भारतलाई माथ खुँवाउँदै श्रीलंका बन्यो च्याम्पियन


काठमाडौं ।

श्रीलंकाको वोमेन्स क्रिकेट टिमले पहिलो पटक एसिया कप उपाधि जितेको छ। वोमेन्स एसिया कपअन्तर्गत आइतबार भएको फाइनल खेलमा श्रीलंकाले भारतलाई ८ विकेटले माथ खुवाएको हो। डिफेन्डिङ च्याम्पियन भारतले पहिले ब्याटिङ गर्दै १ सय ६६ रनको लक्ष्य दिएकोमा घरेलु टिम श्रीलंकाले २ विकेटको क्षतिमा प्राप्त गरेको थियो।

श्रीलंकाका लागि हर्शिता समराविक्रमाले ६९ रन र कप्तान चमिरा अथापाथ्थुले ६१ रन बनाए। अथापाथ्थु र समराविक्रमाले दोस्रो विकेटका लागि ६३ बलमा ८७ रनको साझेदारी गर्दै टोलीलाई च्याम्पियन बनाउने आधार तयार गरे। यस्तै, कबिसा दिलहारीले १६ बलमा ३० रन बनाएर उपाधि जित्न अझ सजिलो बनाइदिइन्।

त्यसअघि भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। भारतका लागि ओपनर स्मृति मन्धनाले सर्वाधिक ६० रन बनाइन्। रिचा घोषले १६ बलमा ३० रन बनाइन्। श्रीलंकाका लागि केबिसा दिलारीले २, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र अथापाथ्थुले समान १ विकेट लिइन्।

Skip This