूमिकालाई कमजोर बनायो ।
यी हुन् विश्व अर्थतन्त्रमा पर्ने असर
अर्थशास्त्रीहरूले यी करले उपभोक्ताले भुक्तानी गर्ने मूल्यवृद्धि गर्ने बताउँदै आएका छन् । कर व्यवसायहरूले अमेरिकाभित्र सामान ल्याउँदा तिर्नुपर्ने करजस्तै हुन्। घर निर्माण कम्पनीदेखि लिएर मादक पदार्थ उत्पादकहरूसम्मका व्यवसायहरूले करको नकारात्मक प्रभावबारे चेतावनी दिएका छन्।
नेसनल एसोसिएसन अफ होम बिल्डर्सका अध्यक्ष कार्ल ह्यारिसले भनेका छन्–‘यी करले निर्माण सामग्रीको लागत बढाउनेछन्, जसले घरको मूल्य वृद्धिमा योगदान गर्नेछ।’
व्यापार आपूर्ति शृंखलामा विघटन हुने सम्भावना रहँदा, मेक्सिकन फलफूल र तरकारीको मूल्य बढ्नेछ, क्यानडाली काठ महँगो पर्नेछ, र अमेरिकन अटोमोबाइल निर्माताहरूले सीमावर्ती व्यापारमा दोहोरो कर तिर्नुपर्नेछ । ट्रम्प प्रशासनका अनुसार, यदि कुनै देशले प्रतिकारात्मक कर लगायो भने अमेरिका थप कडा कदम चाल्नेछ।
मेक्सिको र क्यानडामा
करले अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापार युद्ध निम्त्याउन सक्छ, जसले तिनै देशको आर्थिक वृद्धिलाई कमजोर बनाउने छ। पेटर्सन इन्स्टिच्युटका एक रिपोर्टअनुसार, ‘यदि मेक्सिकोमाथि २५ प्रतिशत लगाइयो भने, यसको अर्थतन्त्रका लागि विनाशकारी हुनेछ।’
विशेष गरी अमेरिकी अटो उद्योग निकै प्रभावित हुनेछ, किनभने यसको आपूर्ति शृंखला अमेरिका, मेक्सिको र क्यानडाबीच गहिरो जडित छ । साथै, खाद्यान्न आपूर्ति पनि प्रभावित हुनेछ, किनभने अमेरिका टमाटर, एभोकाडो, बियाँसहितका उत्पादनहरूका लागि मेक्सिकोमा निर्भर छ।
ट्रम्प प्रशासनको यो नयाँ नीति अमेरिकाका प्रमुख व्यापारिक साझेदारहरूसँग सम्बन्धलाई जटिल बनाउने सम्भावना छ। जबकि, ट्रम्पले यसलाई अमेरिकी उद्योगहरूको सुरक्षाका लागि महत्वपूर्ण बताएका छन्, अर्थशास्त्रीहरू र व्यवसायीहरूले यसले उपभोक्ताहरू र आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्।
दक्षिण एसियाको अर्थतन्त्रमा
ट्रम्पले चीन, मेक्सिको र क्यानडाबाट आयात हुने सामानहरूमा उच्च कर लगाएपछि अमेरिकी कम्पनीहरूलाई त्यसको विकल्प खोज्न बाध्य बनाउन सक्छ। विशेषगरी अमेरिका भारतको ठूलो व्यापारिक साझेदार हो । यदि, अमेरिकी कम्पनीहरूले चीनबाट आयात घटाए भने, केही भारतीय उद्योगहरूलाई फाइदा हुन सक्छ। जसमा फार्मास्युटिकल्स, टेक्सटाइल, इलेक्ट्रोनिक्स र आईटी क्षेत्र प्रमुख देखिएको छ ।
बंगलादेश र श्रीलंकामा कपडा उद्योग प्रमुख छ, जसको मुख्य ग्राहक अमेरिका हो । तर, यदि ट्रम्पले अमेरिकी उद्योगलाई संरक्षण दिन आयातमा नयाँ प्रतिबन्ध लगाउने नीति लिएको खण्डमा कपडा निर्यात प्रभावित हुन सक्छ। दक्षिण एसियालीमा चीनको आपूर्ति शृंखलासँग गहिरो रूपमा जोडिएको छ।
यदि चीनको निर्यातमा असर पर्यो भने, भारत, पाकिस्तान, नेपाल, श्रीलंकाजस्ता देशमा कच्चा पदार्थको मूल्य बढ्न सक्छ। साथै चीनले आफ्नो उत्पादन दक्षिण एसियाली बजारतर्फ मोड्यो भने भारतीय उद्योगहरूलाई सस्तो चिनियाँ सामानसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन सक्छ ।
अमेरिकी कम्पनीहरूको भारतको विशेष गरी प्रविधि र उत्पादन क्षेत्रमा ठूलो लगानी छ । यदि, ट्रम्प प्रशासनले अमेरिकी कम्पनीहरूलाई अमेरिकाभित्रै उत्पादन गर्न दबाब दियो भने भारतमा अमेरिकी लगानी घट्न सक्छ । नेपाल, पाकिस्तान, श्रीलंकामा अमेरिकी प्रत्यक्ष लगानी तुलनात्मक रूपमा कम छ।
दक्षिण एसियाली देशहरूमा ठूलो संख्यामा आप्रवासीहरू अमेरिका, क्यानडा, र खाडी मुलुकमा कार्यरत छन् । यदि, अमेरिकी अर्थतन्त्रमा मन्दी आयो भने रोजगारी घट्नेछ र रेमिट्यान्स घट्न सक्छ । नेपाल, बंगलादेश, पाकिस्तानजस्ता देशहरू रेमिट्यान्समा निकै निर्भर छन्, जसले समग्र अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्छ ।
अमेरिका, क्यानडा, मेक्सिको र चीनबीचको व्यापार युद्धले कच्चा तेल, खाद्यान्न, इलेक्ट्रोनिक्स र दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गर्न सक्छ । भारत, नेपाल, पाकिस्तानजस्ता देशहरू ऊर्जा आयातमा निर्भर छन्, त्यसैले तेलको मूल्य बढेमा इन्धन र यातायात खर्च बढ्नेछ, जसले महँगी बढाउनेछ।
भारतीय आईटी क्षेत्र र एच–१ बी भिसामा असर : ट्रम्प प्रशासनले अमेरिकामा रोजगारको संरक्षण गर्न एच–१ बी भिसा (विशेषगरी भारतीय आईटी पेशेवरहरूका लागि कडाइ गरिसकेको छ। यदि, अमेरिका आफ्नो ‘अमेरिकन जाब्स फस्र्ट’ नीति अझ कडाइका साथ लागू गर्छ भने, भारतीय आईटी कम्पनीहरू प्रभावित हुनेछन्।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा तयार पारिएको)
प्रतिक्रिया