वित्तीय साक्षरता भनेको व्यक्तिले आफ्नो आम्दानी, खर्च, बचत, लगानी र ऋणलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न आवश्यक ज्ञान, सीप र समझदारीको स्तर हो। यसले वित्तीय निर्णय गर्ने क्षमतालाई मात्र होइन, दीर्घकालीन आर्थिक लक्ष्य हासिल गर्ने क्षमतालाई पनि समेट्छ।
वित्तीय साक्षरताले मानिसलाई आर्थिकरूपले सचेत र आत्मनिर्भर बनाउँछ। यो केवल व्यक्तिगत जीवनलाई सहज बनाउनेमात्र होइन, समाज र देशको आर्थिक विकासमा पनि योगदान पु¥याउँछ। त्यसैले वित्तीय साक्षरता हरेक व्यक्तिका लागि एक आधारभूत आवश्यकता हो। वित्तीय साक्षरताले व्यक्ति, परिवार वा समूहलाई आफ्नो आर्थिक स्रोतलाई प्रभावकारी र कुशलतापूर्वक व्यवस्थापन गर्न सक्षम बनाउँछ। यसको माध्यमबाट व्यक्ति वित्तीय निर्णय गर्न, दीर्घकालीन योजना बनाउन र जोखिम व्यवस्थापन गर्न सक्षम हुन्छन्। तसर्थ यहाँ वित्तीय साक्षरतासम्बन्धी जान्नैपर्ने केही महत्वपूर्ण कुरा प्रस्तुत गरिएको छ।
सही वित्तीय निर्णयले आम्दानी र खर्चको सन्तुलन राख्न मद्दत गर्छ। आकस्मिक परिस्थिति (जस्तै, बिरामी, प्राकृतिक विपत्ति) का लागि तयार रहन सजिलो हुन्छ। गलत ऋण व्यवस्थापनले मानिसलाई ठूलो आर्थिक समस्यामा पार्न सक्छ। वित्तीय साक्षरताले अनावश्यक ऋण लिने र ब्याजमा फस्ने जोखिम कम गर्छ।
त्यस्तै, घर किन्नु, शिक्षामा लगानी, सेवानिवृत्तिको योजनाजस्ता दीर्घकालीन लक्ष्यलाई पूरा गर्न योजना बनाउन आवश्यक हुन्छ। बचत र लगानीका विकल्प बुझेर सही निर्णय लिन सहयोग हुन्छ।
वित्तीय साक्षरताले नयाँ लगानी अवसर, डिजिटल भुक्तानी प्रणाली र कर कटौतीजस्ता लाभको फाइदा लिन सघाउँछ। कुनै पनि वित्तीय निर्णय गर्दा जोखिम र प्रतिफलको मूल्याङ्कन गर्ने सीप विकास हुन्छ।
बिमा, आकस्मिक फन्ड र विविधीकरणको महत्व बुझ्न सहयोगी हुन्छ। वित्तीय साक्षरता भएका व्यक्तिले परिवारलाई सही आर्थिक परामर्श दिन सक्छन्। आर्थिक समस्याका कारण उत्पन्न तनावबाट बच्न मद्दत पुग्छ।
अनलाइन बैंकिङ, डिजिटल भुक्तानी प्रणाली र वित्तीय प्रविधिको प्रयोग गर्दा नोक्सानीबाट जोगिन वित्तीय ज्ञान अत्यावश्यक छ। आम्दानी र खर्चको व्यवस्थापन गर्नेमात्रै होइन पारिवारिक बजेट बनाउने र त्यसको पालना गर्न, अनावश्यक खर्च कटौती गर्ने बानीको पनि विकास हुन्छ।
नियमितरूपमा बचत गर्ने र त्यसको महत्व बुझ्न सकिन्छ। विभिन्न बचत खाता र तिनका लाभबारे जान्न सहयोग पु¥याउँछ। सेयर, म्युचुअल फन्ड, बन्ड र अन्य लगानीका विकल्पबारे जानकारी राख्न सकिन्छ। जोखिम र प्रतिफलबीचको सम्बन्ध बुझ्न सहयोग हुन्छ। ऋण लिँदा यसको ब्याजदर, शर्त, र चुक्ताको समयतालिका बुझ्ने, क्रेडिटकार्डको सही प्रयोग र समयमै भुक्तानी गर्ने, बीमा र जोखिम व्यवस्थापन गर्न जीवन बिमा, स्वास्थ्य बिमा र अन्य प्रकारका बिमाबारे जानकारी राख्न सकिन्छ।
आफ्नो आयअनुसारका छोटो, मध्य र दीर्घकालीन आर्थिक लक्ष्य निर्धारण गर्न सकिन्छ। कुनै पनि लगानी वा खर्च गर्नुअघि जोखिम मूल्याङ्कन गर्ने क्षमताको विकास हुन्छ। बुढ्यौलीमा आर्थिक स्वतन्त्रता सुनिश्चित गर्न योजना बनाइन्छ।
पेन्सन वा अन्य सेवानिवृत्तिको योजनमा सहभागीजस्ता लभाका कारण वित्तीय साक्षरताले व्यक्तिलाई जीवनभर आर्थिक स्थायित्व र आत्मनिर्भरता हासिल गर्न मद्दत गर्दछ। यो केवल पैसा बचत वा कमाउनेमात्र होइन, त्यो पैसा सही रूपमा व्यवस्थापन गर्ने कला पनि हो।
प्रतिक्रिया