नेपालको पशुपतिनाथ मन्दिर हिन्दू धर्मावलम्बीको लागि मात्र नभई विश्वभरका भक्तजनहरूको लागि महत्वपूर्ण तीर्थस्थल हो। भगवान् शिवको प्रमुख मन्दिरको रुपमा लिइने यस मन्दिरले धार्मिक, सांस्कृतिक, र ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान ओगटेको छ । त्रिमूर्ति ब्रह्मा, विष्णु र महेश्वरमध्ये भगवान् शिव विनाशक शक्ति हुन्, जसले ब्रह्माण्डको सृष्टि, स्थिति र संहारको जिम्मा लिएका छन्।
शिवजीका विभिन्न रूपहरू, जस्तै– पशुपतिनाथ, नटराज, महाकाल, भोलेनाथ आदिको पूजा विशेष गरी महाशिवरात्रि, तीज र हरेक सोमबारका दिन विशेष महत्वका साथ गरिन्छ। पशुपतिनाथ मन्दिरमा वार्षिक लगभग २० लाख दर्शनार्थीहरू आउने अनुमान छ । मन्दिरको वार्षिक आम्दानी केही वर्षको तथ्याङ्कअनुसार लगभग १–२ अर्ब रुपियाँ अनुमान गरिएको छ।
पशुपतिनाथ मन्दिरलाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यसका प्रमुख कारणहरूमा धार्मिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय र सामाजिक महत्त्व हुन् । मन्दिरको निर्माण शैली, मूर्तिहरू र पुरातात्विक सम्पदाहरूले नेपालको ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई झल्काउँछ। नेपालका साथै अन्य देशका विभिन्न जातजाति र संस्कृतिका मानिसहरू एकत्रित भएर पूजा–अर्चना गर्ने यो स्थलले नेपालको सांस्कृतिक विविधतालाई उजागर गर्दछ। तर यो महत्वपूर्ण मन्दिरको व्यवस्थापनमा थुप्रै चुनौतीहरू छन्।
धार्मिक तथा सांस्कृतिक स्थलहरूको व्यवस्थापनमा कमीले गर्दा दर्शनार्थीहरू घण्टौं लाइनमा बसेर पनि केही सेकेन्डको लागि मात्र दर्शन गर्न पाउँछन् । यो अवस्थाले दर्शनार्थीलाई हतास बनाउँछ । हामी ‘नेपाल चार जात छतीस वर्णको फूलबारी’ भनेर गर्व गर्छौं तर आफ्नो सांस्कृतिक धरोहरको उचित व्यवस्थापन गर्न सकेका छैनौं । पशुपतिनाथ मन्दिरमा आउने भक्तजनहरूले दिनभरि निराहार व्रत गरेर पूजा आराधना गर्दासमेत पानी र प्रसादको उचित व्यवस्था हुँदैन । ‘अतिथि देवो भवः’ भन्ने मूल मन्त्र उच्चारण गर्ने हामीले स्वदेशी तथा विदेशी आगन्तुकलाई सम्मान, सत्कार गर्न सकेका छैनौं ।
यदि निजी कम्पनीहरूले आफ्ना ग्राहकहरूलाई भगवान् सम्झेर सम्मान गर्छन् भने, हामीले पनि पशुपतिनाथको दर्शनार्थीहरूलाई सम्मान, सत्कार गरेर नेपालको कला, संस्कृति र पर्यटनलाई प्रवद्र्धन गर्न सक्नुपर्छ। दर्शनार्थीका लागि नेपाली खाना निःशुल्क वितरणको व्यवस्था गरेमा हाम्रो धार्मिक एवं सांस्कृतिक महत्त्व विश्वभर फैलिन सक्छ । साथै, दर्शन कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित गर्न सके पर्यटन क्षेत्रमा मात्र नभई सांस्कृतिक प्रवद्र्धनमा पनि तीव्रता आउन सक्छ ।
पुरातन काष्ठकला र विभिन्न चित्रहरूले भरिएको मन्दिरमा अहिले मुस्किलले दुई–तीनवटा कुँदिएका मूर्तिबाहेक अरु देखिँदैन । दिनहुँ लाखौं आम्दानी गर्ने यो मन्दिरमा सरसफाइ, रंगरोगनजस्ता सामान्य काम पनि राम्रोसँग भएको छैन । सरकार र मन्दिरका सदस्यहरूको लापरबाहीले गर्दा अर्बाैंको आम्दानी हुँदाहुँदै पनि कला–संस्कृतिको संरक्षण र प्रवद्र्धनमा कुनै चासो देखिँदैन ।
धेरैजसो युवाहरू रोजगारीको अभावमा विदेशिएका छन् । पशुपतिनाथको व्यवस्थापन र संस्कृति संरक्षणमा तिनै योग्य युवाहरूलाई समावेश गराएर सरकारले रोजगारका अवसर सृजना गर्न सक्नुपर्छ । साथै दर्शनका लागि आउने पर्यटकहरूलाई बढी समय नेपालमा रोक्न वातावरण निर्माण गर्नुपर्ने खाँचो छ। अब, नयाँ–नयाँ पर्यटकीय स्थलहरू निर्माण मात्र होइन, पुराना सांस्कृतिक स्थलहरूको व्यवस्थापन र प्रचार–प्रसारमा पनि ध्यान दिनुपर्छ। सत्तामा बस्ने नेताहरू र पशुपतिनाथ मन्दिरका सदस्यहरूले नयाँ वातावरण निर्माणमा लाग्न जरुरी छ।
यसो गर्दा मात्रै हामीले हाम्रो सांस्कृतिक धरोहरलाई विश्वसामु प्रस्तुत गर्न सक्नेछौं। नेताहरू र मन्दिर व्यवस्थापन समितिले पुराना सांस्कृतिक स्थलहरूको व्यवस्थापन र प्रचार–प्रसारमा सुधार गर्न के गर्दै छन् ? अब हामीले यस्ता प्रश्न सरकार र पशुपति संरक्षण क्षेत्रमा आबद्ध समितिहरूलाई सोध्नुपर्छ। र, उनीहरुलाई घचघच्याउनुपर्छ।











प्रतिक्रिया