कन्सल्टेन्सीप्रति निगरानी बढाउनुपर्ने अवस्था

2.07k
Shares

काठमाडौँ रोजगारको मुख्य शहर, चाहे कर्णालीको कोप्चा होस् वा सँगै टाँसिएको बनेपा, धादिङ शहर सबैको पहिलो चाहना जागिरे हुने काठमाडौँ शहरमा । चाहे हुनेखाने हुन् वा नहुने, सबै सोच्छन्– काठमाडौँमा जान सके सानोतिनो जागिर त पक्का । जोगाड गरेर, कति त ऋण नै काढेर सपनाको शहर काठमाडौँ धाउँछन्, तर प्रश्न यो छ कि यथार्थ के छ यहाँको ? पढेलेखेका त छाडौँ, पढ्दै गरेका र धेरै नपढेका सम्पूर्ण कहाँ जान्छन् त काठमाडौँ झरेसी जागिर खोज्न ? आखिर कति दुःख भोग्नुपरिरहेको छ त उनीहरुलाई ? के राम्रो वातावरणमा जागिर, सही तलब र साँच्चै सपनाको शहर काठमाडौँले उनीहरुको दुःखको अन्त्य गरेको छ त ? प्रश्न हजारौँ छन् तर जवाफ कोसँग छ ? कसैलाई पत्तो छैन ।

काम खोजिदिने कम्पनी आज सयौँ खुलेका छन् काठमाडौँ शहरमा, हजारौँले काम पनि पाएका छन्, रोजगारदातालाई कामदारको कमी पनि छैन तर यी हजारौँको भीडमा ठगिनेहरुको संख्या कति छ ? यी जागिर खाइरहेका हजारौँले पनि राम्रो काम पाएका छन् त ? १० हजारको जागिर खानलाई कति तिरेका छन् उनीहरुले जब् कन्सल्टेन्सीहरुलाई ? अनि यही जब् कन्सल्टेन्सीहरुलाई कति फाइदा छ ? जब् कन्सल्टेन्सीहरुमा काम गर्ने मध्यस्थकर्ताको कमाइ कति छ त ? म एकदिन यही कौतुहल राख्दै नाम चलेका जब् कन्सल्टेन्सीहरुमा छिरेँ, ‘काम चाहिन्थ्यो, के काम छ होला ?’ सबै काम सुनेँ, उनीहरुले फर्मको पैसा ५०० रुपियाँ भने अनि त्यसपछि ६ महिनासम्म जागिर हेरफेर गर्न कुनै आपत्ति नहुने स्पष्टसँग कुरा राखे, मसँगै छिरेका ४ जनाको विद्यार्थीको ग्रुपले ५०० मा जागिर पाउने भन्दै, खुशी भएर पैसा पनि तिरे । म केही बेर बुझेर मात्र तिर्छु भन्दै पाखा लागेँ । अब उनीहरुले बिस्तारमा काम बुझाउन थाले, माटमा गए २५०० चार्ज टे«निङको फिस लाग्छ, सेक्युरिटी गार्डमा २००० चार्ज लाग्छ, त्यस्तै कामअनुसार २ हजारदेखि ४–५ हजारसम्मको चार्जको लिस्ट सामुन्ने आयो । बिचरा विद्यार्थीहरु एक–अर्काको मुखामुख गर्न थाले, जागिर खाने रहरमा गुलाबी रंग बिखरेका उनीहरुको अनुहार अकस्मात् ओइलायो । शायद घरबाट बा–आमाले पठाउने पैसामा त्यो चार्ज पुग्दैनथ्यो, उनीहरुले पैसा छैन, कमाएको बाट काट्न मिल्दैन ? भनेर सोधे ।

त्यहाँको कर्मचारीहरुले फटाफट उत्तर दिए, आज अन्तिम दिन हो पैसा तिर्नुभयो भने आइतबारबाट नै काम शुरु हुन्छ नत्र केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ । उनीहरू उठेर गए । दुई घण्टापछि हँसिलो मुहारमा फर्किएर पैसा तिरी बिल लिएर फर्किए । म त्यहाँ धाउँदै गरेका अरुसँग कुरा गर्न व्यस्त भएँ । एकजनाले सुनाए, ‘एक हप्ता भइसक्यो धाएको, मेरो काम भएको छैन ।’ यसरी नै अर्काको भनाइ यस्तो थियो, ‘१५ दिन भयो, मेरो पनि भएको छैन, दिनदिनै धाएको छु । म आएको देखेर काम जिम्मा लिएका सर फुत्त बाहिर निस्कन्छन् अनि फर्किंदैनन् । रुममा पनि बस्ने नै हो, यहीँ आएर बस्छु भनेर धाएको ६ दिन भयो । आखिर पैसा त तिरिसकेँ, अब यिनीहरूले फिर्ता त दिँदैनन्, जागिर पनि यस्तै जब् कन्सल्टेन्सीहरुबाट गर्ने हो, अब झगडा गरेर के गर्नु बरु हात होस् कि खुट्टा जोड्नु त प¥यो आखिर ।’ ‘जुन जोगी आए पनि कानै चिरिएको’ भन्ने उखान उनको भावमा स्पष्ट झल्किन्थ्यो ।

