काठमाडौं ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले इएफटी कार्ड सर्भिसका सदस्य बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा २२ वटा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा एनसीएचएलका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो। कार्यक्रममा इएफटी कार्ड सेवाको सञ्चालन, सेवा विस्तार, नयाँ पहल तथा सदस्य संस्थाबाट प्राप्त सुझाव र प्रतिक्रियाका विषयमा छलफल गरिएको एनसीएचएलले जनाएको छ।
अन्तरक्रियाका क्रममा कार्ड भुक्तानीको सुरक्षा, प्रविधिमा भइरहेको विकास तथा सेवा सञ्चालनका क्रममा देखिएका आवश्यकताका विषयमा सदस्य बैंक तथा वित्तीय संस्थाले आफ्ना अनुभव र सुझाव आदानप्रदान गरेका थिए।
एनसीएचएलका अनुसार इएफटी कार्ड सेवा विस्तारका क्रममा थप दुई वाणिज्य बैंक र पाँच वित्त कम्पनी नयाँ सदस्यका रूपमा आबद्ध भएका छन्। नयाँ सदस्य थपिएसँगै इएफटी कार्ड स्वीचमा आबद्ध बैंक तथा वित्तीय संस्थाको संख्या १७ पुगेको छ।
त्यस्तै, ६ वटा बैंक तथा वित्तीय संस्थाले ई–कमर्स पेमेन्ट गेटवे सेवा र १४ वटा बैंक तथा वित्तीय संस्थाले थ्रीडी सेक्योर थ्रीडीएस सेवा प्रयोग गर्दै आएका छन्।
एनसीएचएलका अनुसार इएफटी कार्ड सर्भिस बैंक तथा वित्तीय संस्थाका लागि उपलब्ध गराइएको केन्द्रीय स्वीचिङ समाधान हो। यसमार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड नेटवर्कका कारोबार प्रोसेसिङ, कार्ड इस्युइङ तथा एक्वायरिङ गर्न सकिन्छ।
हाल इएफटीमार्फत सदस्य बैंक तथा वित्तीय संस्थाले भिसा र एनपीसीआई कार्ड इस्यु गर्न सक्ने व्यवस्था छ। त्यस्तै, भिसा, मास्टरकार्ड, युनियनपे, डिनर्स क्लब, डिस्कभर, रुपे, जेसीबी र एनपीसीआईलगायत आठ प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्कका कार्ड कारोबार एक्वायरिङ गर्ने सुविधा उपलब्ध रहेको एनसीएचएलले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा नेपालमा कार्डमार्फत करिब १२ करोड ९० लाख कारोबार भएका थिए। ती कारोबारको कुल मूल्य १० खर्ब १९ अर्ब रुपैयाँ बराबर रहेको थियो। सो अवधिमा १ करोड ४३ लाख ३० हजार कार्ड प्रचलनमा रहेका थिए।
त्यसैगरी, इएफटीमार्फत ३ करोड २० लाख कारोबार भएका थिए, जसको कुल मूल्य २ खर्ब ५५ अर्ब रुपैयाँ बराबर थियो। इएफटीमार्फत कारोबार हुने कार्डको संख्या ३४ लाख ४० हजार रहेको एनसीएचएलले जनाएको छ। गत आर्थिक वर्षमा इएफटीले नेपाली कार्ड बजारको करिब २५ प्रतिशत हिस्सा ओगटेको थियो।
एनसीएचएलले ई–कमर्स पेमेन्ट गेटवे र थ्रीडी सेक्योर थ्रीडीएस सेवामार्फत अनलाइन कार्ड कारोबारलाई सुरक्षित र सहज बनाउन सहयोग गर्दै आएको जनाएको छ। ई–कमर्स पेमेन्ट गेटवेमा हाल ६ वटा सदस्य बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने ११५ भन्दा बढी मर्चेन्ट जोडिएका छन्।
नेपालको भुक्तानी पूर्वाधारलाई थप सुदृढ गर्ने उद्देश्यअनुसार एनसीएचएलले एनपीसीआई कार्डलाई राष्ट्रिय कार्ड योजनाका रूपमा अघि बढाएको जनाएको छ। इएफटी कार्ड स्वीचलाई राष्ट्रिय भुक्तानी प्रणालीसँग एकीकृत गरी सहभागी बैंक तथा वित्तीय संस्थालाई एनपीसीआई कार्ड इस्यु तथा एक्वायरिङ गर्ने सुविधा उपलब्ध गराइएको छ।
एनसीएचएलले आगामी दिनमा बैंक तथा वित्तीय संस्था, इकोसिस्टम साझेदार र अन्तर्राष्ट्रिय कार्ड नेटवर्कसँगको सहकार्यलाई निरन्तरता दिँदै कार्ड भुक्तानीसम्बन्धी क्षमता विस्तार, अन्तरआवद्धता सुदृढीकरण तथा सुरक्षित र नवीनतम भुक्तानी समाधानको प्रवद्र्धनमा जोड दिने जनाएको छ।











प्रतिक्रिया