डाबर नेपालको झुट : कसरी हुन्छ ‘हरेक घुट्कीमा हेल्थ’ ?

बट्टाको जुस अखाद्य जंकफुड हो, खानु हुँदैन

37.98k
Shares


काठमाडौं ।

‘हरेक घुट्कीमा हेल्थ (हरेक सिपमा हेल्थ)’ भनेर तथाकथित फ्रुट जुस रियलको भ्रामक विज्ञापन गर्ने डाबर नेपालले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को समेत पालना नगरेको पाइएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा १७ मा झुक्याई खाद्य पदार्थ बिक्रीवितरण गर्न नहुने उल्लेख छ । उक्त दफाअनुसार कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई, कुनै खाद्य पदार्थमा प्रयोग गरेको सम्मिश्रण वा दाबिमा झुटो जानकारी दिई वा भ्रामक दाबी गरी, न्यून गुणस्तरको खाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई, बिक्रीवितरण गर्न नहुने उल्लेख छ ।

बट्टामा ६० प्रतिशत चिनीको झोल भएको आफैँले स्वीकार गर्दागर्दै पनि उपभोक्तालाई भ्रमित गर्न डाबर नेपालले आफ्नो उत्पादनलाई ‘नेपालको नम्बर वान फ्रुट जुस’ भनेर लिखित रूपमै दाबी गरेको छ । फलको रसको सट्टा विभिन्न रोगहरू उत्पन्न गर्ने चिनीको झोलको मात्रा अधिक हुँदाहुँदै त्यस्तो पदार्थलाई उत्पादक कम्पनीले कसरी ‘हरेक घुट्कीमा हेल्थ’, ‘फ्रुट जुस’ र ‘गुड फर चिल्ड्रेन’ भनेर दाबी गर्न सक्छ ? तर उत्पादक कम्पनी डाबर नेपालले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को बर्खिलाप हुने गरी उपभोक्ताहरूमा भ्रम छरिरहेको छ ।

चिनीको मात्रा अत्यधिक भएको र प्लास्टिक प्रयोग गरिएको बट्टामा विभिन्न रसायनसमेत राखेर बेचिने गरेकाले चिकित्सकहरूले तथाकथित फ्रुट जुसहरू अखाद्य तथा अस्वस्थकर पत्रुखाना भन्दै सकेसम्म उपभोग नगर्न सुझाव दिएका छन्।

चिनी पानी, क्याफिन र कार्बोनेटेड वाटरको मिश्रणका रूपमा चिनिने चिसो पेय पदार्थमा अधिक चिनी राख्नेमा मिरिन्डा पनि पर्छ। यसमा चिनीको मात्रा १३ प्रतिशत छ । तर, फलफूलको रस अर्थात ‘फ्रुट जुस’ भनेर दाबी गर्ने रियलको अरेन्ज जुसमा २३.७ प्रतिशत चिनी राखिएको हुन्छ । यति धेरै चिनी राखिएको नुन चिनीको झोल कसरी ‘फ्रुट जुस’ हुन्छ ?

तथाकथित रियल फ्रुट जुसमा हरेक १ सय एमएलमा ५० किलोक्यालोरी इनर्जी हुने उल्लेख गरिएको छ। औषत तौल भएको मानिस (६५–७० केजी) को ५० किलो क्यालोरी खर्च गर्न करिब एक किलोमिटर हिँड्नुपर्ने हुन्छ। त्यस अनुसार हिँड्ने वा व्यायाम नगर्नेहरूको शरीरको तौल बढ्दै जान्छ र मुटुलगायत अन्य विभिन्न रोगहरू उत्पन्न हुन्छन्।

वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मी भन्नु हुन्छ, ‘प्लास्टिकसमेत राखेर बनाइएको पाकेटमा बन्द गरेर बेचिने जुसलाई कुनै पनि हालतमा स्वथकर भन्न मिल्दैन । यो त एकदमै अस्वस्थकर वस्तु हो । रियललगायत बट्टामा बन्द गरेर राखिएका कुनै पनि जुस चिनी, पानी र फलफूलको बास्ना मात्र हो । यसमा समावेश सामग्री हेर्दा उनीहरूकै भनाइ अनुसार पनि सवैभन्दा बढी चिनीकै मात्रा हुन्छ । चिनीको मात्रा धेरै हुनेबित्तिकै क्यालोरी बढी हुन्छ । यसले शरीरमा बोसोको मात्रा बढाएर विभिन्न रोग निम्त्याउँछ । त्यसैले बट्टामा पाइने जुस अखाद्य वस्तु हो र यो जंगकफुड समूहमा नै पर्छ।’