कति छन् यसरी जब् कन्सल्टेन्सीहरुबाट ठगिने ? यिनीहरूको कामको रेखदेख सरकारी क्षेत्रबाट कसरी गरिएको छ ? मैले उनीहरुको तलब सोधेँ । उनीहरुले तलब सुनिश्चित हुँदैन, कसैको थोरै हुन्छ त कसैको महिनाको ६०–७० हजार पनि हुन्छ भने । म जवाफहीन भएँ । आफूले खाइपाई आएको जागिर छोड्ने विचार पनि आयो एकछिन् त । एकछिन् सोचेँ पनि, शायद कर्मचारी राख्ने रणनीति पो हो कि यिनीहरुको । तर पनि उनीहरुले विनासोचविचार त बोलेनन्, पक्कै आफ्नो सहकर्मीले गनेकोे तलबकोे बिटो प्रमाण थियो । बैंकको ब्रान्च म्यानेजर, सरकारी कार्यालयको अधिकृत र कैयौँ ठूला पदकोे तलबभन्दा राम्रो एउटा जब् कन्सल्टेन्सीमा काउन्सेलरको कमाइ ! यदि काउन्सेलरको योे कमाइ छ भने त्यसको वास्तविक मालिकले कति कमाउँछ, कताबाट कमाउँछ ? रोजगारदाताबाट कमिसन खान्छन् त ? पक्कै पनि होइन होला, ती १०–१२ हजारको जागिर खोज्ने, फोटोकपीको पैसा तिर्दा जिब्रो टोक्ने, ती आफ्नो गाउँ छाडेर काठमाडौँ शहरमा पढ्न आएका विद्यार्थीहरु, ती सेक्युरिटीको जागिर खोज्ने कुनै नेपालकोे कोप्चाबाट आएको साइँलोसँगबाट । आखिर त्यो घरका ५–६ जना परिवार पाल्नेलाई कुनै देशको कोप्चाबाट आएको गरिब , चुँडिएको चप्पल सिलाएर लाउने, बजारमा हिँड्दा मःमःको बास्नाले खाली पेटको तारहरु सारंगीझैँ रेट्दा, मुन्टो बटारेर हिँड्ने व्यक्ति जो कमाउन बाध्य छ, कमाउने सपना देख्दै छ, उसको च्यातिएको गोजीमा गाँठो पारेर राखिएको पैसा जागिरको नाममा विभिन्न चार्ज भनी लिएर एउटा जब् कन्सल्टेन्सी मोटाएको छ।

काम खोजिदिने कम्पनी आज सयौँ खुलेका छन् काठमाडौँ शहरमा, हजारौँले काम पनि पाएका छन्, रोजगारदातालाई कामदारको कमी पनि छैन तर यी हजारौँको भीडमा ठगिनेहरुको संख्या कति छ ? यी जागिर खाइरहेका हजारौँले पनि राम्रो काम पाएका छन् त ? १० हजारको जागिर खानलाई कति तिरेका छन् उनीहरुले जब् कन्सल्टेन्सीहरुलाई ?

सरकार सधैँ नारा लगाउँदै छ, नेपालमा काम गर्ने जनशक्ति छैन सबै विदेशिइसके । जबसम्म ती सरकारी कुर्सीमा मच्चिँदै ‘विदेशिए नेपाली जनशक्ति, हाम्रो देशको विकास जनशक्तिविना कसरी हुन्छ ?’ भनी भाषणमा भन्नेहरु जब् कन्सल्टेन्सीहरुको बाहिर १८ वर्ष पुग्नेबित्तिकैदेखि ६० वर्षसम्मकाहरुबाट खोलिएको जुत्ता–चप्पलको भीड हेर्न जाँदैनन् तबसम्म कसरी थाहा पाउँछन् अझै पनि नेपालमा बाध्यता वा रोजाइले बस्नेहरूका लागि योग्य जागिर उपलब्ध हुन सकेको छैन।

