सरकारी सम्पत्तिमा लुटैलुट

करोडौंका घर जग्गा किनबेच, ४० लाखको विदेशी सेतो सुन

1.22k
Shares

काठमाडौं ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलले पदमा रहँदा विभिन्न सेटिङ गरी लुटतन्त्र मच्चाएको पाइएको छ।

सुनीलका अर्का साथी राष्ट्रिय सूचना प्रविधि केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलसँग समेत मिलेमतो गरी दुवै जनाको परिवारले संयुक्त रूपमा विभिन्न घर जग्गामा लगानी गरेको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा उनीहरूले संयुक्त रूपमा करोडौं रुपियाँको कारोबार गर्ने गरेको पाइएको हो । हाल उनीहरू दुवै जना भ्रष्टाचार प्रकरणमा अख्तियारको हिरासतमा रहेका छन् । दुवै जनाविरुद्ध दुईवटा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ। पौडेलले आफू पदमा रहँदा पाँच अर्बभन्दा बढीको ठेक्का लगाएको र सोबापत करोडौं रुपियाँ कमिसन लिएको पाइएको छ।

पौडेलले सिंगापुरका दुइटा बैंकमा कमिसन रकम १३ करोड राख्न लगाएका थिए । तर, उनले अख्तियारसँगको बयानका क्रममा विदेशी बैंकमा आफ्नो खाता नै नभएको भनेर झुट बयान दिएका थिए। अख्तियारले प्रमाणसहित उनको विदेशी बैंकमा खाता रहेको देखाएपछि भने पौडेलले जानकारी नभएको बताएका थिए।

हिरासतमा रहेका पौडेलले देशका विभिन्न भागमा दाजु अनिल पौडेल र संकित शीतल पौडेलको नाममा घरजग्गा रहेको पाइएको छ। पौडेलले संयुक्त रूपमा पाल्पामा करोडौंका घर र काठमाडौंमा २ वटा घर संयुक्त रूपमा खरिद गरेको पाइएको छ।

यसै गरी पौडेलले काठमाडौंका विभिन्न ठाउँमा करोडौं मूल्यका घरहरू किनबेच गरेको समेत देखिएको छ। भक्तपुरका विभिन्न ठाउँमा चार रोपनीभन्दा बढी जग्गासमेत सुनीलको संलग्नताका खरिद गरेको पाइएको छ। सेयरमा करोडौंको कारोबारसमेत उनले गरेको अख्तियारले जनाएको छ।

सुनीलले सिंगापुरको चांगी एयरपोर्टको टर्मिनलबाट टिफानी एन्ड कम्पनीको सेतो सुन ३९ लाख ९० हजार रुपियाँमा खरिद गरेको पाइएको छ। अनलाइनबाट लाखौं मूल्यका विदेशी कपडासमेत खरिद गरेको भेटिएको छ।

Skip This