डा. रेग्मीका अनुसार बट्टाको जुसमा अत्यधिक चिनीका साथै प्रिजरभेटिभ्स अन्य केमिकलहरू राखिने भएकाले यसका कारण दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुन्छन् । कहिलेकाहीँ अलिकति खाँदैमा केही फरक नपर्ला तर यसलाई बारम्बार खान थालियो भने शरीरमा बोसो बढ्ने, मेटाबोलिक डिस अर्डरअन्तर्गतका रोगहरू हुने र क्यान्सर समेत हुन सक्छ। अधिक चिनीको सेवनले मुटुका रोगहरू, डायविटिज हुने, कोलेस्ट्रोल बढ्ने, उच्च रक्तचाप हुने, हृदयघात आदि रोगहरू हुने सम्भावना हुन्छ।
डा रेग्मी भन्नुहुन्छ, ‘हामी त शुद्ध फलफूलको ताजा रसभन्दा पनि फलफूल नै खानुपर्छ भन्छौँ । किनभने होल फ्रुट खाँदा फाइबर, भिटामिन लगायतका सवै कुरा प्रशस्त हुन्छ। यसलाई जुस बनाउनेबित्तिकै फाइबरजति सबै निस्किन्छ र झोल पदार्थ मात्र आउँछ । त्यो झोललाई बट्टामा राख्दा छिटै बिग्रिन्छ। प्लास्टिक भएको बट्टामा प्रिजरभेटिभ्स हालेर राखियो भने त्यो खानयोग्य हुँदैन । यदि, सिसाको बोतलमा शुद्ध फलको रस तापक्रम मिलाएर राखेमा केही दिनसम्म खान मिल्छ। यो चलन विदेशमा पनि छ । तर, चिनी, पानी र फलफूलको बासना मात्र राखेर बनाइएका जुस त कुनै हिसाबले पनि खान योग्य हुँदैनन् । यी वस्तु अस्वस्थकर खानाभित्र नै पर्छन् । चाडबाडमा, आफन्तलाई भेट्न जाँदा, बिरामीलाई भेट्न जाँदा यस्ता बट्टाका जुस होइन, फलफूल नै लानु राम्रो हो । बट्टाको जुसले स्वास्थ्यलाई बिगार्ने काम मात्र गर्छ, फाइदा केही गर्दैन।’

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार ‘चिनी राखेर प्लास्टिकको बट्टामा तयारी जुस बेच्न नै दिनु हुँदैन, यी जंक फुड हुन् र स्वास्थ्यका दृष्टिले अखाद्य वस्तु हुन् । फ्रुट जुस मात्र होइन, चिनीको मात्रा धेरै हुने हर्लिक्स, बेबीफूडहरू लगायतका अन्य खाद्य वस्तुहरूमा चिनीको मात्रा धेरै भयो भनेर भारतलगायत युरोपेली देशहरूमा पनि बेलाबेलामा इस्युहरू उठ्ने गरेका छन्। कतिपय ठाउँमा मुद्दा परेर चिनीको मात्रा घटाएका पनि छन्।’

डाबर इन्डियाले उत्पादन गरेको फ्रुट रियल जुसमा चिनीको मात्रा धेरै भयो भनेर सञ्चारमाध्यमले बारम्बार मुद्दा उठाएपछि एक युट्युबरविरुद्ध नै अदालतमा मुद्दा परेकोमा पछि सवैतिरबाट दबाब आएपछि डाबर इन्डियाले रियल जुसमा भएको चिनीको मात्रा चरणबद्ध रूपमा कम गर्दै लगेको छ।

डाबर इन्डिया लिमिटेडले सन् २०१८ लाई आधार मानेर रियल जुसमा थपिएको चिनीको मात्रामा तीन चरणमा २०.९५ प्रतशित घटाउने योजना बमोजिम वार्षिक १ हजार ३ सय मेट्रिक टन चिनी घटाउने लक्ष्य राखेको थियो । त्यसअनुसार पहिलो चरणमा ५.४ प्रतिशत, दोस्रो चरणमा ७.५ प्रतिशत र तेस्रो चरणमा ६.७ प्रतिशत चिनीको मात्रा घटाइसकेको छ। र, चौथो चरणमा अझै ३ प्रतिशत घटाउने लक्ष्य राखेको छ।

केही वर्षअघि यस्तै खालको चिनीको झोल उत्पादन गर्ने भारतको एक कम्पनीले आफूले फलफूलको रस अर्थात् जुस उत्पादन गरेकोले त्यसमा १३ प्रतिशत मात्र कर लगाउनुपर्छ भनेर कर तिर्न आलटाल गर्दा अदालतमा मुद्दा परेको थियो। टाइम्स अफ इन्डियाका अनुसार त्यस विवादका सम्बन्धमा अदालतले फैसला सुनाउँदै भनेको थियो– ‘तपाईंहरूले फलफूलको रस बनाउने होइन कि विभिन्न किसिमको सोडापानीमा, फलफूलको बास्ना मिलाएर त्यसलाई फलफूलको रस भनेर नाम दिनु भएको छ । त्यसैले साँच्चै नै फलफूलको रस बनाउने कम्पनीलाई दिए सरह तपाईंहरूलाई छुट दिन मिल्दैन । तपाईंहरू जनतालाई हावा भरिएको पानी पिलाएर तागत बढ्छ भन्ने झुटो दाबी गरिरहनुभएको छ ।’

र यो पनि

रियल जुसमा पेप्सीमा भन्दा दोब्बर चिनी र नुन

फलफूलको जुस होइन ‘चिनीको झोल’