१०–१२ हजारको जागिरका लागि धाउने, कम पढेलेखेका, १८ वर्षकै उमेरबाट आर्थिक स्वतन्त्रता पाउन चाहने ती हरेक विद्यार्थीप्रति जिम्मेवारी कसको ? जब् कन्सल्टेन्सीहरुमा छड्के जाँच र कडाइ कसको ? के हरेक नेपालीले विनाशुल्क जागिर पाउनु मौलिक हकमा पर्न आउँदैन र ? हरेक भाषणमा नेपालमै बस्न उत्प्रेरणा दिने सरकार, नेपालमा बाँकी भएका काम गर्न इच्छुक हरेक नेपालीलाई न्यूनतम पारिश्रमिकभन्दा कममा काम गर्न नपरोस् भनेर कसरी रणनीति र कार्यनीति बनाउँदै छ त ? के सरकारको माध्यमबाट नै रोजगारी रणनीति ल्याएर, जागिर खान चहाने हरेक व्यक्तिलाई विनाशुल्क चाहे सेक्युरिटी गार्ड होस्, चाहे घर–घरमा मागिने घरको काम गर्ने मान्छे होस्, सही तलब, इन्सुरेन्सको प्रबन्ध गर्न सक्दैन र ? के ती १०–१२ हजारको जागिरको लागि भौंतारिने सबै नागरिकले ऋण, धन लुटपाट गरेर नै विदेशिने सपना पूरा गर्ने हो ?

आखिर दक्ष जनशक्तिको महत्वलाई प्राथमिकता दिँदै ती कर्णाली र मुगुका ऋण काढेर काठमाडौँ शहर छिरेका गरिब दाजुभाइ, दिदीबहिनीलाई १०–१२ हजारको जागिरको लागि महिनौं जब् कन्सल्टेन्सीहरुमा धक्का खाएर, हजारौं विभिन्न नामको चार्ज तिरेर लाइनमा कहिलेसम्म राख्ने त ? के सरकारले यस्तो कम तलबमा काम गर्ने व्यक्तिहरुलाई कसरी जीवनयापनमा सहयोग गर्ने भनेर कुनै रणनीति ल्याएको छ ? महिनाको १–२ हजार रोजगारदाताबाट नै इन्सुरेन्स वा कुनै लगानीमा लगाउनुपर्ने बाध्यता कसेर, सरकारले नै कुनै एआई वा एप्स बनाएर सम्पूर्ण देशको जागिर खोज्ने र जागिर दिलाउने व्यवसायीलाई निःशुल्क, विनाझन्झट रोजगारी पाउने अवस्था किन सिर्जना गर्न सकेको छैन ? विद्यार्थी वर्गहरू जो आफ्नो खुट्टामा पार्ट टाइम गरेर उभिन चाहन्छन् ताकि घरमा आमाबुबासँग मासिक खर्च माग्नु नपरोस्, उनीहरुको लागि खै कता व्यवस्था गरिएको छ जागिर ? अनि सम्पूर्ण युवाहरू ऋण–धन गरेर, बैँकलाई आर्थिक आर्जनको वातावरण दिएर विदेशिनुबाहेक के विकल्प रहन जान्छ त यहाँ ?

हामी विदेशमा ठगिएका कैयौँ दाजुभाइ, दिदीबहिनीलाई हेरेर हाँस्छौँ, भन्छौँ नेपालजस्तो कहाँ छ र अरु देश ? तर नेपालमै यस्ता जब् कन्सल्टेन्सीहरुमा ठगिने, अनलाइन जब्को प्रलोभनमा पर्ने, विभिन्न सोसियल मिडियामा सजिलोसँग पैसा कमाउने तरिका देखाई फसाउने नेपाली नै हजारौँको संख्यामा छन् । तर कोही ठगिनेहरु अगाडि आई खुलेर भन्दैनन् कि उनीहरु कहाँ कसरी ठगिए ? आखिर जनचेतनाको कमी र निरन्तर ठगीको मारमा पर्ने कुरामा गल्ती कसको ? आफू ठगीमा परेको कुरा सबैसँग खुलेर नबोल्नेको, चाहे १०० मा नै किन नहोस् पुलिसमा रिपोर्ट नगराउनेको, त्यो त ठगिएछ भन्दै समाजको हुल बनाएर ठगिनेको खिल्ली उडाएर रमाउने वा जनताप्रतिको उत्तरदायित्व बहन नगर्ने सम्पूर्ण सरकारी निकाय, राजनीतिक पार्टी र सरकारको ?