काठमाडौं ।
ओलम्पियन संगीना वैद्यले राष्ट्रिय खेलकुृद परिषद (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागकी उपनिर्देशक पदबाट राजीनामा दिएकी छन्।
एक नियमविपरित निर्णयले तेक्वान्दो क्वीन संगीनालाई उक्त पदबाट राजीनामा दिन बाध्य बनायो। पूर्वाञ्चलमा कार्यरत वरिष्ठ कराते प्रशिक्षक सोभितराज प्रसाईँलाई निर्देशक पदमा नियुक्ति गरिएको हो । प्रसाईँ संगीनाभन्दा जुनियर हुन्।
कराते प्रशिक्षक प्रसाईलाई नियुक्ति गरिएपछि संगीनाले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा पत्र आइतबार नै बुझाइन्। यसबारे संगीनाले बेथिति भएको बताइन्।
संगीनाले बताइन् —‘जहाँ बेथिति हुन्छ त्यहाँ काम गर्न पनि नसक्ने हुन्छ । नियमविपरीत निर्देशकमा कोही जुनियर व्यक्ति आउँछन् भने त्यहाँ कसरी काम गर्ने, यो त चित्त बुझ्दो भएन र अर्को आत्मसम्मानको कुरा आउँछ । यसैले पदमा बसिरहन मेरो नैतिकताले दिएन र मैले राजीनामा दिएँ।’
उक्त विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा यही भदौ १९ गते सेवा निवृत्त भएपछि उनको स्थानमा वरिष्ठताको आधारमा संगीनाले नेतृत्व गर्न पाउनु पर्ने स्वाभाविक नै हो। तर, उनले पाइनन् । जबकी उनको कार्यकाल अझै ८ वर्ष बाँकी रहेको छ।
यस्तै, निर्देशकको सेवा निवृत्त भएपछि उपसचिवमध्येबाट एक जना निर्देशकमा बढुवा हुने पनि हरेक क्षेत्रमा स्वाभाविक प्रक्रिया रहेको हुन्छ। उप निर्देशकमा संगीना र अर्का ओलम्पियन विष्णुबहादुर सिंह रहेका छन् । सीधै राजनितिक हस्तक्षेपले गर्दा न संगीना न सिंहले निर्देशक पद पाए।
संगीनाबारे केही तथ्यः
—१९९६ मा मेलबर्नमा भएको एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी ।
—योसँगैं नेपाली खेलकुदमा एसियनस्तरको पदक दिलाउने पहिलो खेलाडी बनेकी ।
—१९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोमा स्वर्ण जितेकी ।
—२००४ मा एथेन्स ओलम्पिक्समा सहभागी जनाएर छनौट चरण पार गरेर ओलम्पिक्स खेल्ने पहिलो नेपाली खेलाडी बनेकी ।
—२००४ मा इस्लामाबादमा सम्पन्न नवौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेकी ।
—२०५२ भदौ ३० गते राखेपमा प्रशिक्षकको रुपमा सेवामा प्रवेश गरेकी ।
—२०६३ पुस २१ गते बढुवा भएकी ।
—तालिम तथा प्रशिक्षण विभागकी उप निर्देशकमा दुई वर्षअघि नियुक्ति भएकी ।











प्रतिक्रिया