भरतपुर ।
बाढी, पहिरो, आगलागी, भूकम्प तथा सडक दुर्घटनाबाट घाइते र बिरामीको चाप बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै भरतपुर अस्पतालले विपद् व्यवस्थापन समिति पुनर्गठन गरेको छ ।
विपद्जन्य घटनाका कारण एकैपटक ठूलो संख्यामा घाइते तथा बिरामी अस्पताल आइपुग्ने अवस्था सिर्जना हुन सक्ने भएकाले उपचार सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले पूर्वतयारी थालेको हो । त्यसका लागि अस्पतालका विभिन्न विभाग, शाखा तथा जिम्मेवार अधिकारीलाई समेटेर विपद् व्यवस्थापन समिति पुनर्गठन गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अर्थोपेडिक सर्जन डा. मनोज कँडेलको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा अस्पताल प्रशासक डा. साइदिप घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
समितिमा जनरल सर्जन डा. दीपेन्द्र न्यौपाने, फरेन्सिक विभाग प्रमुख डा. सुरज शर्मा, इमरजेन्सी विभाग प्रमुख डा. सुरेशकुमार प्रधान, एमडिडिपि डा. आमिर बर्तौला, एनेस्थेसियोलोजिस्ट डा. रिजु राना, अप्रेसन थिएटर इन्चार्ज मिरा अधिकारी र अस्पताल व्यवस्थापक डा. सफल अधिकारी सदस्य रहनुभएको छ ।
त्यसैगरी शाखा अधिकृत हरिप्रसाद पराजुली, सामाजिक सेवा इकाई प्रमुख रामहरी ढकाल, सहायक व्यवस्थापक केशव सापकोटा, लेखापाल नवीन भण्डारी, इमरजेन्सी नर्सिङ इन्चार्ज सभ्यता चौधरी, फार्मेसी प्रमुख वेदप्रसाद न्यौरे, स्टोर प्रमुख रमेश कुँवर, हाउसकिपिङ प्रमुख धनबहादुर खड्का, सहायक व्यवस्थापक सञ्जय बराल र ब्लड बैंक इन्चार्ज विष्णुप्रसाद बास्तोला समितिमा सदस्य रहनुभएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले सम्भावित विपद्का बेला घाइते तथा बिरामीको संख्या अचानक बढ्न सक्ने भएकाले अत्यावश्यक औषधि तथा उपचार सामग्रीको पर्याप्त मौज्दात राख्न निर्देशन दिइएको बताउनुभयो ।
बाढी, पहिरो, आगलागी, भूकम्प तथा सडक दुर्घटनाजस्ता विपद्बाट घाइते हुनेहरूको तत्काल उपचार तथा व्यवस्थापन गर्न अस्पताललाई पूर्ण तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।
“आवश्यकता अनुसार आकस्मिक कक्ष परिसरमा थप शय्यासमेत व्यवस्थापन गर्न सक्ने गरी तयारी गरेका छौँ,” मेसु बगालेले भन्नुभयो ।
उहाँका अनुसार भारी वर्षाका कारण सडक आवागमन प्रभावित हुँदा दुर्घटनाको जोखिम बढ्न सक्छ । त्यस्तै पहिरो तथा डुबानका कारण उद्धार र घाइते तथा बिरामीलाई अस्पतालसम्म ल्याउनसमेत कठिनाइ हुन सक्ने भएकाले जनशक्ति, औषधि र उपचार सामग्रीलाई तयारी अवस्थामा राखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म वर्षाको गतिविधि बढ्न सक्ने तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बंगालको खाडीमा विकसित मौसमी प्रणालीका कारण नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने भएकाले सतर्कता र पूर्वतयारीमा जोड दिइएको छ ।
वर्षाको प्रभाव सबै स्थानमा समान नहुने भए पनि कतिपय क्षेत्रमा अत्यधिक वर्षा हुँदा बाढी, डुबान, पहिरो, कटान तथा सडक अवरोधको जोखिम बढ्न सक्ने मौसमविद्हरूले बताएका छन् । विशेषगरी नदी तथा खोलानाला आसपास र पहाडी भूभागमा जोखिम बढी हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनाका घटना बढेमा अस्पतालमा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीको चापसमेत बढ्न सक्ने भएकाले विपद् व्यवस्थापन समिति सक्रिय बनाइएको अस्पतालले जनाएको छ ।
यसअघि पनि सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र अस्पताललाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको थियो । मन्त्रालयले बाढी, पहिरोलगायत विपद्का कारण दुर्घटना, चोटपटक तथा अन्य जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भन्दै आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ ।
विपद्को समयमा अस्पतालमा आउने बिरामीको संख्या मात्रै नभई आकस्मिक शल्यक्रिया, रगत, औषधि, बेड तथा जनशक्तिको मागसमेत एकैपटक बढ्न सक्ने भएकाले भरतपुर अस्पतालले ती सबै पक्षलाई समेटेर तयारी थालेको हो । यसबाट विपद्का बेला आकस्मिक उपचार सेवा प्रभावित हुन नदिन र घाइतेको तत्काल उपचार तथा व्यवस्थापन गर्न सहयोग पुग्ने अस्पतालको अपेक्षा छ ।











प्रतिक्रिया