काठमाडौं ।
मोरङको विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्थाअनुसार नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि प्राथमिक शेयर निष्कासन गर्ने जनाएको छ।
प्राथमिक शेयर निष्कासनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतामा निप्पोन फर्मास्युटिकलका प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
निप्पोन फर्मास्युटिकल विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको औषधि कम्पनी हो। कम्पनीले ट्याब्लेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप तथा पेनिसिलिनलगायतका औषधि उत्पादन गर्दै आएको जनाएको छ।
कम्पनीको औपचारिक दर्ता सन् २००६ मा भएको थियो भने उद्योग स्थापना सन् २०१७ मा भएको हो। स्थापनाको पाँच वर्षपछि सन् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको चार वर्षको अवधिमा विभिन्न उपचारात्मक क्षेत्रका ६० भन्दा बढी उत्पादन बजारमा ल्याइसकेको छ। कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार औषधि उत्पादन गर्दै आएको दाबी गरेको छ।
‘सबैका लागि सु–स्वास्थ्य’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको निप्पोन फर्मास्युटिकलले नेपालमा आवश्यक औषधिको उत्पादन बढाउँदै औषधिमा आत्मनिर्भरता कायम गर्न योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ।











प्रतिक्रिया