जलवायु परिवर्तन विश्वको सबैभन्दा गम्भीर चुनौतीमध्ये एक हो। यसले नेपालजस्ता हिमाली देशलाई प्रत्यक्षरूपमा प्रभावित गरिरहेको छ । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिको दर उच्च भएको, अनियमित मौसमी प्रणाली देखा परेको देखिन्छ । साथै बाढी–पहिरो तथा सुख्खापनजस्ता प्राकृतिक विपत्तिका घटनाहरू नेपालमा बढेका छन्।
नेपालजस्तो कृषिप्रधान देशमा यी असर गम्भीररूपमा देखिँदा नेपालको प्राकृतिक अस्तित्व नै संकटमा पर्ने खतरा रहेको छ। नेपालको कारणले भन्दा पनि विश्वमा बढ्दै गएको औद्योगिकीकरण र प्राकृतिक स्रोतको उच्च दोहनका कारण यो समस्या बढ्दै गएको हो।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्वच्छ तथा नवीकरणीय ऊर्जाको प्रवद्र्धन, वन संरक्षण, वातावरणमैत्री पूर्वाधार विकास तथा दिगो कृषि प्रणाली आवश्यक छ। त्यस्तै नेपालले जलवायु वित्त र कार्बन वित्त कोषहरुको सही उपयोग गर्न सकेमा दिगो विकासमा टेवा पुग्न सक्ने भएकाले नेपालले त्यसतर्फ सोच्नुपर्ने भएको छ। स्वच्छ ऊर्जाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्छ। नेपालमा जलविद्युत्, सौर्यऊर्जा, वायुऊर्जा, बायोग्यासजस्ता नवीकरणीय ऊर्जाका स्रोतहरूको प्रशस्त सम्भावना छ।
यस्ता ऊर्जाको प्रयोगले जीवाश्म इन्धनमा निर्भरता घटाउने, वायु प्रदूषण न्यूनीकरण गर्ने तथा ऊर्जा आत्मनिर्भरता बढाउन सहयोग पुग्छ । कोइला, डिजेल, पेट्रोलजस्ता जीवाश्म इन्धनको साटो स्वच्छ ऊर्जा प्रयोग गर्दा हरितगृह ग्यासको उत्सर्जन कम हुने हुँदा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिन्छ। त्यसबाहेक वातावरणीय सन्तुलन कायम राख्न, जीवाश्म इन्धनको आयातमा खर्च हुने विदेशी मुद्रा जोगाउन र हरित ऊर्जा निर्यातबाट राजस्व आर्जन गर्न पनि छ।
जलवायु वित्त तथा कार्बन वित्त अन्तर्राष्ट्रिय समुदायबाट जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रदान गरिने कोषहरू हुन्। यसको नेपालले अधिकतम उपयोग गर्न जरुरी छ । यी वित्तीय स्रोतहरूको सही उपयोग गर्न सकेमा हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सकिन्छ । यी बाहेक जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि विभिन्न अन्तर्राष्ट्रिय कोषहरू नेपालले उपयोग गर्न सक्छ, नेपालले जलवायु वित्तको सही उपयोग गरेर जलविद्युत्, सौर्यऊर्जा, जल व्यवस्थापन, वन संरक्षण तथा जलवायु अनुकूलन कार्यक्रमहरू सञ्चालन गर्न सक्छ । कार्बन वित्तअन्तर्गत नेपालले कार्बन व्यापार तथा कार्बन क्रेडिट प्रणालीबाट आम्दानी गर्न सक्छ । नेपालले वन संरक्षण गरी कार्बन क्रेडिट बिक्री गर्न सक्छ । जलविद्युत् तथा सौर्यऊर्जाको प्रवद्र्धन गरेर कार्बन न्यूनीकरण परियोजनाबाट वित्तीय लाभ लिन सक्छ । निजी क्षेत्र तथा सरकारी संस्थाहरूले कार्बन बजारमा सहभागिता जनाएर प्रत्यक्ष लाभ लिन सक्छन्।
जलवायुसम्बन्धी भएका अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र घोषणाहरुले पनि क्षतिको भरणपोषण गर्ने विषयलाई बलियोसँग उठाएका छन् । यो नेपाललगायतका देशहरुका निम्ति राम्रो हो । यति बेला जलवायुका कारण नेपाल आफूले नगरेको गल्तीको सजाय भोगिरहेको हुँदा त्यसको भरणपोषणका निम्ति यी कोषहरुको उपयोग गर्ने सन्दर्भमा नेपालले आफ्ना तर्क र एजेन्डालाई मूर्तरूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ। जलवायु वित्त तथा कार्बन वित्तको सही उपयोग गरी नेपालले हरित विकास, ऊर्जा आत्मनिर्भरता तथा वातावरणीय स्थायित्व हासिल गर्न सक्छ। नेपाल सरकार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सहकार्यबाट जलवायु अनुकूलन र दिगो विकास गर्न सम्भव छ।
यदि नेपालले नवीकरणीय ऊर्जाको अधिकतम उपयोग गरी जलवायु वित्त तथा कार्बन वित्तको लाभ लिन सक्यो भने दिगो आर्थिक विकास तथा वातावरणीय सुरक्षामा ठूला फड्को मार्न सक्ने भएकाले सरकारको ध्यान त्यसतर्फ जान आवश्यक छ।
प्रतिक्रिया