लोभलाग्दो लोकभाकामा हाकू पर्सि तूयुगु गाचा



काठमाडौं ।

लोकभामा आधारित नेपाल भाषाको एउटा गीतले दर्शक–स्रोताका मन जित्दैछ। भक्तपुरका गायक भीम प्रजापतिको रचना र संगीतको हाकू पर्सि तूयुगु गाचाले संगीत र कलाप्रेमीको मन जितेको हो।

गायिका निशा देशारसँग युगल स्वर दिएका गायक प्रजापतिको सिर्जनालाई जुगल डंगोलको संगीत संयोजनले थप बलियो बनाएको छ। गीतअनुसार बिस्का जात्रा हेर्न आएका युवा र स्थानीय युवतीबीचको सांगीतिक प्रेमालापलाई निर्देशक तथा कोरियोग्राफर आराध्या लक्ष्मी खड्गीले भिडियोमा कैद गरेकी छन्।

५० भन्दा बढी कलाकार समावेश गीतको भिडियोको भ्युज युट्युबमा चार लाख पुग्नै लागेको छ। सांस्कृतिक नगरी भक्तपुरको प्रसिद्ध विस्का जात्रा केन्द्रित गीतको शीर्ष भूमिकामा आराध्या स्वयं देखिएकी छन्। उनको अपोजिटमा कलाकारमा रवि सैंजु छन्।

धिमे, खिंजस्ता परम्परागत नेवारी लोकबाजालाई प्राथमिकता दिइएको गीतमा नेवारी परम्परा, संस्कृति, रितिरिवाज र भेषभूषा समेटिएका छन्।

गीतका कतिपय डान्स स्टेप आराध्याले अन द स्पट सिर्जना गरेको बताइन्। विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र र प्रसिद्ध धार्मिक तीर्थस्थल कालिञ्चोकमा छायांकन गरिएको हाकू पर्सि तूयुगु गाचाको भिडियोमा सोहन मानन्धरको छायांकन, सम्पादन र रङ संयोजन रहेको छ।

प्रतिक्रिया दिनुहोस्